‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’

0
106

काठमाडौँ, 

प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

सभामुखले बोल्ने समय दिएपछि सांसद रमेश लेखकले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्बिर आफूसँग भएको जानकारी गराउनुभयो । उहाँले यस सम्बन्धमा छानविन समिति गठन हुने वा सभामुखबाट रुलिङ हुने अपेक्षा गर्नुभयो ।

सांसद प्रेम सुवालले सो विषयबारेमा फरार सूचीमा रहेको अहिलेसम्म किन जानकारी नगराइएको भनी सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले गृहमन्त्री हुने, सरकारमा रहने, फरार व्यक्तिलाई थुन्न नसक्ने अनि सदन अवरुद्ध गर्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले ज्यानमारा अभियोग लागेकालाई चोख्याउन नमिल्ने बताउनुभयो । सांसद हितराज पाण्डेले बिरामीको बहानामा रहेका फरार अभियुक्त कोइरीका बारेमा स्पष्ट रुलिङ गर्न आग्रह गर्नुभयो ।

बैठकमा सभामुख घिमिरेले सांसदले उठाएका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सो विषयमा नेपालको संविधान, प्रचलित कानून र संसद् नियमावलीअनुसार हुने बताउनुभयो । बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here