यस पटकको कार्ल हेनरिक माक्र्सको २०५औं जन्मजयन्ती र गौतम बुद्धको २५६७औं जन्मजयन्ती एकै दिन मे ५ मा परेको थियो । यो एउटा सुखद् संयोग हो । यी दुई महामानवलाई देवत्करण गरेर मानव मुक्ति र समाज रूपान्तरणमा शक्तिशाली र अजेय मानिएका मानव जातिका लागि उनीहरूले प्रतिपादन गरेका दर्शन र विचारधारालाई भ्रष्टीकरण गर्ने र निशस्त्रीकरण गर्ने प्रपञ्चबाट माक्र्स र बुद्धलाई बुझ्ने र बुझाउने काम भइरहेको छ । कार्ल माक्र्स एक सर्वश्रेष्ठ क्रान्तिकारी, एक विख्यात कम्युनिष्ट योद्धा र दार्शनिक थिए । सन् १८१८ मे ५ मा जर्मनीमा जन्मेका कार्ल माक्र्स एक प्रसिद्ध दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार, साम्यवादी राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवम् क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो ।
आफ्ना अति घनिष्ट मित्र फ्रेडरिक एङ्गेल्सको सहयोगमा उनले सन् १८४८ मा ३० वर्षकै उमेरमा पुँजीवादका बिरुद्ध संसार हल्लाउने ‘कम्युनिष्ट घोषणापत्र’ प्रकाशित गरे । उक्त घोषणापत्रको पहिलो वाक्यको रूपमा उनले लेखेका छन्– ‘सारा युरोपलाई एउटा भूतले सताइरहेको छ, त्यो भूत हो साम्यवादको भूत ।’ सो घोषणापत्रको प्रथम अध्यायको पहिलो पङ्क्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्– ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।’ उनीहरूले पुँजीवादी उत्पादन सम्बन्धहरूले नै पुँजीवादी समाजको विकासलाई रोकिदिन्छन्, अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् भनेर लेखेका थिए ।
पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त सङ्कुचित हुन जान्छन् । कम्युनिष्ट घोषणापत्रमा उनीहरूले एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँ–नयाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पुरापुर शोषण गरेर पुँजीवादी समाज सङ्कटमा पर्छन् भनी लेखेका छन् । तसर्थ भन्न सकिन्छ– समाजवादको जन्म पुँजीवादको गर्भबाटै हुन्छ । उनले तर्क दिएका छन्– ‘पुरानो सामाजिक आर्थिक प्रणालीसरह पुँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ, जसरी सामन्तवादको स्थान पुँजीवादले लिन्छ त्यसरी नै समाजवादले पनि पुँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ ।’ उनले तत्कालीन समयको गहिरो अध्ययन गरेका थिए । त्यो समयको अन्तरविरोधको अधययनबाट नै उनले महान् कृति ‘पुँजी’को रचना गरेका थिए ।
मानव मुक्तिको सपना समाजवाद हो । समाजवाद सूर्य जस्तै हो, यो आँगन, चौतारी, खेतखलिहान, कलकारखाना, मजदुर बस्ती, विद्यालय, विश्वविद्यालय, चियापसल जताततै अनुभूत हुन्छ यसको खाँचोको । आज संसारमा सबैभन्दा बढी कुनै सिद्धान्तले प्रभावित गरेको छ भने त्यो माक्र्सवादले नै छ । माक्र्सवादको मानवीय स्वरूप र शोषणमुक्त समाजको आह्वानले यस दर्शनले २०औं शताब्दीभरि एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका सबै भूगोललाई प्रभावित ग¥यो । शोषणविहीन राज्यको परिकल्पनासहित स्थापित सोभियत