चेम्जोङ वंशको केन्द्रीय परिषद् भेला

0
89

युद्धबहादुर बोहोरा,
पाँचथर ।

थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघको १३औं केन्द्रीय परिषद् भेला घुर्बिसे पञ्चमीमा सम्पन्न भएको छ । चेम्जोङ वंशका अगुवा किरात इतिहासकार इमानसिं चेम्जोङको बजारमा रहेको शालिक र प्रेमबहादुर मावोहाङ चेम्जोङको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको थालनी गरिएको थियो ।

२०५८ सालमा स्थापना भएको यस संघले चेम्जोङहरुको वंशावली प्रकाशन, भाषा, लिपी, संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान र थाकथलो बारे जानकारी गराउने मुख्य उद्देश्यले हरेक वर्ष चेम्जोङहरुको बसोबास रहेको विभिन्न ठाउँमा भेलाको आयोजना गर्दै आएको आयोजकले जनाएको छ । यसबाट वंशलाई एकसूत्रमा बाँध्न सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

चेम्जोङसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थलको संरक्षण, सबै लिम्बू जातिका, भाषा, संस्कारको सम्बद्र्धन र विकृती–विसंगतीको न्यूनीकरण गर्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरी रहेको बताइएको छ । रीति–रिवाजको जगेर्ना, इतिहासको खोज, अनुसन्धान र सचेतनाको विकास, आपतविपद् र अप्ठ्यारोमा आर्थिक तथा मानवीय सहयोग प्रदान गर्दै आएको छ ।

आगामी दिनमा चेम्जोङको वंशावली दोस्रो संस्करण प्रकाशनको तयारी गरिएको हुँदा कसैको छुट भएमा समितिलाई जानकारी गराउन भेला मार्फत आग्रह गरिएको छ । प्रत्येक तहमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्ने, केन्द्र र जिल्ला तहमा अक्षयकोष स्थापन गर्ने साथै केन्द्रदेखि गाउँ तहसम्म संगठन विस्तार गरिने भेलाले निर्णय पारित गरेको छ ।

यसै अवसरमा फाल्गुनन्द– ५ घर भई हाल अमेरिका बस्दै आएका विमल चेम्जोङले चेम्जोङ वंशका दुई जना विद्यार्थीलाई प्रोत्सान गर्ने उद्देश्यले २५ हजार रुपैयाँ आर्थिक सहयोग पठाएका छन् । उक्त रकमको आधा १२ हजार पाँच सय रुपैयाँ फाल्गुन्नद–५ निवासी राष्ट्रिय फुटबल खेलाडी पुनम चेम्जोङलाई र गत वर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने कुम्मायक–५ स्याबरुम्बाका लक्ष्मी चेम्जोङलाई १२ हजार पाँच सय रुपैयाँ अतिथिहरुको हातबाट प्रदान गरिएको छ । त्यस्तै हङकङ्मा रहेका चेम्जोङ वंशका दाजुभाइबाट संकलन भएको ७१ हजार रुपैयाँ फाल्गुनन्द–५ का मृगौला पीडित देशकुमार चेम्जोङलाई हस्तान्तरण गरिएको कार्यक्रम सञ्चालक एवम् संघका केन्द्रीय सदस्य वीर नरसिंह चेम्जोङले जानकारी दिए ।

भेलामा चेम्जोङ वंशको सबैभन्दा जेठो वरियाता १२ नम्बरका डीकबहादुर र सुनबहादुरलाई पनि सम्मान गरिएको छ । हाल २० नम्बरसम्म वंशावली नम्बर पुगेको जनाइएको छ । महासचिव जितेंन्द्रराज चेम्जोङले संस्थाको प्रशासनिक तथा संगठनात्म प्रतिवदेन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । केलाङ नाच, लिम्बु नाच, हाक्पारे लगायत प्रस्तुत गरिएको उक्त कार्यक्रम संघका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङको अध्यक्षतामा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यमा समापन गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय पदाधिकारी उपाध्यक्ष गंगा चेम्जोङ, सचिव कृष्णगोविन्द चेम्जोङ, कोषाध्यक्ष मानबहादुर चेम्जोङ, सहकोषाध्यक्ष दुर्गा माया सोधुङ चेम्जोङको उपस्थिति थियो । केन्द्रीय सचिवालय सदस्य सुमन लक्ष्मी चेम्जोङ, श्याम चेम्जोङ, गुरु चेम्जोङ, गणेशकुमार चेम्जोङ, केन्द्रीय सदस्य दलसोर चेम्जोङ, सोम चेम्जोङ, केहेरसिं चेम्जोङ, आसबहादुर चेम्जोङ राजभक्त चेम्जोङ सूर्यविक्रम चेम्जोङ, खड्गबहादुर चेम्जोङ लगायत विभिन्न जिल्ला तथा भारतबाट आएका प्रतिनिधिले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here