स्याउ तस्करीको छानबिन शुरु

0
75

झापा ।

दक्षिणी झापाको कचनकवल–४स्थित पूर्वी लोदावारी नाकाबाट चाइनिज स्याउ भारत तस्करी भएको घटनाको बारेमा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले छानबिन शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाँईको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । एसपी हुमागाँई नेतृत्वमा खटाइएका टोली मङ्गलवार नै झापामा आएर छानबिन शुरु गरिसकेको डीआइजी पोखरेलले पूर्वाञ्चललाई जानकारी दिए ।

एसपी हुमागाँई नेतृत्वको टोलीले सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचनाका इन्स्पेक्टर ओकिल धानुकसँग घटनाको बारेमा सोधपुछ गरेका छन् । सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी शर्माको मातहत नै बीओपी केचना पर्छ । बीओपी केचना नजिकैको पूर्वी लोदावारी नाकाबाट ठूलो मात्रामा स्याउ तस्करी भएको थियो ।

एसपी हुमागाईँसहितको टोलीले घटनाको छानबिन गरिरहेको बताउँदै डीआइजी पोखरेलले भने– ‘स्याउ तस्करी घटनामा को–को सशस्त्र प्रहरी संलग्न छन्, छानबिनको क्रममा संलग्नता रहेको पाइएमा त्यहाँबाट बाहिनी तान्छु, त्यसपछि उनीहरूमाथि विभागीय कारबाही पनि गर्छु ।’ चोरी तस्करी निर्मूल पार्ने अभियानमा सङ्गठन लागीपरेको उनको भनाइ छ ।

कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको जानकारी डीआइजी पोखरेलले आइतबार मात्र पाए । त्यसपछि डीआइजी पोखरेलको निर्देशनपछि सीमा तैनाथ सशस्त्र प्रहरीले आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो । स्याउ लोड गरिएको गोदामको पनि पहिचान भएपछि डीआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली पनि घटनास्थल बोलायो ।

राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदावारीस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद ग¥यो । बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्वलाई बुझाइसकेको छ ।

यता राजश्वले पनि स्याउ घटनाको बारेमा छानबिन शुरु गरिसकेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । ‘कृषिजन्य वस्तु कुहिने भएकोले स्याउ लिलामको प्रक्रियामा जान्छ, त्यो सँगसँगै आवश्यक छानबिन पनि हुन्छ’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here