काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने खाली ट्रक अवैध सामान भित्राउँदै, ११ लाखको सामान बरामद

0
91

पार्थ मण्डल । झापा,

भारतबाट नेपाल सरसामान लिन आउने भारतीय नम्बर प्लेटको खाली मालवाहक सवारीसाधनले अवैध सरसामान नेपाल भित्राउने गरेको खुलासा भएको छ ।

पछिल्लो समयमा सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकामा कडाइ गरेसँगै तस्कर तथा कारोबारी समूहले भारतबाट आउने खाली मालवाहक सवारीसाधनलाई प्रयोग गरी अवैध सरसामान नेपाल भित्राउने थालेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिहीबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ६ स्थित काली खोलामा भारतीय नम्बर प्लेटको खाली ट्रक रोकेर चेकजाँच गर्दा ठुलो मात्रामा भन्सार छलीका सरसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

डब्लुबी ७३ एएन ४२६६ नम्बरको भारतीय ट्रकका चालक निरञ्जन रायले आज बिहान पौने सात बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा १७ सय रुपैयाँ तिरेर खाली ट्रकको एक दिनको भन्सार प्रज्ञापन पत्र कटाएका थिए । चालकले भन्सार प्रज्ञापन पत्रमा आयातकर्ता भारत राम छविलाल गिरी र नेपालका एजेन्ट जनक टे«डर्स काठमाडौँ उल्लेख गरेका छन् ।

भन्सार प्रज्ञापन पत्र कटाएर पश्चिमतर्फ गइरहेको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रकको हुडमाथि त्रिपालले छोपेर भित्राइएको करिब ११ लाख मुल्य बराबरको अवैध सरसामान बरामद गरिएको डीएसपी रिजालले बताए । ट्रकको हुडमाथिबाट प्रहरीले २४ कार्टुन टायल्स, ३ हजार ७८ पिस राधेराधे गम्छा, ३५ थान रेडमी कम्पनीका मोबाइल, विभिन्न प्रकार औषधि बरामद गरेको छ ।

भन्सारमा पटके कटाएर नेपाल सरसामान लिन आएको खाली ट्रकमा भन्सार छलीका सरसामान भित्रिरहेको बारेमा प्रहरी नै अनविज्ञ रहेको बताउँदै डीएसपी रिजालले भने, ‘घटना सुन्दा पनि अच्चम लाग्छ, सुरक्षाकर्मीको अगाडि भन्सार नाकाबाट खुलेआम ट्रकमा अवैध सरसामान भित्रिँदो रहेछ ।’

‘बाहिरबाट झट्ट हेर्दा गाडी खाली, हुडमाथि लाखौँको सामान,’ उनले भने । अब भारतबाट आउने प्रत्येक खाली ट्रकहरूमाथि प्रहरीले निगरानी बढाउने उनको भनाई छ ।

यता बरामद गरिएको सरसामान, ट्रक र ट्रक चालक रायलाई २२ लाख ९० हजारमा मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here