अर्जुनधारा ।
गत वैशाख तेस्रो साता काठमाण्डौंमा सम्पन्न भएको १३औं राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०७९को ट्रिपल जम्प खेलका स्वर्ण पदक विजेता खेलाडी राजिप ढुंगानालाई सम्मानित गरिएको छ ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले सोमबार स्वर्ण पदक विजेता खेलाडी एवम् विद्यार्थी ढुंगानाको सम्मानमा एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मानित गरेको हो ।
जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा छनौट भई स्वर्ण पदक जितेर खेलकुदको माध्यमबाट आफ्नो र विद्यालयको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको हुँदा विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक चेतामणि खनालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा उनलाई सम्मान पत्रसहित नगद पुरस्कार १५ हजार पाँच रुपैयाँ प्रदान गर्दै सम्मानित गरिएको थियो ।
प्रधानाध्यापक खनालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्वको सम्मान पत्र शिक्षक वसन्त भट्टराईले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन अर्का शिक्षक रुद्रप्रसाद खतिवडाले गरेका थिए ।
सम्मानित व्यक्तित्वलाई अर्जुनधारा नगरपालिकाको विभिन्न स्थानमा नगर परिक्रमा गराइएको थियो ।