स्थानीय तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

0
167

महोत्तरी,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गर्नुभयो ।

“जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ” रिजालले भन्नुभयो, “स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।” प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले अब दलहरुका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरुपको काम देखिनपर्ने उल्लेख गर्नुभयो ।

“अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरुको प्रयत्न देखिनपर्छ” रिजालले भन्नुभयो, “अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ ।”

एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो ।

“जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनपर्छ”, रिजालले भन्नुभयो, “सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन ।” भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here