भाषाशास्त्री महानन्दको जन्मजयन्ती चार स्रष्टालाई पुरस्कार

0
95

बिर्तामोड।

 

पत्रकार भेटघाटमा पुरस्कारको घोषणा गर्दै समितिका पदाधिकारी

यस वर्षको महानन्द पुरस्कार वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल र युवा साहित्यकार सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य विकास समिति अन्तर्गत महानन्द पुरस्कार समिति झापा र महानन्द स्मृति प्रतिष्ठान रोङ इलामले सोमबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी पुरस्कारको घोषणा गरेको हो । पोखरेल झापा कनकाई निवासी हुन् भने कुरुप इलामका चुलाचुलीका बासिन्दा हुन् ।

त्यस्तै यस वर्षको भवानी घिमिरे–रङ्ग–पुण्य स्मृति साहित्य सेवा पुरस्कार इलामका साहित्यकार विमल बैद्यलाई प्रदान गरिने भएको छ । त्यस्तै हिरा–आकाश पूर्ण–टुङ्ग स्मृति साहित्य सेवा पुरस्कार पाँचथरका साहित्यकार प्रेम ओझालाई प्रदान गरिने भएको छ । भाषाशास्त्री महानन्द सापकोटाको १२७औं जन्मजयन्ती तथा १५औं महानन्द पुरस्कार वितरण समारोहमा उक्त पुरस्कार स्रष्टाहरुलाई समर्पण गरिने पुरस्कार समितिका अध्यक्ष केशव आचार्यले जानकारी दिए ।

समारोह यही बैशाख ३० गते इलामको इरौटारस्थित देवानछापमा हुनेछ । चारवटै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको पुरस्कार समितिका सचिव चन्द्र भण्डारीले बताए । समारोहमा पुरस्कार वितरणसँगै कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । पत्रकार भेटघाटमा महानन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडा र महासचिव सोमनाथ पौडेलले कार्यक्रमको तयारीबारे जानकारी गराएका थिए ।

महानन्द पुरस्कार समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा साविक मेची अञ्चलको भूगोलबाट स्रष्टा छनौट गरिएको बताइएको छ । महानन्द पुरस्कारका लागि अक्षयकोष वृद्धिको पहल भइरहेको बताइएको छ । त्यस्तै भवानी घिमिरे–रङ्ग–पुण्य स्मृति साहित्य सेवा पुरस्कारका लागि साहित्यकार तथा पत्रकार केशव आचार्यले अक्षयकोषमा एक लाख रुपैयाँ प्रदान गरेका छन् । हिरा आकाश पूर्ण–टुङ्ग स्मृति साहित्य सेवा पुरस्कारको अक्षयकोषका लागि गोपालकुमार बस्नेतले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

पुरस्कार वितरण समारोह गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा हुने जनाइएको छ । पुरस्कार समितिका सचिव भण्डारीका अनुसार महानन्द पुरस्कार २०४४ सालदेखि एक हजार राशिबाट वितरण शुरु भएको हो । यो पुरस्कार हरेक दुई वर्षमा वितरण हुँदै आएको छ ।

भाषाशास्त्री महानन्द सापकोटाको जन्मजयन्तीमा रोङ गाउँपालिकाले स्थानीय विदा दिँदै आएको छ भने त्यस अवसरमा विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिँदै आएको छ । देवानछाप महानन्दको जन्मस्थान हो भने उनको त्यहाँ शालिक समेत निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here