अध्यक्षले शिक्षकसँग रु. ५० लाख घुस मागे

0
163

झापा ।

झापाको भद्रपुर नगरपालिकामा रहेको एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले ५० लाख रुपैयाँ घुस मागेको अडियो सार्बजनिक भएको छ ।

भद्रपुर नगरपालिका –९ मा रहेको पुहाँतु जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले सोही विद्यालयका शिक्षकसँंग ५० लाख रुपैयाँ घुस मागेको अडियो सार्बजनिक भएको हो । अध्यक्ष मिश्रले शिक्षकद्वय सृजना प्रसाई र डिल्लीराम अधिकारीसँंग ५० लाख रुपैयाँ घुस मागेको खुलेको हो ।

विद्यालय व्यवस्थापन समितिले निमावि तहमा कार्यरत् शिक्षक शिवप्रसाद पोखरेललाई प्रधानाध्यापक नियुक्त गरेसँंगै शिक्षकद्वय प्रसाई र अधिकारी व्यवस्थापन समितिको निर्णय विरुद्ध अदालत गएका थिए । व्यवस्थापन समितिले २०७८ फागुन १२ पोखरेललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध मावि तहकी शिक्षक प्रसाईले उच्च अदालत इलाममा रिट दायर गरेकी थिइन् । उक्त रिटमा अन्तरिम आदेश जारी गर्दै अदालतले पोखरेललाई प्रधानाध्यापकका रूपमा काम नगर्नु भनेको थियो ।

अदालतको अन्तरिम आदेशपछि मावि तहकी शिक्षक कौशल्यादेवी आचार्यलाई व्यवस्थापन समितिले २०७९ असोज ३० गते प्रधानाध्यापक नियुक्त गर्ने अर्को निर्णय गरेको थियो ।

विद्यालयले मावि तहकी बरिष्ठतम् शिक्षक आचार्यलाई प्रधानाध्यापक नियुक्ति गरेको निर्णय अदालतमा पठाएपछि सो सम्बन्धीको रिट अदालतले खारेज गरेको थियो ।

व्यवस्थापन समितिको निर्णय विरूद्ध अदालत गएर समितिको निर्णय उल्टाएको भन्दै पुहाँतु जनज्योति माविका व्यवस्थापन समितिका अध्यक्ष मिश्रले विद्यालयका स्थायी शिक्षकद्वय प्रसाई र अधिकारीलाई वैशाख ५ गतेदेखि हाजिर गर्न रोक लगाएका थिए ।

मावि शिक्षक प्रसाई र प्रावि शिक्षक अधिकारीले ५० लाख रूपैया जम्मा गरे हाजिर गर्न दिने अध्यक्ष मिश्रले बताएको अडियो रेकर्ड सार्वजनिक भएसंगै अध्यक्षको कर्तुत बाहिर आएको होे । व्यवस्थापन समिति अध्यक्ष मिश्र पूर्व श्रोत व्यक्ति समेत हुन् ।

मिश्रले एक जना शिक्षक नेतालाई फोन मार्फत ५० लाख दिए शिक्षकद्वयलाई हाजिर गर्न दिने बताएको अडियोमा उल्लेख छ ।
पूर्बाञ्चल दैनिकसँंग कुराकानी गर्दैै व्यवस्थापन समिति अध्यक्ष मिश्रले घटनाको ढाकछोप गर्दै आफूले कुनै प्रसंगमा सो विषय बोले पनि त्यसमा सत्यता नरहेको बताए ।

‘एउटा कुरा म सरलाई भन्छु, ५० लाख रूपैयाँ जम्मा गरून्, माफ माग्नु सबथोक हुन्छ ल’ –अध्यक्ष मिश्रले अडियोमा भनेका छन् । शिक्षक प्रसाई र अधिकारीलाई लक्षित गर्दै टेलिफोन कुराकानीमा मिश्रले भनेका छन् – ‘तिनीहरु हुन चैं को ?, म अब कुनै कुरा सुन्दिँन, मर्नु पर्छ अनि मात्रै हुन्छ नत्र केही हुँदैन ।’ अध्यक्ष मिश्रले भनेका छन् – अन्यथा शिक्षक प्रसाई र अधिकारीलाई कुनै हालतमा विद्यालयमा हाजिर हुन दिइँन्न । मिश्रले पैसा दिन नसक्ने भए अरू तिरै सरूवाको व्यवस्था मिलाउन समेत शिक्षक नेतालाई आग्रह गरेको अडियोमा उल्लेख छ ।

विद्यालयमा मावि शिक्षक हुँदाहुँदै अध्यक्ष मिश्रकै जोडबलमा कानून विपरीत निमावि तहका शिक्षक पोखरेललाई प्रधानाध्यापक नियुक्त गरेको बताइएको छ । आफ्नो निर्णय बिरूद्ध अदालत गएको भन्दै व्यवस्थापन समिति अध्यक्ष मिश्रले शिक्षक द्वयलाई शैक्षिक सत्रको पहिलो दिन नै हाजिर हुन नदिएको पीडित शिक्षकको भनाइ छ । अध्यक्ष मिश्रले आफैं विद्यालयमा उपस्थित भएर आफूहरुलाई हाजिर गर्न नदिएको उनीहरुले बताए ।

त्यसयता हरेक दिन अध्यक्ष मिश्र विद्यालय आउने र हाजिर गर्न नदिने गरेको पीडित शिक्षक प्रसाईले बताइन् । प्रसाई र अधिकारीले कानूनी रूपमा सही कुरा उठाएको भन्दै अन्य तीन जना शिक्षकले समेत सोही दिनदेखि हाजिर गरेका छैनन् ।
विद्यालयमा कार्यरत् शिक्षक सुमित्रा पौडेल, कमला राई र शर्मिला अधिकारीले विद्यालय प्रशासनले प्रसाई र अधिकारीलाई हाजिर नगराउञ्जेल आफूहरूले समेत हाजिर नगर्ने बताएका छन् ।

विद्यालयले हाजिर गर्न नदिए पनि ती पाँचै जना शिक्षकले सादा कागजमा हाजिरी गरेर दैनिक विद्यालयमा आफ्नो उपस्थिति जनाइरहेका छन् । विद्यालय प्रशासन र व्यवस्थापन समितिले पाँचै जना शिक्षकलाई शिक्षक कक्षमा रोक लगाउँदै आएको छ । शिक्षक कक्षमा ताला लगाइए पछि पाँचै जना शिक्षक खुल्ला चौरमा बस्न बाध्य छन् । विद्यालयका अन्य शिक्षकलाई भने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसँंगै प्रशासन कक्षमा बस्न निर्देशन दिइएको छ ।

यता भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले विद्यालयको विषय मिलाउन नगरपालिकाले पहल गरिरहेको बताएका छन् । उनले शिक्षकलाई हाजिर नै गर्न नदिनु कानून विपरीत भएको भन्दै त्यस्तो गर्न नहुने बताए । पीडित भनिएका शिक्षक नगरपालिकाको सम्पर्कमा रहेकाले उनीहरुको समस्या समाधानका लागि पहल भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here