संघ, पूर्वी युरोपका केही देशमा समाजवादी सरकार स्थापना भए । समाजवादी मुलुकमा नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो । एकातिर रूस, चीन, भियतनाम, कम्बोडिया, उत्तर कोरिया, क्युबा, हंगेरी लगायतका मुलुकमा समाजवादको विकास गर्न प्रयत्नहरू भएका थिए भनेर वामपन्थीहरू विश्वास गर्छन् । समाजवाद निर्माणका प्रयत्नबाट सटिक प्रकटीकरण रुढीवादी, धार्मिक, डरपोक संस्कृतिको विरोधी समाजवाद आफैं रुढीग्रस्त भयो, आफैं अधिनायकवादी शासनको हिमायती भयो र कतिपय मुलुकमा त राजकीय पुँजीवादी शोषणको माध्यम नै भयो । गरिखाने वर्गको निरन्तरको पीडा र यातनाबाट मुक्ति दिएर स्वर्णिम र सुखी संसारको कल्पना गर्ने संसारको सबैभन्दा बढी लोकतान्त्रिक भनी मानिएको व्यवस्था अलोकतान्त्रिक, जनविरोधी र लेख्ने, बोल्ने स्वतन्त्रता खोस्ने व्यवस्था भयो ।
पीडा, वेदना र कठिनाईमा जिइरहेको कामदार वर्गमा भित्रभित्रै क्रान्तिको ज्वाला दन्किँदै जाँदा व्यापक परिवर्तन हुन्छ । मजदुरहरुको सामुहिकता र सङ्गठनमा शक्ति हुन्छ र यो नै समाजवादी क्रान्तिको आधार हो भन्ने सच्चाइ हो । मूल प्रश्न समाजवाद ल्याएर कसैले दिने हो कि कामदार वर्ग आफैंले निर्माण गर्ने हो ? सर्वहाराको यो समाजवादी विचारले नवीन मानवजातिको विकास हुन्छ र ईश्वर पनि नयाँ रुपमा प्रकट हुन्छन् भन्ने विश्वास जागृत हुँदै जान्छ । भौतिक परिस्थितिले मानवीय चेतनाको विकास हुने र मानवीय चेतनाले भौतिक परिवेशलाई आफू अनुरूप बदल्न कोशिस हुने निरन्तरको अन्तरविरोधका वीचबाट नयाँ युगको आरम्भ हुन्छ भन्ने कुरा आम श्रमजीवी, मजदुर वर्गले व्यवहारबाटै बुझेपछि मात्र उनीहरू सङ्गठित हुन्छन् ।
श्रम गरेर पनि बाँच्न कठिनाई हुने रौरव नरक जस्तो निसासिँदो वातावरणबाट पार पाउन श्रमजीवी जनताले सङ्घर्ष गर्ने बाहेक अन्य कुनै विकल्प छैन । सङ्घर्षमा सामेल भएपछि मात्र समाजवादी क्रान्तिकारीहरूमा ऊर्जा सञ्चार हुन्छ । लखतरान भई चौतारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई समाजवादी विजयकथाले उत्साहको लौरो थमाउँछ, उनीहरूलाई क्रान्तिको उज्यालो किरणले आफ्नो देश, समाज, घरपरिवारलाई सिँचेर अघि बढ्न उत्प्रेरित गर्छ । समाजवाद वास्तवमा जिउँदै हुँदाका मृत आत्माको पुनर्जीवन र पुनः उत्थानको सिद्धान्त हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ मेहनतकश जनताको जीवन । उनीहरूको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । जब मानिस साँचो अर्थमा समाजवादी विचारहरूबाट प्रभावित हुँदै जान्छ, उसको मृत आत्मा फेरि ब्यूँतिन्छ । समाजवादी क्रान्तिको दिशानिर्देशले मेहनतकश मजदुर वर्गका लागि प्रेरणाको काम गर्दछ ।
