चाँदनी बहुउद्देश्यद्वारा कृषकहरुलाई अनुदान रकम वितरण

0
123

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शुक्रबार एक कार्यक्रमकाबिच दुध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ ।

स्थानीय विन्ध्यावासिनी मन्दिरमा आयोजित कार्यक्रममा संस्थामा आबद्ध ३४४ जना दुध उत्पादन गर्ने कृषकलाई तीन लाख १५ हजार रुपैयाँ बराबरको अनुदान रकम वितरण गरेको संस्थाका सदस्य देवेन्द्र मैनालीले जानकारी दिए ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरको आर्थिक सहयोगमा वितरण गरिएको उक्त अनुदान रकम चालु आर्थिक वर्षको छ महिनाको रहेको सदस्य मैनालीले बताए । “कृषकहरुले पाउने दुधको रकममा प्रति लिटर दुई रुपैयाँको दरले थप रकम अनुदानमार्फत् पाउने हो ।”–उनले प्रष्ट पारे ।

सोही कार्यक्रममा अर्जुनधारा–८ स्थित फुङफुङे कृषि फर्मसहित कृषकहरु कृष्ण ढुंगाना, टेकबहादुर खड्का, भक्तबहादुर तिम्सिना र विन्दु भेटवाललाई उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्र्तगत सम्मान पत्र र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष यामबहादुर दाहालको अध्यक्षता र केन्द्रकी प्रमुख शीतल भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुलाई पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले दुध उत्पादन बारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, शाखा प्रमुख राई, वडाध्यक्ष अम्बरबहादुर कटुवाल, कृषक तुलसी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । संस्थाका सदस्य मैनालीले कार्यक्रमको औचित्य र सल्लाहकार वेदप्रकाश घिमिरेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रेमबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here