[भरत ढुंगाना]बाधा हो समाज, जब–जब तिमी सत्यको खोजी गर्न थाल्छौ । जब–जब तिमी सतमार्गको खोजी गर्न थाल्छौ । बाँध एकनास रोकिरहन्छ नदीलाई सायद् अजानकार भएर होला किनकि उसलाई थाह छैन कि एकदिन त्यही नदीको प्रवाहमा मैले बग्नुपर्छ भनेर । जब–जब म प्रेमको कुरा गर्छु घृणाको सागर छाल लिएर आउँछ र बगाउँछ मेरो प्रेमिल जगत । जब–जब म विश्व बन्धुत्वको कुरा गर्छु विखण्डनका पर्खालहरुले मलाई घेर्छन् । फूलहरु फुल्छन् प्रेमको सुवाश छर्न ।
लगामभित्र रहन चाहँदैन मान्छे । तर अरुलाई लगाम लगाउन चाहन्छ । केवल ऊ जान्दछ आफ्नो अस्तित्व । अरुको बगैंचा नष्ट गर्न चाहँन्छ किनकि उसले यति सिकेको छ समाजबाट जबसम्म अरु नष्ट हँुदैनन् तबसम्म मेरो अस्तित्व रहन सक्दैन । मान्छेको बच्चालाई ढलमा मिल्क्याएर कुकुरको बच्चालाई दुध खुवाउने मानव समाज खै कहिलेसम्म आफूलाई विद्वानको सूचिमा दर्ज गरिरहन्छ ? एक–एक मान्छे आफूलाई शासक सम्झन्छ र सबै मानिसहरु उसकै अपेक्षा अनुरुप चलुन्, यही उसको दुष्सोचाइलाई वास्तविक मानेर भ्रम र अंहकारको सिंढी उक्लन्छ ।
संसारका सत्यहरु भ्रमको साम्राज्यमा अप्रकाशित छन् । जसरी प्रकृतिमा फुलेका फूलहरु मिथ्या जगतले सिर्जना गरेका कागजी फूलहरुको छायाँमा भ्रम प्रतित भइराखेका छन् । जीवनको घाम अंहकारको बादलमा हराइराखेको छ । विद्वेशको दुर्गन्धित पोखरीबाट सुरम्य सरिताको परिभाषा केवल भ्रमको दस्तावेज बन्छ । विखण्डनको पर्खालभित्र एकताको नारा मूर्खहरुका हतियार हुन् ।
अघोषित कारागारका अदृश्य पर्खालका छिंडिबाट अनायास् भएको दृश्यदर्शनमा स्वार्थ, अहंकार र विलासिताका बहानहरु सडकमा यत्रतत्र गरिरहेका छन् । अस्तित्वबिहीन तस्बीरजस्तै लाग्ने मान्छेहरु बोकेर । ती दौडहरु हेर्दा लाग्छ, तिनीहरु गन्तव्यविहीन यात्रामा अनवरत दगुरिरहेका छन् । र उनीहरुलाई कुनै ज्ञान पनि छैन कि यो यात्राको टुंगिनी शून्य हो भनेर ।
आशक्ति र प्रेमको परिभाषा एउटै भएपछि प्रेमी मर्माहत हुन्छ । मानिसले गाउने प्रेम संगीत केवल आशक्तिको आलाप हो । प्रणयगीतका सत्यहरु त त्यहाँ हुन्छन् जहाँ सुसाइरहेछ नदी, जहाँ कलकल बगिरहेछ झरना, जहाँ चिरबिराइरहेछन् पंछीहरु । घाम, पानी र हावा मात्र होलान् सायद् समप्रेमका शास्वत् चिन्ह्हरु । किनकि त्यहीं मात्र सुरक्षित छन् जीवनका तमाम अवयवहरु ।
पहाड चढ्नु केवल चढ्नु मात्र होइन । किनकि चुचुरामा पुगेपछि झर्नु अनिवार्य शर्त हो । तर मान्छे जब पहाड उक्लिन थाल्दछ तब बिर्सन्छ चुचुरामा पुगेपछि ओर्लनु पर्छ भन्ने कुरा । किनकि उसले आफूस“गै अहंकारलाई पनि यात्रा गराइराखेको हुन्छ । जब जब हामी जीवनको मूल मन्त्रलाई भुल्छौँ तब जीवनको उचाइसँगै जीवनदीप मधुरो बन्दै जान्छ । जीवनको अन्त्यमा भोग्न साँचेर राखेका खुशीका सपनाहरु आँसुमा रुपान्तरित भएर झर्छन् नयनबाट, मनको बगैँचाका फूलहरु ओइलाएर झरिसकेका हुन्छन् पत्तै नपाई । उत्साह, उमंग र मुस्कानहरु छुटिसकेका हुन्छन् धेरै पर । बाँकी छन् त केवल कुन्ठा, र घृणा ।