दलहरु सच्चिने कि !

0
140

आवधिक निर्वाचन प्रजातन्त्रको सौन्दर्य हो । त्यसै अनुसार गत मंसीर ४ गते भएको आम निर्वाचनबाट निर्वाचित दुई सांसद राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा संविधानकै व्यवस्था अनुसार यही बैशाख १० गते उपनिर्वाचन भयो । त्यसैगरी चितवन– १ बाट निर्वाचित सांसद रवि लामिछानेको नागरिकताका बारेमा परेको उजुरीले उनको पद खारेज भएपछि यो लगायत तीन स्थानमा उपनिर्वाचन सम्पन्न भएको थियो । तनहु, बारा र चितवनमा सम्पन्न निर्वाचन मध्ये तनहुँ र चितवनको परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी एक निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । परिणाम घोषणा भएको तनहुँ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले कांग्रेस आफूले जित्नेमा ढुक्क थिए । तर, परिणाम ठीक विपरीत आयो, अर्थात् रास्वपाका डा. स्वर्णीम वाग्लेले ठूलो मतान्तरले विजय प्राप्त गरे ।

उपराष्ट्रपति रामसहाय यादवको निर्वाचन क्षेत्रमा भने उनकै दल जसपाका उपेन्द्र यादवले अग्रता लिइरहेका छन् । यद्यपि मतगणना गर्न धेरै बाँकी रहेका कारण को निर्वाचित हुने हुन् अनुमान गर्न सकिन्नँ । देशकै सर्वाधिक मतान्तरसहित विजयी हुने रेकर्ड बनाएका लामिछानेले मतान्तरलाई अझ बलियो बनाएका छन् । सम्पन्न तीन वटा क्षेत्रको निर्वाचनको परिणामले जनता सर्वोच्च शक्ति हुन् भन्ने त प्रमाणित ग¥यो नै कांग्रेस र एमालेलाई ‘सच्चिने कि सक्किने’ सोच्न बाध्य बनाएको हुनु पर्छ । तीन दशकभन्दा बढी समयदेखि सत्ता र सत्ताकै वरिपरि बसेर जनताका दैनिकीसँग टाडा पुगेका ती दलहरुलाई यो परिणामले गल्तीको आभाष गराएको हुनुपर्छ ।

छ महिनामै राष्ट्रिय चर्चा बनाएको रास्वपा र त्यसका अध्यक्ष लामिछानेबिरुद्ध चौतर्फी आक्रमण भइरह्यो । यसबीचमा ठूलै अवगाल, अपमान र अवरोधको सामना गरेको त्यही दलले सबै राजनीतिक दलको सम्पूर्ण शक्तिलाई पछि पार्दै विजय सुनिश्चित गर्नुले ती दल र नेतृत्वको दम्भ र अहंकारलाई चुनौति दिएको छ । आफूलाई मूलधारका राजनीतिक शक्ति ठान्ने दल तथा नेताहरुले यो निर्वाचनबाट शिक्षा लिन जरुरी छ कि जनता जागे भने जस्तोसुकै परिवर्तन पनि सम्भव हुन्छ । त्यसैले अबको गन्तव्य मपाइँवादी भएर होइन जनताको सेवकका रुपमा रहेर तय गर्नुपर्छ । कुर्सी, पैसा, सेवा, सुविधा सधैँ मेरा लागि भन्ने मनोविज्ञान नेताहरुले मनबाट हटाउनुपर्छ । होइन भने आगामी निर्वाचनबाट परम्परा र इतिहासको ब्याज खाएर राजनीति गर्नेहरुलाई समयले नै पाखा लगाइदिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here