समाजवाद मानव जातिको मुक्तिपथ हो । समाजवाद क्रान्तिको गोरेटो हो । वास्तवमा कामदार वा मजदुरवर्ग नै क्रान्तिको वास्तविक संवाहक हो, उत्प्रेरक हो र पहलकर्ता हो । मजदुर वर्गका लागि अरुले क्रान्ति गरी दिँदैनन् । यो सच्चाइलाई आत्मसात नगर्दा समाजवादले धक्का खाएको हो । क्रान्तिले चेतना दिन्छ, खराब मानिसलाई पनि असल मार्गमा लाग्ने प्रेरणा दिन्छ । माक्र्सवादको आलोकमा समाजवादी÷साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ भन्नेमा विश्वास गर्छन् कम्युनिष्टहरू । माक्र्सले संसारको व्याख्या गर्ने मात्र होइन, परिवर्तन गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको वकालत गरेका छन् । वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्था मध्ये सबैभन्दा उत्तम एवम् मानव– हितकारी विशेषताहरू भएको राज्यव्यवस्था मानिन्छ ।
वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्ग अन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । वास्तवमा माक्र्सवाद भनेको समाजको ब्याख्या र विश्लेषण मात्र गर्ने शास्त्र होइन, यो त जीवनदर्शन र शैली पनि हो । माक्र्सले पटक–पटक पार्टीभित्र र बाहिर निम्न पुँजीवादी चिन्तन, अनुभववाद, ढुलमुले दक्षिणपन्थी मध्यपन्थी प्रवृत्ति, मनोगतवाद, सङ्कीर्णतावाद, तीव्र वा शीघ्र विजय वा परिवर्तनको आशा, क्रान्तिकारी लफ्फाजी, क्षेत्रवाद, आत्मकेन्द्रित व्यक्तिवाद, नोकरशाही कुलीनवाद जस्ता सबै गैरक्रान्तिकारी प्रवृत्तिबिरुद्धमा निर्मम संघर्ष गर्न सिकाएका थिए ।
ढाँटछल, लोभलालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने समाजलाई बदलेर समाजको पिँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरूको मुक्तिको सपना हो समाजवाद । दुःखीजनहरूका निम्ति समाजवाद दूर क्षितिजमा देखिने आशाको झुल्केघाम हो । समाजवाद एउटा विशाल र रोक्नै नसकिने क्रान्तिको नाम हो । सिङ्गो मानवजगत् परिवर्तनका लागि माक्र्सको योगदान ठूलो छ । माक्र्सलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रूपमा लिँदै इतिहासमा पृथक राजनीतिक परिवर्तन वा नवीनतम् क्रान्ति सम्पन्न गर्ने सामाजिक क्रान्तिको मूल लक्ष्य राज्यको संरचनालाई यथास्थितिमा राखेर पूरा गर्न सकिन्न भन्ने माक्र्सको प्रष्ट धारणा थियो । भूमण्डलीकरणको संरचना र वित्तीय आर्थिक प्रणालीमा राष्ट्रिय राज्यको भूमिका कमजोर हुँदै जाने र पुँजीको अन्तर्राष्ट्रियकरण र ऋण र लगानी प्रणालीको विकासले राष्ट्रिय राज्य बिस्तारै व्यापारी, बैंकर्स तथा बहुर्राष्ट्रिय कम्पनीको औजार बन्दै जाने कुरा व्यवहारबाटै पुष्टि भएको छ ।
पिँधमा रहेका श्रमजीवी जनताको सचेत आमविद्रोहबाट मात्र क्रान्ति सम्भव छ । २१औं शताब्दीसम्म आइपुग्दा पुँजीवादको चरित्रमा निकै ठूलो फेरबदल आइसकेको छ र आजको सङ्कट वास्तवमा उदारवादी सत्ताको नवउदारवादी नीतिका कारण उत्पन्न हुन पुगेको छ । समाजवाद पक्षधर सङ्गठनको सांगठानिक संरचना सबैभन्दा बढी लोकतान्त्रिक हुनुपर्छ र बाहिरबाट ल्याएर कथित नोकर शाहहरूलाई पार्टीमाथि नेतृत्व थोपर्नुहुन्न । संरचना नबदलिएको यथास्थितिवादी राज्यबाट क्रान्ति र समाजवाद आउन सम्भव नै छैन । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमा उल्लेख गरे झैं क्रान्तिकारी रूपान्तरण गर्न यथास्थितिमा रहेका विद्यमान संरचना भत्काएर मात्र सम्भव हुन्छ ?।
