पशुमा अज्ञात रोगको सङ्क्रमण

0
155

त्रिशूली,

नुवाकोटको सूर्यगढी गाँउपालिकाको विभिन्न बस्तीका पशुमा अज्ञात रोगको सङ्क्रमण फैलिएको छ । एक साताअिघ वडा नं ४ को बेलडाँडा र अचानेमा देखापरेको रोग अहिले थप अरू वडामा समेत फैलिएको गाँउपालिकाका पशुसेवा प्राविधिक सुजु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुन रोग हो भन्ने पहिचान हुन नसक्दा नियन्त्रणका लागि कठिनाइ देखिएको छ । “अहिले वडा नं ४ र ५ का विभिन्न बस्तीका किसानले पालन गरेका गाईगोरु र भैँसीमा फैलँदै गएको छ”, पशु सेवा प्राविधिक श्रेष्ठले भन्नुभयो, “केही गाईगोरुको मृत्यु भइसकेको छ, एक सय हाराहारीमा बिरामी परेको जानकारीमा आएकाले रोग थप फैलन नदिन लागेका छौँ ।”

गाईगोरु र भैँसीको जीउमा डाबर आउने, खुट्टा सुन्निने, घाँसपानी नखाने, झोक्राइरहने, उठ्न नमान्ने लगायतका लक्षण देखिएका छन् । बिरामी र मृत्यु भएका पशुको नमूना सङ्कलन गरेर परीक्षणका लागि आइतबार काठमाडौँ (केन्द्रीय प्रयोगशाला) पठाइए पनि नतिजा आउन बाँकी रहेको गाँउपालिकाका अध्यक्ष सन्तमान घलेले बताउनुभयो ।

उहाँका अनुसार रोग नियन्त्रणका लागि गाँउपालिकामा रहेका पाँच प्राविधिकसहित जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिकलाई रोग प्रभावित क्षेत्रमा खटाइएको छ । “किसानले पालन गरेका पशुधनको रक्षाका लागि रोग नियन्त्रणमा गम्भीर भएर लागेका छौँ”, अध्यक्ष घलेले भन्नुभयो, “नमूना परीक्षणको नतिजा आउन ढिलो भइरहेकाले थप फैलन नदिन प्रयास जारी राखेका छौँ ।”

पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा बब्लु ठाकुरका अनुसार अहिले देखा परेको रोग पशुको छालामा लाग्ने लम्पीसँग मिल्दोजुल्दो देखिएको छ । सोहीअनुसार रोकथाम र फैलन नदिन प्रयास जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here