फोसिल

२३ बैशाख २०८०, शनिबार मा प्रकाशित


तिमीहरु ले डोजर चलाएको ठाउँ
मेरो सभ्यताको नाभी हो,
मेरा पुर्खाको अस्तु त्यहीँ कतै छ ।
मैले दुःखहरु त्यहीँ बगाएको हुँ
मेरा पिता पुर्खाको पसिनाले
ती भूमिहरू छपछप्ती भिझिराखेको छ ।
तिमीहरूलाई विश्वास लागेन भने
किनारको ‘पत्थर’ फोर्नु र सुमसुम्याउनु
मेरो अस्तित्वको ‘फोसिल’ ।

म त्यही किनारमा,
बजिरहने लहरको झंकारमा हुर्केको हुँ
मैले ‘खुट्टे’ खेल्ने ढुंगा त्यहीँ छन्
म हिँडेको हरियो कार्पेट
त्यही किनारको लयले सिञ्चित हो
मेरो ‘मुक्ति’को प्रार्थना
ती नदीको छालहरुमा वयली खेलिरहेको छ ।
जुन तिमीले राखेको नाम कोशी हो ।
तर, मेरा लागि त बगिरहने एउटा नदी मात्र पो हुन ।

त्येसैले त म अझै भन्दैछु
तिमीहरुले डोजर चलाएको ठाउँ
मेरो सभ्यताको नाभी हो ।
मेरा पुर्खाको अस्तु त्यहीँ कतै छ,
मैले दुःखहरु त्यहीँ बगाएको हुँ
तिमीहरूलाई विश्वास लागेन भने
किनारको ‘पत्थर’ फोर्नु र सुमसुम्याउनु
मेरो अस्तित्वको ‘फोसिल’ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here