चीनमा जन्मदर घटेसँगै बालबालिकाका लागि आवश्यक सामग्री उत्पादन गर्ने कम्पनीलाई धक्का

0
30

चीन,

चीनका दम्पतीहरूलाई सन् २०१५ अगाडिसम्म एकभन्दा बढी सन्तान जन्माउने अनुमति थिएन ।

सन् १९८० को दशकदेखि नै चीनमा ‘एक सन्तान नीति’ लागू गरिएको थियो, जसकारण एकभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई कारबाही गरिन्थ्यो । चीनले बढ्दो जनसंख्या देशको विकासमा बाधक बन्न सक्ने अनुमान गर्दै यो नीति लागू गरेको थियो ।

पछि सन् २०१६ मा एक सन्तान नीतिलाई हटाइयो । अब भने चीनमा एक दम्पतीले तीन सन्तानसम्म जन्माउन पाउँछन् । अर्थात् उनीहरूले एकभन्दा बढी सन्तान जन्माउने अधिकार प्राप्त गरेका छन् ।

यद्यपि, चीनमा बच्चाको जन्मदर निकै घटेको छ । जन्मदर घटेसँगै बालबालिकाका सरसामान उत्पादन गर्ने कम्पनीलाई घाटा हुन थालेको छ । जन्मदर नै घटेपछि दूधको बोतल, बेबी क्यारियरलगायतका सरसामानको माग घटेको देखिएको छ ।

त्यसैले यस्ता कम्पनीहरूले व्यवसायमा टिकी राख्न फरक तरिकाले सोच्न थालेका छन् । सांघाई चिल्ड्रेन्स क्लोथिङ ब्रान्ड नाटु नाकिड्सले अहिले अभिभावक(बच्चाका उस्ताउस्तै देखिने पोशाकहरू उत्पादन गर्न थालेको छ ।

नाटुनाकिड्सका सीईओ यान झाङ यस विषयमा भन्छिन्, ‘अहिले हामीसँग अभिभावक–बच्चाका पोशाकहरू धेरै छन् । पहिले यस्ता कपडा बालबालिकाका लागि मात्र बनाइन्थ्यो भने अहिले अभिभावकका लागि पनि त्यस्तै कपडा बनाउन सुरु गरेका छौँ । घट्दो जन्मदरबारे सोचेरै हामीले बच्चा वयस्क दुवैलाई मिल्ने कपडा बनाएका छौँ । वयस्कको कपडा बिक्री पनि अहिले निकै राम्रो भइरहेको छ । विस्तारै हामी जनावरका पोशाक पनि बनाउने सोचमा छौँ ।’

बालबालिकाको संख्या कम हुँदा पनि रचनात्मक लुगा बनाइँदा त्यो बच्चासँगै उनीहरूका अभिभावकले किन्ने भएकाले यसले बालबालिकाका पोशाक बनाउने उद्यमलाई असर नगर्ने विश्लेषण भइरहेको छ । सन् १९८० देखि २०१५ को बीचमा लागू गरिएको एक सन्तान नीतिले चीनमा ठूलो मात्रामा जनसांख्यिकीय खाडल खन्यो । त्यहाँको सरकारले सन् २०२१ यता तीन बच्चासम्म जन्माउने नियम बनाएका छन् । तर, कोभिडको समयमा दम्पतीहरू बच्चा जन्माउन अनिच्छुक देखिए ।

देशको जनसंख्या ६ दशकमा पहिलोपटक गत वर्ष घट्यो । अब जनसंख्यामा लामो समय गिरावट आउने अनुमान नै गरिएको छ । महँगीका कारण पनि महिलाहरू बच्चा जन्माउन अनिच्छुक देखिएको बताइएको छ । भारतले अहिले चीनलाई जनसंख्यामा पछाडि पारिसकेको छ । जसकारण जनसंख्या बढाउन चीनले अहिले बच्चा पाउने महिलालाई उपहार दिने कार्यक्रम सार्वजनिक गर्न थालेको छ ।-रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here