असीनाले लगायो निशान मारमा परे कन्काईका किसान
गत साल असोजमा हावाहुरी आयो
मुखमा आ’को धानवाली गर्भ मै तुहायो
क्षतिपूर्ति दिन्छौ भन्थे गाउँका ठूला मान्छे
बाड्नलाई पाएनौ कि कोही कतै भाँन्से ।
०७९ चैत महिना साँझ ७ः०० बजे
१६ गते शुक्रबार टिनका छाना बजे
बाहिर निक्ली हेर्दाखेरी आगन सेतै भएछ
मकैवाली, गहुवाली छैन कता गएछ ।
खर्बुजा र टमटरत बगरका ढुंगा
बीऊ किनी ल्याएका थियौं सबैभन्दा महँगा
आँप लिची फलफूलका बोटै झिक्रा भए
फलको त कुरै छाडौं पातै कता गए ।
सुपारी र केरालाई मक्लर गुताइदेछौं
फुलकोपी र बन्दाको चाहिँ टाउको फुटाइदेछौं
कता गए लौका झ्याङ, कता गए भिन्डी
घरभित्र लुक्यौ भन्थे गुन्द्रुक र सिन्की
कति चरा अर्धा भए कति चरा मरे
बैलर र बकुल्लाले बर्खान्त नै बारे
गाइमाई अनसनमा नेता जति फोनमा
सिंहदरबार आयो भन्थे अब गाउँ–गाउँमा
सीडीयो, मेयर, संसदले निरीक्षण गरे
वडा जनप्रतिनिधिले फारमसम्म भरे
राहात पाउने आशामा छ सबै किसान आज
एसपाली नि दिएनौ भने होला तिम्लाई लाज
असीनाले लगायो निशान मारमा परे कन्काईका किसान ।
दैवले नि लगायो निशान मारमा परे देशभरका किसान ।।
कन्काई नपा– ४, झापा