हुलाकी राजमार्ग निर्माणको ७८ वर्ष, झापामा सकियो काम, फरार ठेकेदार खोज्दै जनप्रतिनिधि

0
118

सुरेन्द्र भण्डारी
झापा ।

राणा प्रधानमन्त्री पद्म शमशेरले हुलाकीहरुलाई चिठ्ठी आदान प्रदान गर्न छिटो र सजिलो होस् भन्ने उद्देश्यले निर्माण शुरु गरेको हुलाकी राजमार्गको निर्माण कार्य अझैं सकिएको छैन । बि.सं. २००२ देखि २००४ सम्म सत्तामा रहेका बेला प्रधानमन्त्री पद्म शमशेरले यो सडकको निर्माण कार्य अघि बढाएका थिए । सडक निर्माणको काम शुरु भएको ७८ वर्ष पूरा भएको छ । तर, निर्माणको काम अझै सकिएको छैन ।

हुलाकी राजमार्गको कूल लम्वाइ १ हजार ७ सय ९२ दशमलव ४२ कीमी रहेको छ । यो राजमार्गले पूर्वमा मेचीदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको तराईका भू–भागका २० जिल्लालाई छोएको छ । निर्माण शुरु भएको ७८ वर्षपछि हुलाकी राजमार्ग अन्तर्गत झापामा पर्ने ४८ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । दुई चरणमा गरिएको कालोपत्रेको काम हालै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालयका इञ्जिनियर दीपेन्द्र चौधरीले बताए ।

मेची नदीदेखि राजगढसम्मको सडक कालोपत्रे गर्ने कार्य पहिलो चरणमा सम्पन्न भएको र राजगढदेखि रतुवा खोलासम्मको काम दोस्रो चरणमा सम्पन्न भएको उनको भनाइ छ । सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भए पनि पुल निर्माणको काम भने निर्माणाधीन छ । पीएस, गजुरमुखी–मोतीदान कन्ट्रक्सन जेभीले सडक निर्माणका लागि ठेक्का लिएको हो । मेचीदेखि राजगढसम्मको सडक कालोपत्रे सकिए लगत्तै राजगढदेखि रतुवासम्मको २८ किलोमिटर सडकखण्ड निर्माण कार्यलाई अघि बढाइएको थियो– मोतीदान कन्ट्रक्सनका व्यवस्थापक मनोज उप्रेतीले भने– सबै सडक खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ केही स्थानमा सडक मर्मत कार्य मात्र बाँकी छ । त्यो पनि केही समयमा सम्पन्न गर्दै सडक हस्तान्तरण गर्ने अवस्थामा कम्पनी पुगेको छ ।

वर्षामा आएको बाढीले माई खोला आसपासको सडकमा क्षति पु¥याएको र क्षतिग्रस्त सडकलाई मर्मत गर्दै कालोपत्रे गर्ने काम अघि बढाइएको छ– उप्रेतीले भने– केही ठाउँको मर्मत कार्य सम्पन्न गरे लगत्तै सडकमा मार्किङ गर्ने र वोर्ड राख्ने काम गर्छौ । हुलाकी राजमार्ग अन्तर्गत राजगढदेखि रतुवा पुलसम्म २८ किलोमिटर सडक कालोपत्रेका लागि ७५ करोड ३२ लाख ३१ हजार तीन सय ९१ रुपैयाँ ५० पैसामा ठेक्का लागेको हो । २०६९ जेठ २४ गतेको मन्त्रीस्तरीय निर्णयपछि यो राजमार्ग निर्माणको कामले तीव्रता पाएको थियो । त्यस लगत्तै २०७९ साल असोज २४ सडक निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो ।

झापामा हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए पनि मोरङमा भने समयमा सडक निर्माण सम्पन्न नहुँदा यो सडक अलपत्र बनेको छ । बन्दाबन्दैको सडक बनाउन छाडेर निर्माण व्यवसायी वेपत्ता भएपछि मोरङस्थित हुलाकी सडक अलपत्र बनेको हो । बिना जानकारी सडक निर्माण कार्य ठप्प पारेर निर्माण व्यवसायी बेपत्ता भएपछि सडक निर्माण कार्य अलपत्र परेको हो । निर्माण व्यवसायी वेपत्ता बनेसंगै सडक निर्माण कार्य नै ठप्प भएपछि जनप्रतिनिधि अहिले सडक संघर्षको तयारीमा पुगेका छन् । समयमा सडक नबन्दा स्थानीयले सास्ती पाएपछि प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकारका प्रमुखहरुले बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

मोरङमा हुलाकी सडकको कूल लम्बाइ ४४ किलोमिटर छ । त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाइ किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ । जसमध्ये रतुवाखोलादेखि १६.५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम लगभग पूरा भइसकेको छ । पिएस गजुरमुखी मोतीदान जेभीले लिएको यो खण्डको काममा समस्या नभएको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले जनाएको छ । त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७.५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ । कालिका मैनाचुली वेदाङ्सी जेभीले गरेको यो काम पनि सकिएको प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिए ।

तर, बेतौनादेखि हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ । दुईवटा प्याकेजमा भइरहेको काममध्ये बेतौनादेखि नयाँ बजारसम्मको १२ किलोमिटर क्षेत्रको काम एक महिनायता ठप्प छ । पिएस गजुरमुखी मोतीदान जेभीले गर्दागर्दैको काम छाडेको हो, त्यो खण्डमा ग्राभेलदेखि कालोपत्रेसम्मको काम गरिनुपर्ने हो– हुलाकी सडक कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले भने– ‘तर, बिना जानकारी ठेकेदार वेपत्ता छन् ।’

नयाँ बजारदेखि हाटखोलासम्मको सडकको पनि अवस्था त्यस्तै छ । यो खण्डको कूल लम्बाइ साढे ५ किलोमिटर हो । श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको यो सडक पनि महिना दिनभन्दा बढी समयदेखि अलपत्र छ । यसरी दुईवटा घना आवादी भएको ठेक्का प्याकेज क्षेत्रमा काम रोकिएपछि सांसदहरुसहितका जनप्रतिनिधिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

हुलाकी सडक आयोजनाको काम अलपत्र परेपछि प्रतिनिधिसभाका सांसदद्वय ऋषिकेश पोखरेल र योगेन्द्र मण्डल, कोशी प्रदेशसभाका ६ जना सांसदहरु गणेश उप्रेती, लीलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीमप्रसाद पराजुली, गयानन्द मण्डल र अमृत अर्यालले आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुसँगै रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार र कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पनि आन्दोलनको चेतावनी दिएका छन् ।

यता हुलाकी राजमार्ग अन्तर्गत नै झापामा पर्ने कनकाई, बिरीङ तथा रतुवा नदीका पुल धेरै वर्षदेखि अलपत्र अवस्थामा छन् । मेचीदेखि महाकालीसम्म अवरोधबिना सवारीसाधन चल्न सक्ने वैकल्पिक राजमार्गको रूपमा हेरिएको हुलाकी राजमार्ग समयमा नै निर्माण सम्पन्न हुने हो भने करिब ८० लाख तराईवासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here