अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

0
74

डुम्रे,

तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको हो ।

बालबालिकाको कक्षा ग्रेड वृद्धि हुने क्रममा अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

“सुरुआतमा नै कक्षा ५ सम्म सञ्चालन गरेका थियौँ, त्यसपछि अभिभावकविहीन बालबालिका थप अध्ययनका लागि कहाँ जाने भन्ने भएपछि कक्षा वृद्धि गर्ने योजना भएको हो, यसरी शिक्षाको ज्योतिबाट नै बञ्चित गराउनु हुँदैन भनेर कक्षा बढाउँदै अगाडि बढ्ने र कक्षा १० सम्म यही विद्यालयमा पठनपाठन गर्ने वातावरण बनाउनेछौँ”, न्यौपानेले भन्नुभयो, “एसइईसम्म अध्ययन गर्ने ठाउँ बनाइदिएपछि १० जोड दुई पार्टटाइम काम गरी पठनपाठन गर्ने वातावरण बनाउन सकिन्छ भनेर योजना बनाएका हौँ ।”

विपन्न, असहाय बालबालिकालाई पनि विद्यालयमा भर्ना लिन अनुरोध आइरहेको छ, तर हामीले नगरपालिकाको खर्चबाट सकस भएकाले अभिभावकविहीन बालबालिकालाई मात्रै राख्ने वातावरण बनाएका उहाँले बताउनुभयो । यस विद्यालयमा अभिभावकविहीन बालबालिकालाई आवासीयरूपमै खाने, बस्नेसहित अध्ययनको व्यवस्थापन गरिएको छ ।

विद्यालयको व्यवस्थापन, बालबालिकाको खाना, आवास, लत्ताकपडा, विद्यालयमा कर्मचारी व्यवस्थापन गर्दा एक वर्षमा पूर्वाधार व्यवस्थापनबाहेक करिब रु ६० लाख खर्च हुने गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । “यसको व्यवस्थापन नगरपालिकाले आफ्नै आन्तरिक आयबाट मात्रै व्यवस्थापन गर्दै आएको छ, सकस त भएको छ, यहाँभन्दा कहाँ जाने र माग्न ?, अभिभावकविहीन बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित हुनुभएन भन्ने मेरो धारणा हो”, उहाँले भन्नुभयो ।

खर्च अधिक भएकाले अन्य बालबालिकालाई अध्ययनका लागि राख्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । चौवालिस बालबालिकालाई राखेर विसं २०७९ भदौ ५ गतेदेखि नगरपालिकाले व्यास–७ सिषमटारस्थित व्यास नगर समता विद्यालय स्थापना र सञ्चालन गरेको हो । यस विद्यालयमा अध्ययनका लागि विपन्न बालबालिका भर्ना हुन आए पनि राख्न सक्ने अवस्था भने नरहेको बताइएको छ ।

समता विद्यालयमा कुल शिक्षक र कर्मचारी गरी नौ जना रहेका छन् । चार शिक्षकमध्ये दुई स्थायी र दुई करारका रहेका विद्यालय व्यवस्थापन समिति सदस्य विजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना करारमा राखिएको छ । त्यस्तै कार्यालय सहयोगी तीन जनामध्ये एक स्थायी र दुई करार तथा एक जना वार्डेन करारमा राखिएको छ ।

त्यस्तै नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमनको कमी भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । अनुगमनमा समस्या र कमजोरी भएकाले सुधारका लागि पूर्वशिक्षक नारायणदत्त पौडेलको संयोजकत्वमा शैक्षिक गुणस्तर सुधार अनुगमन समिति गठन गरिएको छ । उक्त समितिले नगरपालिकाभित्रको शैक्षिक गुणस्तर वृद्धिका लागि अध्ययन गरी समाधान र विकास गर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here