ट्राफिक प्रहरीको ध्यान राजश्व असुलीमा मात्रै

0
65

झापा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सवारी दुर्घटना न्यूनीकरणभन्दा राजश्व संकलनमा बढी केन्द्रित हुन थालेको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न प्रवीण जोशी ज्ञावाली आएसंगै उनको पहिलो ध्यान नै दुर्घटना न्यूनीकरणमा भन्दा राजश्व संकलनमा बढी केन्द्रित देखिएको हो ।

अहिले काँकरभिट्टादेखि तारावारी ढाटसम्ममा खटिएका ट्राफिक प्रहरीलाई चेकिङका नाममा कार्यालयले दिइएको लक्ष्य अनुसारको रकम उठाउन हम्मे–हम्मे पर्ने गरेको एक अधिकारीले बताए । उनले भने– ‘अफिसले राजश्वको लक्ष्य दिएको हुन्छ, त्यो पूरा नगरी सुख छैन । काँकरभिट्टामा चिट काटेर हिँडेको मानिसले कतिठाउँमा त्यो चिट देखाउने । अनि उसलाई हामीले चेकिङका नाममा कति पटक रोकेर दुःख दिने ।’

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नियम उल्लङ्घनका नाममा प्रहरी चिट काट्न व्यस्त रहेको प्रहरी अधिकारी नै बताउँछन् । जति धेरै राजश्व संकलन गर्न सक्यो त्यति नै प्रहरी सक्रियता देखिने भन्ने प्रहरीको कामचलाउ परम्पराका कारण झापामा दुर्घटना बढ्नुका साथै नागरिकले अनावश्यक झञ्झट व्यहोर्नुपरेको सर्बसाधारणले गुनासो गरेका छन् ।

ट्राफिक प्रहरीले सक्रियता देखाउने नाममा प्रत्येक बिटलाई न्यूनतम् मासिक सात लाख रुपैयाँ राजश्व संकलन गर्नैपर्ने बाध्यकारी नियम लगाएको बताइएको छ । यस्तो नियमका कारण ट्राफिक प्रहरी निरीक्षक ज्ञवालीले सर्बसाधारणलाई मात्र होइन मातहतका सबै प्रहरी कर्मचारीलाई हैरानी दिने गरेको आरोप छ ।

चालू आर्थिक वर्षको बैशाख अन्तिम सातासम्ममा ७१ जना पुरुष, २० जना महिला, २ बालक र ४ जना बालिका गरी ९७ जनाले ज्यान गुमाई सकेका छन् । दुर्घटनामा एक सय ४९ जना सख्त घाइते र ९ सय १३ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारी मात्रै ६ सय ५७ वटा रहेका छन् ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार वैशाख महिलामा मात्रै दुर्घटनामा ५ जनाले ज्यान गुमाए । त्यस्तै चैत महिनामा ७ जना, फागुनमा १०, माघमा ७, पुस महिनामा १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मंसीरमा ११, कात्तिकमा ९ जना, असोजमा १६, भदौमा ५ र साउनमा १२ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये मोटरसाइकल चालक धेरै छन् । जसको प्रमुख कारण मोटरसाइकल चलाउन दक्ष नभएकाहरुलाई ‘ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय’ को सेटिङमा सवारी चालक अनुमति–पत्र (लाइसेन्स) प्रदान गर्नु पनि एक रहेको बताइएको छ ।

ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा झण्डै तीन करोड रुपैयाँ राजश्व संकलन गरेको छ । ट्रक, टिपर, बस, जिप, कार, भेन, ट्याक्टर, मोटरसाइकल, टेम्पो, अटो, सीटी रिक्सा, सफारीसहितका साधनलाई कारवाही गर्दा २ करोड ९६ लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो वैशाख महिनामा मात्रै २९ लाख ७२ हजार ५०० र चैत महिनामा ३२ लाख ४० हजार रुपैयाँ राजश्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रहरी प्रमुखका रुपमा ज्ञवाली आएसंगै उनले राजश्व संकलनलाई जोड दिएको बताइएको छ ।

त्यसो त ट्राफिक सचेतनाका कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । शहर केन्द्रित कार्यक्रम गर्दा ग्रामीण क्षेत्रका नागरिकले त्यसको सदुपयोग गर्न नपाएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश ग्रामीण क्षेत्रका हुने गरेको बताइएको छ । सवारी दुर्घटनामा जनको क्षतिको चर्चा बढी हुने गरे पनि धनको समेत उत्तिकै क्षति हुने गरेको छ । तर, त्यसतर्फ कसैको चासो नगएको बताइएको छ । अझ ट्राफिक प्रहरीले त्यसतर्फ ध्यान नदिएको बताइन्छ ।

अस्तव्यस्त सडक

ट्राफिक व्यवस्थापनमा चासो नदिँदा सडक समेत अस्तव्यस्त हुने गरेको छ । सवारी साधनको उचित पार्किङको व्यवस्थापनमा स्थानीय पालिकासँग समन्वय गर्दै अघि बढ्नु पर्नेमा ट्राफिक प्रहरी चिट काट्नमा नै व्यस्त हुँदा सवारी आवागमन अस्तव्यस्त हुने गरेको हो । बिर्तामोड, भद्रपुर, काँकरभिट्टा दमक लगायतका शहरी क्षेत्रमा उचित पार्किङको व्यवस्था नहुँदा सवारी साधन सडक किनारमा नै पार्किङ गर्ने गरिएको छ । सडक किनारमा नै सवारी पार्किङ हुँदा पैदल यात्रीलाई हिँड्डुलमा समेत सकस पर्ने गरेको छ भने दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको छ ।

शहरी क्षेत्रमा जथाभावी रुपमा गुड्ने सिटी सफारी, टेम्पो लगायतका तीन पाङ्ग्रो तथा दुई पाङ्ग्रे सवारीले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको छ । सवारी चालकलाई ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरे पनि उक्त अभियान कर्मकाण्डीमा नै सीमित हुँदा दुर्घटनाको जोखिम अझ बढेको बताइएको छ । ट्राफिक प्रहरीले कारावाहीलाई चिटको भरमा छाड्ने गरेकाले पनि चालकको लापरवाही झनै बढेर गएको छ ।

अनुदानका ट्याक्टरबाट मासिक असुली

कृषि प्रयोजनका लागि अनुदानमा भित्रिएका ट्याक्टरहरुलाई निर्माण सामग्री ओसारपसारमा प्रयोग गरिँदा ट्राफिक प्रहरीलाई मालमाल हुने गरेको छ । निर्माण सामग्री ओसार्ने ट्याक्टरबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

ट्याक्टरको क्षमतालाई डेढा बनाएर सामग्री बोक्न दिए बापत ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्ने गरेका बताइन्छ । निर्माण सामग्री गिटी, वालुवा, ढुङ्गा बोक्ने ट्याक्टरबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको स्रोतले जनाएको छ । निर्माण सामग्री नछोपी सडकमा सवारी सञ्चालन गरिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको स्वयम् ट्राफिक प्रहरीहरुले बताउँदै आएका छन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ज्ञवालीले आफूहरुको पहिलो काम नै ट्राफिक व्यवस्थापन भएको बताएका छन् । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि काम भइरहेको बताए पनि उनी मातहतका कर्मचारीले राजश्व संकलनलाई प्राथमिकतामा राखेको बताउनुले ट्राफिकको काम दुर्घटना न्यूनीकरणभन्दा राजश्व संकलनमा केन्द्रित रहेको पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here