आजकाल किन सिठ्ठी मार्दैनौ ?

0
168

शहरको एक घरको भान्छा कोठामा तिहुन पकाउने कराही र भात पकाउने प्रेसर कुकर बस्दछन् । उनीहरु दुई बिना त्यो घरको भान्छामा भात तिहुन पाक्दैन । त्यसैले उनीहरु दुबै मिलि–मिलि त्यस घरका मान्छेहरुका लागि मिठा–मिठा भात तिहुन पकाउने गर्दछन् ।

खाना खाने मान्छेहरुले आज कति मिठो भात पाकेछ यो प्रेसर कुकरमा भन्दा प्रेसर कुकर औधी खुशी हुन्छ । अनि कराहीलाई प्रेम दर्शाउन मच्चि–मच्चि सिठ्ठी मार्दछ । त्यस्तै आज त कति मिठो तिहुन तरकारी पाकेछ भनेर घरकाले भन्दा कराही पनि कम्ति खुशी हुँदीन । अनि प्रेमले प्रेसर कुकरलाई कर्के नजर लाएर हेर्छे । दुबै भुतुक्क पर्छन् । अनि कस्ले मिठो पकाउने भनेर कराही र प्रेसर कुकरबीच होडबाजी नै चल्दछ । त्यसै भएर होला त्यस घरका मान्छेहरुले सधैँ मिठा–मिठा खाना खान पाउँछन् ।

कराही र प्रेसर कुकर खाना पकाउने काम मात्र गर्दैनन् । उनीहरु एकअर्का गफगाफ, हँसी–मजाक र ख्याल ठट्टा पनि गर्दछन् । नत्र कसरी दिन बिताउने हो ? भनेर उनीहरु आ–आफै प्रश्न पनि गर्दछन् । भान्छेले कहिलेकाहीँ भाँडाहरु घाममा सुकाउन बाहिर लगेमात्र उनीहरु घर बाहिर जान पाउँछन् । त्यस बेला त बाहिरको दृष्य हेरेर रमाइलो मान्दछन् । बाहिर नलगिएका समयमा भने कहिले जुठै त कहिले माझे पनि त्यतिकै भान्छामा नै थन्किएर गजधुम्म बसिरहनु पर्दछ ।

यस्तोमा बेला बेला उनीहरु कि त आराम गर्दछन् कि त कुराकानी गरेर समय व्यतित गर्दछन् । प्रेसर कुकर भन्छ, ए कराही तिहुन तरकारी कति तँ मात्र पकाएर स्वाद लिन्छेस् ? भान्छेलाई भन्देन कहिले काहीँ त तिहुन तरकारी प्रेसर कुकरमा पनि पकाए हुने भनेर । अनि मैले पनि तिहुन तरकारीको स्वाद लिन पाउने थिएँ । कति तँ मात्र मिठो मानि मानि पकाउँछेस हे कराही । मिठो जति तँलाई मात्र चाहिने ।

कराही पनि के कम, भन्छे, भात जति तैँले मात्र पकाउनुपर्ने ? बासमाती चामलको भात कति बास्नादार हुन्छ । त्यस्तो मिठो–मिठो भातको स्वाद तैँले मात्र लिनुपर्ने । तँ पनि भान्छेलाई भन्न, कहिलेकाहीँ त भात पकाउने काम कराहीलाई पनि दिनु नि । यति भनेर कराही मुसुमुसु हाँस्छे । प्रेसर कुकर भन्छ, किन हाँसिस ए काली कराही मोरी त्यसरी । तेरो मुस्कान देखेर म त भुतुक्कै हुन्छु त । कराही भन्छे, धेरै नमात्ति है भुँडे प्रेसर कुकर मोरा, अर्कालाई काली भन्न लाज लाग्दैन ?

प्रेसर कुकर भन्छ– अनि मलाई चाहिँ भुँडे भनिस् त ? जवाफमा कराही भन्छे, भ्यात्त परेको छस् अनि भुँडे नभनेर के भन्नु त । प्रेसर कुकर भन्छ– ल जे मन लाग्छ भन काली मलाई । आखिरी तँै त होनी मेरो आफ्नो भन्नु । जे भने पनि सहन्छु । तर भान्छेलाई एकफेर भन्न है काली । कराही सोध्छे– के भन्नु रे भुँडे ? प्रेसर कुकर भन्छ– कहिले काँही तिहुन तरकारी प्रेसर कुकरमा र कहिले काहीँ भात कराहीमा पकाउनु भनेर भान्छेलाई भन्नु ल । एकफेर टेष्ट गरेर हेरौँ ।

