वैशाख १६ गते “दनुवार जाती तथा कला संस्कृति महोत्सव–२०८०” हुने

0
118

अर्जुनधारा ।

नेपालका सूचिकृत आदिवासी जनजातीमध्ये अति सिमान्तकृत जातीको रुपमा रहेको दनुवार जातीको पहिचान झल्काउने महोत्सव झापामा पहिलोपटक हुने भएको छ ।

दनुवार जागरण समिति झापाको आयोजना र दनुवार जागरण समिति मेचीनगर नगर समितिको संयोजनमा यही वैशाख १६ गते मेचीनगर–१०स्थित पूरानो पशुहाटको मैदानमा “दनुवार जाती तथा कला संस्कृति महोत्सव–२०८०” हुने बुधबार सम्पन्न पत्रकार सम्मेलनमा बताइएको छ ।

दनुवार जातीको संस्कार र संस्कृतिको प्रबद्र्धन एवम् संरक्षणसँगै त्यसको महत्व बारे सबैलाई जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको समिति झापाका अध्यक्ष श्याम दनुवारले बताए ।

महोत्सवमा दनुवार जातीको गरगहना, भेषभूषा, बाजागाजाको प्रदर्शनीसँगै मौलिक खानाका परिकारहरु तेलपुरी, बगिया, घुँगी, माछा, लायको लड्डुआदिको स्टल रहने अध्यक्ष श्याम दनुवारले जानकारी दिए । त्यसैगरी दनुवार कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम एवम् नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ ।

दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले उद्घाटन गर्ने उक्त महोत्सव सम्पन्न गर्न अनुमानित तीन लाख ८० हजार रुपैयाँ खर्च लाग्ने समितिकी सल्लाहकार अग्निमाया दनुवारले बताइन् । आगामी मंसीरमा हुने दनुवार जातीको राष्ट्रिय पर्व नेमानको तयारीका लागि पनि महोत्सवले सहयोग पु¥याउने उनले बताइन् ।

समितिका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व जनप्रतिनिधि सुदय पनेरु, दनुवार जागरण समिति मेचीनगरका अध्यक्ष मोहन दनुवार, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) झापाका निवर्तमान सचिव अमित खम्बूलगायतले महोत्सवको विषयमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार अग्निमाया दनुवारले गरेकी थिइन् ।

देशको १९ जिल्लामा बसोबास गर्ने दनुवार जातीको मुख्य बसोबास भएको जिल्ला सिन्धुली र उदयपुर रहेको छ । अनुमानित १२ सय बढी घरधुरी रहेको झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा र मेचीनगर दनुवार जातीको सघन बसोबास भएको स्थानीय तह हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here