शिवसताक्षीका विद्यालयमा अनुगमन : खातामा भएका विद्यार्थी कोठामा छैनन्

५ जेष्ठ २०८०, शुक्रबार मा प्रकाशित

विनोद सापकोटा,
झापा ।

शिवसताक्षी नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि छड्के अनुगमन सुरु गरेको छ ।

विद्यालय समयमा शिक्षक नपुग्ने, ढिला गरी पुगेका शिक्षकले विद्यार्थी नपढाउने, शैक्षिक गुणस्तरमा ध्यान नदिने जस्ता गुनासाहरु आएपछि छड्के अनुगमन सुरु गरिएको शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष भास्कर न्यौपानेको नेतृत्वमा वडाका तीन वटा विद्यालयको टोलीले अनुगमन गरेको थियो । सो वडामा तीन वटा सामुदायिक विद्यालय छन् । ‘अभिभावकले दिनहुँ प्रत्यक्ष भेटेर, फोन गरेर विद्यालयको विषयमा गुनासो गर्नुभएको थियो ।

उहाँहरुको गुनासोलाई तत्काल सम्बोधन गर्न सरोकार राख्ने निकाय संगको छड्के अनुगमन गरिएको वडा अध्यक्ष न्यौपानले बताए । उनले भने, ‘अभिभावकको जस्तो गुनासो थियो । अनुगमनका क्रममा त्यस्तै भेटियो ।’
बिहान १० बजे विद्यालय प्रवेश गरेकोे शिक्षकले हाजिर गर्ने समय, पढाउने शिक्षकहरुको तालिका, वार्षिक शैक्षिक क्यालेन्डर, प्रशासनिक अवस्थालगायत शैक्षिक गतिविधीका बारेमा वृहत रुपमा अनुगमन तथा निरिक्षण टोलीले गरेको थियो ।

यस्तै कक्षा कोठामा शिक्षक भए नभएको, विद्यार्थी उपस्थित भए नभएको, कक्षा ६ सम्मका बालबालिकाले समयमा खाजा पाए नपाएको, उनिहरुले प्रत्येक दिन खाने खाजाको विवरण माग्नुका साथै भौतिक पुर्वाधार, शिक्षक र विद्यार्थीले पोशाक लगाए नलगाएको बारेमा पनि अनुगमन भएको वडा अध्यक्ष भाष्कर न्यौपानले बताए ।

अनुगमन टोलीमा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि ढकाल पनि सहभागि थिए । कक्षा कोठामा शिक्षकले अध्यापन गराउँदै गरेको पाठ विद्यार्थीले बुझे नबुझेको समेत अधिकृत ढकालले विद्यार्थीलाई सोधेका थिए ।
अंङग्रेजी माध्यमका विद्यालयमा अध्यापन भइरहेका बेला शिक्षा अधिकारीले विद्यार्थीलाई साईन्स, मेथ लगायतका शव्दको स्पेलिङ भन्न लगाएका थिए । एउटा विद्यालयमा कक्षा ४ का सातै जना विद्यार्थीले साइन्सको स्पेलिङ गलत भनेका थिए ।

सो विद्यालयका शिक्षकले शिक्षकले मात्र विद्यालयमा पढाएर विद्यार्थी जान्ने हुन नसक्ने तर्क गरे । उनले भने,‘ ६ घन्टा शिक्षक संग भएको विद्यार्थी बाँकी रहेको १८ घन्टा त उसकै अभिभावक संग हुन्छ । उहाँहरुले पनि त आफ्नो नानीको ख्याल गर्नु पर्यो नी, होइन र सर ?’ अनुगमन टोलीले कुनै प्रतिकृया दिन चाहेन ।