नेपालको लुम्बिनीमा जन्मेका विश्व शान्तिका नायक सुप्रसिद्ध दार्शनिक गौतम बुद्ध आफ्नो समयका एक महान् क्रान्तिकारी थिए । मूर्तिपुजाका प्रखर विरोधी बुद्धका संसारमा सबैभन्दा बढी मूर्तिहरू छन् । बुद्धलाई भगवान् विष्णुको नवौं अवतार मानेर पूजा गर्ने प्रवृत्ति यति मौलाउँदोछ । बुद्ध दर्शनलाई धर्मका रूपमा बुझ्ने र बुद्धका वाणीलाई जडसूत्रका रूपमा घोक्नेको बाहुल्य छ संसारमा । बुद्ध दर्शन एक अनिश्वरवादी दर्शन हो । ऐतिहासिक रूपमा यो दर्शन वा धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरूका शिक्षामा आधारित छ । बुद्ध दर्शन÷धर्मका चार आर्यसत्य छन् । दुःख आर्यसत्य भन्छ– यस दुनियाँमा दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतमभन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिएको नपाउनुमा, सबैमा दुःख छ । समुदाय आर्यसत्य भन्छ– तृष्णा, या चाहना, दुःखको कारण छ र फेरि स–शरीर गरेर संसारलाई जारी राख्दछ । निरोध आर्यसत्य भन्छ– दुःख तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ ।
मार्ग आर्यसत्य भन्छ– तृष्णाबाट मुक्ति आर्य अष्टाङ्ग मार्गका अनुसार बाँच्न पाएमा वा बाँचेमा सम्भव छ । आर्य अष्टाङ्ग मार्ग चौथो आर्य सत्य हो । आर्य अष्टाङ्ग मार्ग हो दुःख निरोध पाउनको बाटो । गौतम बुद्ध भन्थे– कि चार आर्य सत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुशरण गर्नुपर्छ । सम्यक दृष्टि (चार आर्य सत्यमा विश्वास गर्न), सम्यक सङ्कल्प (मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न), सम्यक वाक (हानिकारक कुरा नगर्न र झुट नबोल्न), सम्यक कर्म (हानिकारक कर्महरू नगर्न), सम्यक जीविका (कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्न), सम्यक प्रयास (आफैं सुधार्ने कोशिश गर्न), सम्यक स्मृति (स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउनको कोशिश गर्न) र सम्यक समाधि (निर्वाण पाउन र स्वयंको गायब हुनु) । अष्टमार्गलाई तीन हिस्साहरूमा वर्गीकृत गरिन्छ ः प्रज्ञा, शीला, र समाधि । बुद्ध धर्ममा तीन महासंघ छन् ः थेरवाद, महायान र बज्रयान ।
निष्कर्षमा भन्ने हो भने गौतम बुद्ध र माक्र्सको पूजा गर्ने होइन, उनीहरूबाट सिक्ने हो । २१औं शताब्दीका र आउने भविष्यका सबै समस्याको समाधान बुद्ध र माक्र्सले दिएका छैनन् र दिन सक्ने कुरा पनि भएन, तर मानव इतिहासका दुई महान् दार्शनिकको जीवन, रचना र सन्देशबाट भविष्यको मार्गचित्र कोर्न निश्चय नै सहयोग पुग्छ । लोकतन्त्र र पुँजीवाद सँगसँगै अघि जान सक्दैनन् । तर, माक्र्सवाद र बुद्धवादको आलोकमा लोकतन्त्र र क्रान्ति, लोकतन्त्र र सुधार, क्रान्ति र सुधार, क्रान्ति र मानवता, लोकतन्त्र र मानवता सँगसँगै अघि लैजाने सिद्धान्तको स्पष्ट दृष्टिकोणसहितको विचार निर्माणको काम आजको मूल कार्यभार हो । बुद्ध र माक्र्सका दर्शन÷विचारधाराहरू आजको युगलाई सकारात्मक दिशातर्फ लैजान अन्य विचारधाराभन्दा बढी प्रभावकारी, व्यावहारिक र मानव हितकारी छन् ।