सक्कली शरणार्थीसँग छैन परिचयपत्र

0
104

पार्थ मण्डल,
झापा।

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सेक्टर सी ४ घर नम्बर ८५का ५५ वर्षीय मधुलाल चापागाँई शरणार्थी शिविरमा आएको ३० वर्ष भएको छ । चापागाईँले शरणार्थीको परिचयपत्र प्राप्तिका लागि सन् २००७मा १२ जनाको परिवारसँगै फोटो खिचाए ।

११ जनाले परिचय–पत्र गरे तेस्रो मुलुक पुगी सकेका छन् । छानबिनमा रहेको भन्दै चापागाँईले अझै पनि शरणार्थीको परिचय पाउन सकेको छैन । उनी जस्तै शिविरमा कतिपय शरणार्थीहरूको परिचयपत्र अझै बनेको छैन । परिचयपत्र विहीन भएर उनीहरू शिविरभित्रै कष्टकर जीवन बिताउन बाध्य बनेका छन् ।

परिचयपत्र प्राप्तिका लागि हामीले बराबर सरकारसँग हारगुहार ग¥यौँ । ‘तर, आजसम्म हाम्रो मागको सुनवाइ कहीँ कतैबाट भएन, शिविरमै बस्न बाध्य भयौं’– चापागाँईले भने । ‘व्यक्तिले एक्लै निवेदन लिएर जाँदा सम्बन्धित निकायले एक्लैको हुँदैन भनी फर्काई पठाउँछ’– उनले भने– ‘समूह बनाएर जाँदा पनि परिचयपत्र पाएनौँ ।’ परिचयपत्र प्राप्तिका लागि गरिएको दर्ता नम्बरसहित लेटर अझै पनि हामीसँग सुरक्षित रहेको उनको भनाइ छ ।

यस्तो अवस्थामा सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटानी शरणार्थीको नाम बेचेर नक्कलीलाई तेस्रो मुलुक पठाउने घटनामा लागेकोले त्यस्ता व्यक्तिहरूलाई कानून बमोजिम कारबाही गरी समस्यामा परेकालाई सहयोग गर्न उनीहरूले सरकार समक्ष माग समेत राखेका छन् । भुटानले नेपालमा अब भुटानी छैनन् भनेर गरिरहेको दाबीलाई हालै बाहिरिएको नक्कली शरणार्थी भ्रष्टाचारको प्रकरणले सक्कली शरणार्थी थप समस्या परेको देखिन्छ ।

खडानन्द भण्डारी २००८ सालदेखि शिविरमा बस्दै आएका छन् । उनको बुबा र आमाको शिविरमै निधन भयो । तर, उनी अझै पनि तेस्रो मुलुक जान पाएनन् । परिचयपत्र नबन्दा उनी निराशा छन् । ‘काम गर्न बाहिर जान पाइँदैन, काँकरभिट्टा बोर्डर कटेर भारत छिर्ने आदेश पनि छैन’– उनले भने– ‘अब शिविर नै एक मात्र सहारा बन्यो, यही मर्नुबाहेक अन्य विकल्प रहेन ।’ परिवारका सदस्य विदेश पुगिसके । ढिलो चाँडो विदेश गइन्छ कि भनेर मन थामेर बसेको । नक्कली शरणार्थी प्रकरणको घटना सुन्दा यहाँ बसेकाहरूको अब के होला भनेर चिन्तित बनेको उनको भनाइ छ ।

शिविर सेक्टर सी ३ घर नम्बर ३६९ एका विजय सुनारको परिवार पनि विदेशी पुगिसकेका छन् । २००७ सालमा परिचयपत्रका आवेदन भरेका उनले अझै परिचयपत्र पाउन नसकेको गुनासो पोखे । परिचयपत्र नपाउँदा हामी वर्षौँदेखि पीडित रहेको बताउँदै उनले भने– ‘भोलि केही कतै भइहाल्यो भने हाम्रो परिचयको कुनै आधार प्रमाण नै छैन कि शरणार्थी हुँ भनेर र ।’

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाही गर्दै खाटी भुटानीहरूको समस्या समाधानमा सहयोग गर्न सरकार समक्ष चार बुँदे माग अघि सारेका छन् ।

सोमबार समितिका कार्यवाहक अध्यक्ष तिलक राईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, हालै गरै भुटानी बनाएर तेस्रो मुलुक लैजान ठूलो धनराशिको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरुसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकाको आरोपलाई पुष्टि हुने गरी सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले हामी खाटी भुटानीहरूलाई गम्भीर असर पु¥याएको छ । यस कार्यप्रति हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।

स्वदेश फिर्ती र परिवारको मिलनको आशामा जीवन बिताइरहेका साढे ६ हजार भुटानी शरणार्थीहरू र खाटी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राख्दै शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र पाएका छैनन् । नवीकरण भएको परिचय–पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाटी भुटानीहरू परिचय–पत्र विहीन हुने अवस्था सृजना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाटीलाई भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ । तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचयपत्र अविलम्ब वितरण गर्न विज्ञप्तिमा माग गरिएको छ ।

त्यस्तै भुटानी शरणार्थी समस्या दीर्घकालीन रुपमा समाधान गर्नको लागि सरकारले अन्तर्राष्ट्रिय समुदाय, विश्व मान्यता प्राप्त शरणार्थी सम्बन्धी विज्ञ संस्था, भुटानी शरणार्थीको आधिकारिक प्रतिनिधि र भुटान सरकारबिच बहुपक्षीय वार्ताको लागि सहजीकरण गरी वार्ताको वातावरण शीघ्र सिर्जना गरियोस्, शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गरियोस्, जसले गर्दा भुटान सरकारले हामीमाथि लगाएको आरोप मिथ्या हुन सकोस् र निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शीघ्र छानबिन गरी खाटी भुटानीहरूलाई शरणार्थी दर्जा प्रदान गरी पञ्जिकरणको मुद्दालाई समयमै फछ्र्याैट गरियोस् भनी जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here