पहिला विगतका दुई विश्वयुद्धका बिभिषिका जानौं

0
205

संसारमा विभिन्न देशहरु बीच आपसी द्वन्द्व भइरहन्छन् । युद्ध नै पनि भइरहेका छन् । ठूला शक्तिराष्ट्रहरु बीचका द्वन्द्वले चाहिँ विश्वयुद्ध हुन सक्छ । हाल रुस र युक्रेनबीच युद्ध भइरहे पनि त्यो युद्ध खासमा रुस र अमेरिकाबीचको युद्ध हो । अर्को शब्दमा भन्नुपर्दा रुस र युरोप या नाटोबीचको युद्ध पनि हो । कहिलेकाहीँ यो युद्धले चाहिँ विश्वयुद्धको रुप लिन सक्ने आंकलन गरिन्छ । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन ।

किनकि विश्वयुद्धको बिभिषिका भयंकर हुन्छ । लाखौं त चानचुने कुरा भयो र करोडौंको संख्यामा मानिसहरु मारिन सक्छन् । करोडौं कै संख्यामा घाइते हुन सक्छन् । भौतिक संरचनाको नोक्सानी अकल्पनीय परिणाममा हुन सक्छ । यसैको डरले मात्र विश्वयुद्ध भई नहालेको हो कि भन्ने विश्वास गरिन्छ । किनकि ठूला राष्ट्रहरुलाई पनि पहिलेका दुई विश्वयुद्धका परिणाम थाहा छ । झन् अहिलेको उन्नत विध्वंसात्मक प्रविधि प्रयोगको युद्धले कति नोक्सानी गर्ला ? त विगतका दुई विश्वयुद्धमा के त्यस्ता ठूला नोक्सानी भएका थिए ? यहाँ संक्षिप्त रुपमा उल्लेख गर्छु ।

प्रथम विश्वयुद्ध : यो युद्ध युरोपीय भूमिभित्र मात्र भएको युद्ध थियो । सन् १९१४ देखि १९१८ सम्म लडिएको युद्ध थियो यो युद्ध । जुन युद्धमा युरोपमा थोरै जनसंख्या भए पनि करोडौं मानिस मारिएका थिए । त्यतिञ्जेलसम्मको युद्धको इतिहासमा अरू कुनै पनि युद्धले यति धेरै क्षति पु¥याएको थिएन । युद्धमा होमिएका दुवै पक्षका छ करोड ५० लाख सैनिक मध्ये एक करोड ३० लाख सैनिक मारिएका थिए ।

दुई करोड २० लाख सैनिक घाइते भएका थिए । घाइते मध्ये ७० लाख पूर्णरुपमा पक्षघात भएका थिए । यस भयानक नोक्सानी बाहेक नरसंहार, भोकमरी र महामारीबाट मर्ने नागरिकहरूको संख्याको सही अनुमान गर्नसम्म पनि सम्भव भएन । युद्ध आर्थिक रूपमा पनि महँगो र विनाशकारी थियो । बेलायत, जर्मनी र सहयोगीहरूले युद्ध सञ्चालनका लागि एकसय ८६ अर्ब डलर खर्च गरेका थिए । यदि युद्धमा प्रयोग गरिएका पानी जहाज लगायत र अन्य साजोसामानहरुको क्षतिलाई यसमा जोडियो भने यसको वास्तविक खर्च दुई ट्रिलियन ७० अर्ब डलरभन्दा बढी भएको थियो ।

प्रथम विश्वयुद्ध भएपनि यो युद्ध हतियार र प्रविधिको दृष्टिकोणले पनि निकै महत्वपूर्ण थियो । भद्दा किसिमकै किन नहोस्, ट्यांक, तोप, युद्धक एयरक्राफ्ट र विशेष रूपमा निर्मित पनडुब्बीहरू पहिलो पटक प्रयोग गरिएका थिए । विषालु ग्याँसको पनि प्रयोग गरिएको थियो । यही कारण पनि ठूलो धनजनको नोक्सानी भएको थियो ।

पहिलो विश्वयुद्ध, सर्बियाली राष्ट्रवादीद्वारा अष्ट्रियाका राजकुमार आर्कड्यूक फ्रान्ज फर्डिनान्डको हत्याबाट शुरु भएको थियो । यसको गर्भमा विगत पचास वर्षदेखि युरोपका देशहरू बीच निरन्तर शक्ति प्रतिद्वन्द्वीताको भ्रुण हुर्किरहेको थियो । जुन विश्वयुद्धको रुपमा जन्म भयो र राक्षसी रुप लियो । यस युद्धमा जर्मनी, रूस, फ्रान्स र बेलायत पनि तानिएका थिए । युरोपेलीहरु आफ्नै भूमिमा आ–आफै लडेका थिए र अथाह धनजन नोक्सानी गरेका थिए । युद्ध विवेकहीन क्रिया थियो । युद्धलाई समाधान ठानेर युद्धमा होमिएका थिए । तर, करोडौं मानिसहरु मारिए । युरोपेलीहरु स्वाहा भए ।