विद्यार्थी बटुल्न कतिपय विद्यालयले सकि नसकी अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउन थालेका छन् । अभिभावकको मोह पनि आफ्ना नानीले अङग्रेजी माध्यमबाटै सबै कुरा सिकुन् भन्ने छ । तर, विद्यालयमा दक्ष जनशक्ति नहुँदा यसको प्रत्यक्ष सिकार बालबालिका भएका छन् ।

कक्षा कोठामा भेटिएका कतिपय शिक्षकले सरकारले दिएको पोशाक लगाएका थिएनन् । अनुगमन टोलीलाई विद्यार्थी स्वयमले कतिपय सर गुरुआमा विना पोशाकमै विद्यालय आउने जाने गर्ने गरेको सुनाए ।

अनुगमन टोलीले भानुमावि पाराबारीका २१ प्रतिशत विद्यार्थी अनुपस्थित भएको फेला पार्यो । विहीबार सम्ममा सो विद्यालयमा ३ सय ४० विद्यार्थी भर्ना भएको प्रधानाध्यापक विजय कुमार चौधरीले टोलीलाई सुरुमै जानकारी दिएको थिए ।विहीबार७१ जना विद्यार्थी विद्यालय नआएको टोलीले सुनाउँदा उनि छक्क परे । गत वर्ष सो विद्यालयमा ४ सय ५ विद्यार्थी थिए । यो शैक्षिक सत्रमा ६५ जनाको हाराहारीमा विद्यार्थी संख्या घटेको उनले अनुगमन टोलीलाई निर्धक्क बताए।

विद्यालयले हाल सम्म अभिभावक भेला बोलाएकै छैन ।‘अघिल्ला बर्षमा धेरै पटक बोलायौं । उहाँहरु आउनुनै भएन । त्यपछि बोलाउन छाड्यौ,’ उनले भने । एक शैक्षिक सत्रमा विद्यालयले कम्तिमा ६ वटा अभिभावक भेला वोलाउनु पर्छ ।
सामुदायिक विद्यालयमा भर्ना गर्ने र नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पनि सो विद्यालयमा छन् । ६ जना सम्म नीजि विद्यालय अध्ययन गर्न जाने विद्यार्थी भानु माविमा भर्ना भएका छन् । यसको मकसद बुझ्न टोलीलाई निक्कै हम्मे पर्यो ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वर्षेनी तल झर्नुको कारण विद्यालय, शिक्षक र अभिभावक वीचमा सामुहिक छलफल हुन नसक्नु अनुगमन टोलीको ठहर छ । विद्यालयले अभिभावक सग नियमित सम्पर्क नगर्दा विद्यार्थी विचैमा ‘ड्रपआउट’ हुने गरेको यथार्थ भानु माविले पनि पुष्टी गर्यो ।

अनुगमनका क्रममासो विद्यालयमा दुई जना शिक्षक कारबाहीमा परेका थिए । उनिहरुको विहीबारको हाजिरी नगर शिक्षा अधिकारीले रद्द गरिदिए ।

भानु मावि भौतिक पुर्वाधारका हिसावले निक्कै पछि परेको छ । सिधा माथि आकास देखिने कक्षा कोठा छन् । वर्षातका बेला कक्षा कोठामा सिधै पानी पर्छ । विद्यालयको खेल मैदान पनि सम्म छैन । ठाँउ ठाँउमा भएका खाल्डाका कारण विद्यार्थीले धौ फुकाएर खेल्न पाएका छैनन् ।

सो वडाको अर्को पाथिभरा प्राथमिक विद्यालयमा ५५ प्रतिशत विद्यार्थी अनुपश्थित थिए । प्रधानाध्यापक बलीराम तामाङ्गले बिहीबार विहान पानी परेकाले विद्यार्थी विद्यालय नआएको बताए । तर, स्थानिय अभिभावकका अनुसार दिनहुँ विद्यालय आउने विद्यार्थीको संख्या यति नै हो । विद्यालयको तथ्याँकमा ८१ जना विद्यार्थीको नाम हाजिरी पुस्तिकामा छ । तर, ४५ जना मात्र विद्यार्थी विद्यालय आएका थिए । ‘हामीले पटक पटक अभिभावकको घरैमा पुगेर नानीलाई विद्यालय पठाउन अभिभावकलाई अनुरोध गर्छो । तर, नानी विद्यालय आउँदैनन् ।’

