खानेपानीको बक्यौता नतिरेपछि मेचीनगरको धारा काटियो

६ जेष्ठ २०८०, शनिबार मा प्रकाशित

झापा, 

तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताउनुभयो । उहाँले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गर्नुभयो । “एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन”, उहाँले भन्नुभयो ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको बक्यौता रू छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो ।

“उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल ग¥र्यौं, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ”, समितिका अध्यक्ष पराजुलीले भन्नुभयो । मेचीनगर नगरपालिकाले खानेपानीको १४ धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ ।

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्र्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको रू एक हजार आठ सय भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताउनुभयो ।

उहाँले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताउनुभयो । “लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन सङ्घसंस्थाको यसै साता धारा काटिदिएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here