झापा ।

एशियाली विकास बैंक (एडीबी) ले तीस करोड अमेरिकन डलर प्रदान गर्ने भएसँगै काँकरभिट्टा–लौकही (कोशी प्रदेश क्षेत्रभित्र) सडक विस्तार हुने भएको छ ।
विस्तारित सडक अन्र्तराष्ट्रिय स्तरको हुने र उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् । सडक चार लेनको हुनेछ । मनिलास्थित बैंकको प्रधान कार्यालयले गत बुधबार ऋण स्वीकृत गरेसंगै पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्ने निश्चित भएको हो ।
एडिबीले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका लागि एडीबीले ऋण उपलव्ध गराउने निर्णय गरेको हो ।
दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने बताइएको छ । काँकरभिट्टादेखि सुनसरीको लौकही सडकखण्ड अन्तर्गतको ९५ किलोमीटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिने छ । यसमा ६ वटा आधुनिक पुल सहित अन्य पुल निर्माण हुनेछन् ।
त्यस्तै झापाको चारआली र बिर्तामोड तथा सुनसरीको इटहरीमा अण्डरपास निर्माण गरिनेछ । यो आयोजनासँगै एडीबीले जलवायु परिवर्तन सुधार, सडक परियोजना, पर्फर्मेन्स इण्डिकेटरलगायत प्राविधिक सहयोगका लागि अतिरिक्त साढे सात लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ ।
उक्त सडक बिस्तारका लागि यस अघि नै बोलपत्र आव्हान भएर विभिन्न कम्पनीले निर्माणका लागि प्रस्ताव–पत्र समेत दर्ता गरिसकेका छन् । हाल पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगतको दुई लेन (क्यारिजवे) को सडकमा दैनिक १४ हजार सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन् । सन् २०४१ सम्ममा यो सडकमा ४८ हजार ८ सय सवारी साधन गुड्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ । निर्माण गरिने सडक मध्य भागमा विभाजित हुने छ । शहरी क्षेत्रमा सेवा लेन, फुटपाथ, साइकल लेन हुनेछ ।
परियोजनामार्फत, सुधार ज्यामिति, फुटपाथ, ढल निकास, सडक सुरक्षा र जलवायु तथा प्रकोप प्रतिरोधी सुविधाहरूसहित बढ्दो यातायातको मागलाई समायोजन गर्न सडकलाई दुई लेनको दोहोरो क्यारेजवेमा स्तरोन्नति गरिने भएको छ ।
सडक निर्माणका क्रममा हिँड्ने, साइकल चलाउने वा सार्वजनिक यातायातको प्रयोग गर्ने महिला र बालबालिकालगायत जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको सुरक्षामा सुधार गर्न जक्सनहरूमा ग्रेड पृथकीकरण वा ट्राफिक संकेत अपनाइनेछ । एडीवीले चरम गरिबी उन्मुलनका लागि विशेष कार्यक्रम गर्दै आएको छ ।































