लिभिङ टुगेदर सम्बन्धित छुट्टै कानून आवश्यक

४ जेष्ठ २०८०, बिहीबार मा प्रकाशित

मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले कुनै पुरुष र महिलाबीच कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ भन्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा ६८ ले विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ भनेको छ । तर, नेपालको कानूनमा लिभिङ टुगेदरको बारेमा कुनै प्रकारको व्याख्या गरेको छैन । कानूनमा त्यस्तो कुनै व्यवस्था नभए पनि नेपालमा लिभिङ टुगेदर बस्ने प्रवृत्ति दिन प्रतिदिन बढ्दै गएको छ ।

दुई वा दुईभन्दा बढी व्यक्तिहरु आफ्नो मञ्जुरीले एकअर्कामा दायित्वहरुको निर्भरताको लागि सहवासको अनुमतिसहित सँगै बस्नु नै लिभिङ टुगेदर हो । सामान्यतयाः सँगै बस्नु र लिभिङ टुगेदर सरह सँगै बस्नुमा केही कुराहरु फरक भने हुने गर्दछ । जस्तैः लिभिङ टुगेदरमा सहवासको समेत सहमति हुने गर्दछ । जसको कारण लिभिङ टुगेदरलाई अस्थायी विवाहसरह मान्यता दिई यसको दर्ता गर्न कानून बनाउनु पर्दछ भन्ने समेत आवाज पछिल्लो समय उठिरहेको छ ।

नेपालको प्रचलित कानूनको परिभाषालाई विश्लेषण गर्ने हो भने विवाह र लिभिङ टुगेदर एउटै होइन । लिभिङ टुगेदरलाई समावेश नगरेको भएता पनि मुलुकी देवानी संहिता, २०७४ कै दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छ भन्ने कुराले कतै लिभिङ टुगेदरलाई प्रोप्साहित गरेको हो की भन्न सकिन्छ ।

नेपालमा लिभिङ टुगेदरसँग सम्बन्धित छुटै कानून बनिसेकेको छैन, तर मुलुकी देबानी संहितामा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छ भन्नुलाई लिभिङ टुगेदरलाई पनि फरक भाषामा समेट्न खोजेको हो की भन्ने भान हुन्छ । यसरी जन्मिएका हरेक शिशु लिभिङ टुगेदरकै सम्बन्धबाट जन्मिएको हुन्छ भन्ने परिकल्पना गर्नु चाहिँ हुँदैन । कतिपय अवस्थामा महिला यौन शोषणमा परेको बेलामा वा कुनै पुरुष वा महिलाले यौन तृष्णा मेटाउनका लागि एकअर्कासँग यौन सम्बन्ध राख्दा वा प्रेम सम्बन्धमा यौन सम्पर्क राख्दा समेत शिशु जन्मिने अवस्था हुन सक्दछ ।

शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भइसके पश्चात त्यस्तो सम्बन्ध कानूनी रुपमा स्वतः विवाहमा परिणत हुने भएकाले शारीरिक सम्पर्कबाट जन्मिएको शिशुको कानून बमोजिमको अधिकारमा कुनै असर पर्दैन । लिभिङ टुगेदरमा सँगै बस्दा सहजता भएता पनि सम्बन्ध बिग्रदै गएको अवस्थामा यसले धेरै जटिलताहरु ल्याउन सक्दछ । लिभिङ टुगेदरको शुरुवाती अवस्थामा सम्बन्ध राम्रो भएर सहमतिमै यौन सम्पर्क राखेको आवस्थामा पछि सम्बन्ध बिग्रदै गएको आवस्थामा भने यसरी नै राखिएको यौन सम्बन्ध नै जटिलताको एउटा कारण बन्न जान्छ । लिभिङ टुगेदरबाट पुरुषभन्दा महिलाहरु धेरै पीडित छन् ।

सधैँ सँगै बस्ने र पछि विवाह गर्ने सहमतिमा यौन सम्पर्क राखी सके पश्चात महिला गर्भवती भएको अवस्थामा पुरुष महिलालाई छोड्ने जस्ता घटनाहरु घटन सक्छन् । लिभिङ टुगेदरमा रहेको आवस्था बनाएका भिडियो र खिचिएका फोटोहरु प्रयोग गरी बिभिन्न आपाराधिक घटनाहरु समेत घटन सक्छ । यति मात्र होइन लिभिङ टुगेदरमा सम्बन्ध राम्रो भएसम्म यौन सम्पर्क गर्ने र सम्बन्ध बिग्रिएपछि त्यही यौन सम्पर्कलाई जबरजस्ती करणीको संज्ञा दिई उजुरी गर्ने जस्ता बिषयहरु पनि सार्वजनिक भएका छन् ।

देशमा लिभिङ टुगेदरसँग सम्बन्धित कानून नभएकै कारणले यस्तो सम्बन्धबाट पीडित पुरुष वा महिलाले कानूनी उपचार पाउने व्यवस्था छैन । कानूनी व्यवस्था नभएकै कारणले यस्तो सम्बन्धबाट पीडितहरुले आधिकारिक रुपमा कहिँ कतै उजुरी दिने ठाउँ छैन । तर, महिलाहरुको हकमा भने महिला आयोगले यस्तो विवादहरुको समाधन गर्नका लागि उजुरी दर्ता गर्ने र अनुसन्धान गर्ने गरेको पाइएको छ ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अन्तर्गत यस किसिमको सम्बन्धबाट पीडित हुनेहरुले प्रहरी कार्यालय वा महिला आयोग वा स्थानीय तह अन्तर्गत पीडित बसोबास गरेको वा पीडक रहेको वा घटना भएको गाउँपालिका वा नगरपालिका वा नगरपालिकाको वडा समितिमा समेत उजुरी दिने गरेको पाइन्छ । साथै सोही ऐनमा पीडितले चाहेमा सोझै सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन सक्ने व्यवस्था समेत गरेको छ । अन्त्यमा सरकार तथा सम्बन्धित निकायले लिभिङ टुगेदर सम्बन्धी कानून बनाउनको लागि पहल आवश्यक छ । विश्वका विभिन्न देशमा भने लिभिङ टुगेदर सम्बन्धी कानून बनेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here