दोस्रो विश्वयुद्ध : जर्मन सेनाहरु सेप्टेम्बर १, १९३९ मा पोल्याण्डमा प्रवेश गरे । यसरी दोस्रो विश्वयुद्ध पोल्याण्डबाट शुरु भएको थियो । जर्मनबिरुद्ध, बेलायत र फ्रान्सले सेप्टेम्बर ३ मा युद्धको घोषणा गरे । युद्धको घोषणा भए तापनि केही महिनासम्म कुनै युद्ध नै भएन । त्यसैले सेप्टेम्बर १९३९ देखि अप्रिल १९४० सम्मको समयावधीलाई नक्कली युद्ध नाम दिइयो ।

युद्ध भएरै छाड्यो । युद्ध नै सही समाधान ठानिए । युद्धले विकास निर्माण गर्ने होइन कि नोक्सानी नै गर्ने हो । युद्धले यति भयाभव रुप लियो कि, दोस्रो विश्वयुद्धमा पाँच करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । ती मध्ये दुई करोड २० लाखभन्दा बढी त सर्वसाधारण थिए । मानवीय क्षतिका साथै धेरै देशको अर्थतन्त्र र भौतिक स्रोतसाधनमा नराम्रोसँग क्षति पुग्यो ।

पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको अन्तरालमा धेरै नयाँ किसिमका युद्धक हतियारहरू आविष्कार भए र दोस्रो विश्वयुद्धमा प्रयोग गरिए । आणविक बमको आविष्कार भयो र पहिलो पटक संयुक्त राज्य अमेरिकाले प्रयोग गरेको थियो । जसले दुई लाखभन्दा बढी मानिसहरु मारिए । विश्वको महाशक्ति बन्ने चाहनाका कारण धेरै देशमा आणविक बम बनाउने होडबाजी चलेको थियो । दोस्रो विश्वयुद्धको परिणाम स्वरूप विश्वमा हतियारको दौड पनि शुरु भयो । युद्धमा भएको अपार क्षतिका कारण बेलायत र फ्रान्स जस्ता साम्राज्यवादी देशहरू कमजोर भए । संसारका टाढा–टाढासम्म फैलिएका उनीहरुका उपनिवेश देशहरु स्वतन्त्र राष्ट्र बने र उपनिवेशवादकै अन्त्य भयो ।

दोस्रो विश्वयुद्धको अन्तमा विजयी राष्ट्रहरूले जर्मनीलाई टुक्रा–टुक्रामा विभाजित गरे । पूर्वी जर्मनी सोभियत रुसको नियन्त्रणमा आयो, पश्चिम जर्मनी अमेरिका र बेलायतको नियन्त्रणमा गयो र केही भाग फ्रान्सेलीहरूको नियन्त्रणमा । पोल्याण्डमा आक्रमण गरेर दोस्रो विश्वयुद्ध शुरु गर्ने जर्मनी आफै क्षत–विक्षत भयो । इटालीको सेना कम गरियो र ठूला राष्ट्रहरूले इटलीका केही उपनिवेशहरू कब्जा पनि गरे । यो युद्ध सन् १९४५ सम्म चल्यो । यो युद्ध एशीयासम्म फैलिएको थियो र एशीयामा पनि ठूलो धनजनको क्षति गरेको थियो । युद्धको अर्को नाम हो अति खर्चालु क्रिया । दोस्रो विश्वयुद्धमा चार ट्रिलियन डलरभन्दा बढी पैसा स्वाहा भएका थिए ।

दोस्रो विश्वयुद्धको अन्त्यमा विश्व मानचित्रमा दुई नयाँ महाशक्तिको उदय भयो । रूस र संयुक्त राज्य अमेरिकाले आफ्नो राजनीतिक विचारधाराको प्रचार गरे । रुस साम्यवादी भएर निस्कियो भने अमेरिका पुँजीवादी । यी दुई महाशक्तिले संसारलाई आ–आफ्नो प्रभाव क्षेत्रमा विभाजन गरे, जसका कारण युद्धको अर्को रुप शीतयुद्ध शुरु भयो । परिणाम स्वरुप विश्वलाई यस्तो खालको युद्धले अहिलेसम्म पिरलिरहेको छ ।

भनिन्छ, तेस्रो विश्व युद्ध भएमा र आणविक या परमाणु बमहरु पड्किएमा संसारबाट मानव जाति नै लोप हुने सम्भावना रहन्छ । पृथ्वी मानवहीन बन्न सक्छ । प्राणीहरु र वनस्पतिहरुको अस्तित्व पनि स्वाहा हुन सक्छ । धर्ती जीवनविहीन हुन सक्छ । धर्तीको स्वरुप नै बदलिन सक्छ । विशाल विष्फोटको शक्तिले पृथ्वी आफ्नो कक्षबाट बाहिर हुत्तिन पनि सक्छ । त्यसैले पनि हामी तेस्रो विश्वयुद्ध चाहँदैनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here