झापामा पाँच दिनमा २४ जना फरार पक्राउ

0
60

बिर्तामोड ।

झापामा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । जघन्य आपराधिक मुद्दामा फरारसहित लागूऔषध कारोवारमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरुमा फरार रहेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्न शुरु गरेको हो । फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले पछिल्लो पाँच दिनमा २४ जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध, ठगी, चेक अनादर, वन कसुर, चोरी, जवरजस्ती करणी उद्योग लगायत रहेको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।

नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने, आपराधिक क्रियाकलाप उपर कानूनी कारवाही गर्ने, खुला सीमानाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धानमा उच्चतम् प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिने लगायतका कार्ययोजनासहित काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

गत वैशाख २० गतेबाट जिल्ला प्रहरी कार्यालय झापाले फरार प्रतिवादी पक्राउ अभियान शुरु गरेको हो । पाँच दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएको जनाइएको छ ।

जिल्लामा हुने अपराधलाई नियन्त्रण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी लागीरहेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ । अपराध नियन्त्रणका लागि पछिल्लो समय प्रहरी सक्रिय रुपमा लागेको भन्दै उनले भने– हामीले जिल्लाका सबै युनिटमा खोजी गर्न भनेका छौं, जिल्लास्तरबाट छुट्टै टोली नै बनाएर फरारहरुलाई धमाधम पक्राउ गरिरहेका छौं । अदालतले दोषी ठहर गरे पनि फैसला कार्यान्वयनमा सहयोग गर्नुको सट्टा लुकिछिपी बस्ने प्रवृत्ति मौलाउँदै गएपछि प्रहरीको ध्यान फरारतर्फ केन्द्रित भएको बताइएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले प्रदेशको नेतृत्व सम्हाले लगत्तै प्रदेशभर फरार प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका थिए । उनले प्रदेशका १४ जिल्लाको निरीक्षण भ्रमणका क्रममा प्रहरीलाई कडा निर्देशन दिएका थिए ।

आइतबार जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीलाई कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष तवरबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । निर्देशनको क्रममा उनले रिस, राग, द्वेष, इष्र्याको भावनाले कसैलाई पनि सफल बन्न दिँदैन त्यसैले सम्पूर्ण प्रहरी कर्मचारीहरुले त्यस्तो भावना त्यागी एकापसमा भाइचारा तथा सहयोगी भावनाका साथ अगाडि बढ्न तथा प्रहरी कार्यालयलाई सदैव आफ्नो घर सम्झी सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारिपूर्वक संगठनको श्रीबृद्धिमा लाग्न निर्देशन दिए ।

अपराध नियन्त्रण, फरार प्रतिबादी पक्राउ, लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा कडाइका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका बाँस्तोलाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here