संस्कृति जगेर्नामा अग्रसर बन्दै फाल्गुनन्द गाउँपालिका

0
88

युद्धबहादुर बोहोरा/पाँचथर ।

संस्कार र संस्कृतिको जगेर्ना गर्न फाल्गुनन्द गाउँपालिका अग्रसर बन्दै गएको छ ।

भाषा, संस्कार र संस्कृति बाँचे समाज बाँच्छ भन्ने कथनलाई वास्तविकतामा पुष्टि गर्न पालिकाभित्रका सबै जातिको सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसैबीच, पालिकाभित्रका सबै वडालाई समेट्दै ३५ जना खसआर्यले कर्मकाण्ड प्रवद्र्धन सम्बन्धी ज्ञान लिएका छन् । पालिकाको आर्थिक सहयोगमा वल्र्ड कम्युनिकेशन मिडिया नेटवर्क प्रालिको आयोजनामा आइतबारदेखि शुरु भएको कार्यक्रम मंगलबार समापन भएको हो ।

रीतिरिवाज र कर्मकाण्ड सिकाउँदै पुस्तान्तरण र संरक्षण गर्न सहायता पु¥याउने गरी थालिएको कार्यक्रममा प्रमुख अतिथि पालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिंह नेम्वाङको विशेष आतिथ्यमा उद्घाटन भएको थियो ।

समापनमा प्रमुख अतिथि अध्यक्ष आङ्देम्बे, विशेष अतिथि ५ नम्बर वडाका अध्यक्ष विष्णुकुमार चेम्जोङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मल अधिकारीसहित प्रशिक्षकद्वय पण्डित कमल भण्डारी र गोपाल घिमिरेले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

धर्मसंस्कार सम्बन्धी अन्तरक्रियासहितको प्रशिक्षणमा युवा–युवती, महिला र ८० वर्ष उमेरसम्मका अग्रजहरुको उपस्थिति रहेको आयोजक संस्थाका प्रतिनिधि कुमार खड्काले जानकारी दिए । संस्थाका प्रतिनिधि मनोज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि र प्रशिक्षकलाई थापाले मायाको चिनो र कदरपत्र प्रदान गरेका थिए ।

लिम्बू समुदाय र आदिवासी जनजातिको बाहुल्यता रहेको यस पालिकामा खसआर्यलाई पनि पालिकाले उत्तिकै सम्बोधन गरेको प्रति सहभागीहरु मध्येबाट सिकाईको अनुभव प्रस्तुत गर्दै रघुनाथ घिमिरे र सविना दुलालले खुशी व्यक्त गरे ।

पालिकाले खसआर्य मात्रै होइन सबै समुदाय र जातजातिको धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गर्न देखाएको चासो देशकै उदाहरणीय भएको प्रशिक्षक पण्डितद्वय अधिकारी र भण्डारीले बताउँदै जनप्रतिनिधि र पालिका परिवारलाई धन्यवाद दिए । यस कार्यलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउँदै निरन्तरता दिने पालिका अध्यक्ष आङ्देम्बेसहित अन्य अतिथिले प्रतिबद्धता जनाएका छन् ।

इलाम जिल्लासँग सिमाना जोडिएको यस पालिकामा २५ हजार जनसंख्या रहेको छ । जसमध्ये ५५ प्रतिशत लिम्बू, १५ प्रतिशत खसआर्य, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, पाँच प्रतिशत दलित र एक–एक प्रतिशत सुनुवार, मगर, नेवार तथा दुई प्रतिशत (माझी, कुमाल) लगायतका अल्पसंख्यक र अन्य जातिको बसोबास रहेको पालिकाको तथ्यांङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here