झापा ।

ग्राहक अर्थात् बचतकर्ताले आफूसँग भएका रुपैयाँ पैसा तथा गहना बैकमा सुरक्षित हुने ठानेर राख्ने गर्छन् । तर, बैकका कर्मचारी नै विभिन्न प्रविधिको दुरुपयोग गरी ग्राहकको पैसा चोरी गर्न सक्रिय रहेको एक घटनाले अब बैंकमा ग्राहकको धनमाल कति सुरक्षित भन्ने प्रश्न उब्जाएको छ ।
सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।
एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए ।
पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अप्रेसन इञ्चार्ज बिराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९का २७ बर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रञ्जित पण्डित र टेलर इटहरी–२की ३० बर्षीय पवित्रा कटुवाल रहेका छन् ।
त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजूलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए ।
यसरी भयो ठगी…
प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कनेक्ट आइपीएस मार्फत् १४ नोभेम्बर २०२२देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत झिकेर हिनामिना गरेका थिए ।
बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको प्रहरी नायब उपरीक्षक राईले बताए ।
पक्राउ परेका कर्मचारीसहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए ।