यत्तिकैमा कराही भन्छे– ह्यात म त भन्दिन है यस्तो कुरा । फेरि म कराहीले भात पकाएँ भने कस्तो होला ? कि त साह्रो होला कि त जाउलो जस्तो गिलो । अनि घरका मान्छे रिसाए भने । प्रेसर कुकर भन्छ– जे त पर्ला एकपटक भन्न ल । झर्को मान्दै कराही भन्छे– आ तँ आफै भन् है भुँडे । नभन्दै एकदिन प्रेसर कुकर भान्छेलाई भन्छ– ए भान्छेज्यू, भात पकाउने काम एकफेर कराहीलाई पनि दिनु न है र म चाहिँ तिहुन तरकारी पकाउँला । यसो गर्दा खानाको टेष्ट पनि फेरिन्छ र निकै स्वादको पनि हुन्छ । मलाई पनि धेरै पहिले देखि तिहुन तरकारी पकाउन मन लागेको थियो हजुर ।

प्रेसर कुकरले यत्ति के भनेको थियो भान्छेको पालो रिसाउँदै, के मा के पकाउने भनेर तँइले मलाई सिकाउने ? धेरै बाठो हुन्छन् । तँलाई पख् भन्दै भान्छे भान्छाबाट बाहिरिन्छ । भान्छे घरका मालिकलाई प्रेसर कुकर बिग्रियो हजुर बिजुलीबाट चल्ने राईस कुकर चाहियो भन्छ । नभन्दै घण्टाभरमै बिजुलीबाट चल्ने गज्जबको राईस कुकर पो आइपुग्छ भान्छामा । प्रेसर कुकर थन्किइन्छ भान्छाको र्याकमा गजधुम्मसँग । अनि पकाउन थाल्छ राईस कुकर भान्छामा भात । छेवैमा रहेकी कराही पनि हेरेको हेरेइ हुन्छे ।

छुस्छुस् छुस्स, छुस्छुस् छुस्स, सुइइइइइ, छुस्स्स्स्स्स्स्स्स गरेर प्रेसर कुकरले सधैँ भान्छा गुञ्जायमान पार्दा कराहीलाई रमाईलो लाग्थ्यो । प्रेसर कुकरले आफूलाई जिस्क्याउन सिठ्ठी लाएको ठान्दथी कराही । कराही प्रेसर कुकरको सिठ्ठी सुनेर आनन्द मान्दथी । प्रेसर कुकरको सिठ्ठीलाई मिठो प्रेम गीत सम्झन्थी । आखिर प्रेसर कुकरले कराही प्रति प्रेम दशाउने भाषा त्यही सिठ्ठी थियो । तर अब त प्रेसर कुकर थन्किएको छ । उसले सिठ्ठी लाउन छाडेको छ । प्रेमको भाषा बोल्न छाडेको छ । बडो नरमाइलो बनेको छ वातावरण । त्यही भएर होला कराही आजकाल बिरही बनेकी छे ।

अति भएपछि एकदिन त कराही प्रेसर कुकरलाई सोध्छे, प्रिय तिमी मलाई आजकाल किन सिठ्ठी मार्दैनौ ? यत्तिकैमा प्रेसर कुकर भन्छ– के गर्नु त मैले अब ? भान्छेले बिजुलीबाट भात पकाउने म भन्दा नि भुँडे राईस कुकर ल्याएपछि । यत्तिकैमा कराही भन्छे– हेर् प्रेसर कुकर हामीले गल्ती गर्यौं होला । पे्रसर कुकर सोध्छ– के गल्ती गर्यौं र ? जवाफमा कराही भन्छे– हामीले आफ्नो काम बिर्सियौँ र कराहीमा भात नपकाउन खोज्यौँ । गम्भीर हुँदै पे्रसर कुकुर भन्छ– हो हामीले हाम्रो कर्तव्य या डिउटी बिर्सेछौँ सायद । त्यसको सजाय हामीले पायौँ । अब कुनै दिन बिजुली गए मलाई भात पकाउने काम देलान् नि । अनि त्यतिखेर चाहिँ म आफू बम पड्किए जसरी पड्किने गरी तँ कालीलाई ठूलो आवाजमा सिी मारुँला नि है ।

प्रेसर कुकरको मायालु कुरा सुनेर काली कराही एकछिन् हाँस्छे र त्यसपछि सुँक्क सुँक्क रुन पो थाल्छे । प्रेसर कुकर पनि बिरहले तुरुक्क आँशु खसाल्छ । अनि कराहीले भनेकी कुरा गाडा र मिठो गरी सम्झन्छ, प्रिय तिमी मलाई आजकाल किन सिठ्ठी मार्दैनौ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here