शान्ति आधारभुत विद्यालयमा अनुगमन टोली पुग्दा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टराई कोदालो लिएर विद्यालय हातामा जमेको पानी किनारा लगाउदै थिए । विद्यालय पोशाकमा नरहेका प्रधानाध्यापक भट्टराईलाई अनुगमन टोलीले सोध्यो सर तपाईँले पोशाक किन लगाउनु भएन ? ‘हेडसर’ले सहजै जवाफ दिए विद्यालयको कामले एक पटक नगरपालिका र दमक गएको थिए । बेलैमा काम सकिएपछि पुन विद्यालयमा आएर विद्यालयको मैदानमा जेमेको पानी किनारा लगाउँदै छु ।’

सो विद्यालयमा १८५ जना विद्यार्थी अध्ययनरत छन् । तर, विहीबार ८३ जना विद्यार्थी अनुपस्थित रहे । विद्यालयको रेकर्ड अनुसार कक्षा १ मा २५ मा ८, २ मा २१ मा १०, ३ मा २३ मा ११, ४ मा २३ मा ११, ५ मा २४ मा ९, ६ मा १८ मा ७, ७ मा २४ मा १४ र ८ मा २४ मा १३ विद्यार्थी विद्यालयमा अनुपस्थित रहे । शान्ति आधारभुतमा ४५ प्रतिशत विद्यार्थी अनुपस्थित थिए ।

सो विद्यालयमा ४ जना शिक्षक शिक्षिका नगर शिक्षा अधिकारीको कारबाहीमा परेका थिए । उनीहरुको हाजिरी पुस्तिकामा शिक्षा अधिकारीले रातो मसी लगाएर गयल गरेका थिए ।

अनुगमन टोेलीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे निरिक्षण पनि गरेको थियो । कक्षाकोठा, विद्यालयको भौतिक संरचना, शिक्षण सिकाईको अवस्था, सुरक्षित पिउने पानी, शौँचालयलगायत को पनि अनुगमन गरेको थियो ।

शिवसताक्षी नगरमा विद्यालयको भौतिक पुर्वाधार पर्याप्त भएपनि शैक्षिक गुणस्तरमा भने अझ बढी कसरत गर्ने पर्ने देखिएको छ । विद्यालय, शिक्षक, अभिभावक र स्वयम विद्यार्थीले शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय भएर लाग्नुको विकल्प नरहेको नगर शिक्षा अधिकारी ढकालले बताएका छन् ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ढकालले विद्यालयको शैक्षिक सुधारका लागि पछिल्लो समय गरिएको सैद्धान्तिक प्रयासलाई विद्यालयमा लागू भएको छ की छैन भनेर पनि अनुगमन तथा निरिक्षणगरिएको जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि शिक्षक, विद्यार्थी, प्रशासन र विद्यालय व्यवस्थापनबीचको अवस्थाका बारेमा छड्के अनुगमनका क्रममा विशेष रुपमा निरिक्षण भएको उनले बताए ।

शिक्षा शाखाले आगमी दिनमा पनि निरन्तर छड्के अनुगमन जारी रहने बताएको छ । नगरपालिकाले दुधेमा बुधबार देखि आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका पादधिकारीहरुका लागि विद्यालय व्यवस्थापन तालिम आयोजना गरेको थियो । तालिममा सहभागि अधिकांसले विद्यालयमा अनुगमन नभएको गुनासो गरेपनि नगर शिक्षा अधिकारी दुई दिने क्षमता विकास तालिम छोडेर विद्यालयको अनुगमन गर्न निस्केका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here