गायनतर्फ भूर्तेल र नृत्यतर्फ तामाङलाई उपाधि

0
93
अमित खम्बू
अर्जुनधारा,स्थानीयस्तरमा रहेका प्रतिभाको उजागर गर्ने उद्देश्यले आयोजित ‘अर्जुनधारा सिङगिङ् एण्ड डान्सिङ स्टार–२०७९’को उपाधि गायनतर्फ सञ्जिब भूर्तेल र नृत्यतर्फ आकृती तामाङले जितेका छन् ।
“नेपाली कला र संस्कृतिको पहिचान हाम्रो अभियान” भन्ने मुख्य नारासहित अर्जुनधारा–३ खुदुनावारीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको ग्रान्ड फिनालेमा गायनतर्फ अर्जुनधारा–६ निवासी भूर्तेल र नृत्यतर्फ अर्जुनधारा–२ निवासी तामाङले उपाधि जितेका हुन् ।
जितसँगै दुवै विधाका विजेताले जनही नगद पुरस्कार ३० हजारसहित प्रमाण पत्र र शिल्ड प्राप्त गरेका छन् । त्यसैगरी कार्यक्रममा नृत्य विधाकी विजेता तामाङलाई स्थानीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालयले कक्षा–११ र कक्षा–१२मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने विद्यालयका प्रबन्ध निर्देशक बालगोपाल गौतमले घोषणा गरेका थिए ।
त्यसैगरी गायनतर्फ द्धितीय यमुना तिवारी(अर्जुनधारा–८), तृतीय अभिषेक मगर     (अर्जुनधारा–१) र चौथो हविस भट्टराई(अर्जुनधारा–१०) भएका छन् । त्यस्तै नृत्यतर्फ अंकित कोइराला(अर्जुनधारा–६), विशेष चौधरी(अर्जुनधारा–५) र चौथो लुजा मगर(अर्जुनधारा–३) भएका छन् । दुवै विधाका द्धितीय, तृतीय र चौथो हुने सहभागीलाई जनही क्रमश नगद पुरस्कार २० हजार, १० हजार र तीन हजारसहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो ।
यता टप टेनमा पुग्न सफल दुवै विधाका सहभागीहरुलाई पनि सहभागिताको प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । ग्रान्ड फिनालेका निर्णायकहरु गायनतर्फ कमला नेम्वाङ र दिपक रायमाझी तथा नृत्यतर्फ अमन गुप्ता र राज लावती रहेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र टप टेनका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगितकार एवम् सनलाइट संगीत विद्यालयका सञ्चालक कृष्ण योञ्जन, अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, वडा सचिव खगेन्द्र लिङ्देन, अस्थायी प्रहरी चौकी खुदुनावारीका प्रमुख लोकबहादुर थापा, कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतम, युथ अफ खुदुनावारीका अध्यक्ष मनोज सिटौला, आयोजक केन्द्रकी उपाध्यक्ष लक्ष्मी आङदेम्बेलगायतले नगद तथा पुरस्कार वितरण गरेका थिए ।
आयोजक सा.रे.ग.म. कला केन्द्रका अध्यक्ष सन्तेष आले मगरको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई नगद तथा सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा प्याब्सन झापाद्वारा आयोजित गायन प्रतियोगिताकी विजेता अर्जुनधारा–३ निवासी दिया अधिकारी, पूर्वाञ्चल डान्स प्रतियोगिताकी विजेता अर्जुनधारा–९ निवासी लीसारा थापा मगर र ‘अर्जुनधारा सिङगिङ् एण्ड डान्सिङ स्टार–२०७९’की कम उमेरकी सहभागी अर्जुनधारा–२ निवासी समता श्रेष्ठ रहेका छन् ।
सोही कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन–२का सेकेन्ड रनरअप योगेश मगर, प्रथम माई नगरपालिकाकी आइडल शान्ता थेगिम लिम्बू, हास्य कलाकार राकेश कमेडीलगायतको प्रस्तुती रहेको थियो ।
अर्जुनधारा सचेत युवा समूह र डि वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड सहआयोजक रहेको उक्त प्रतियोगिताको अडिसन राउण्ड गत चैत २८ देखि शुरु भएको थियो । एक सय जना भन्दा बढीको सहभागीता रहेको प्रतियोगिताको फस्ट राउण्ड र सेमी राउण्डबाट ग्रान्ड फिनालेका लागि दुवै विधातर्फ टप टेन छनौट गरिएको आयोजक केन्द्रका अध्यक्ष आलेले जानकारी दिए ।
केन्द्रका सल्लाहकार शिव सेढाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अभिषेक वि.क. र सोफिया आङदेम्बेले गरेका थिए ।
अभिभावकको असन्तुष्टि भएपछी…
नृत्यतर्फ चौथो भएकी लुजा मगरको अभिभावकले प्रतियोगिताको निर्णयप्रति असन्तुष्टी जनाएको छ । निर्णायकको निर्णयप्रति असन्तुष्टी जनाएको उनीहरुले पुरस्कार बापत पाएको नगद तीन हजार रुपैयाँ मगरकी आमा लक्ष्मी राई मगरले आयोजकलाई अमर्यादित शैलीमा फिर्ता गरेकी थिइन् ।
त्यसैगरी कार्यक्रम सञ्चालन भइरहँदा मगरले प्राप्त गरेको सहभागीतर्फको शिल्ड पनि मञ्चतर्फ फँयाकिएको थियो । ग्रान्ड फिनालेमा सहभागीहरुले गरेको प्रस्तुतीको आधारमा निर्णायकहरुले निर्णय गरेको हुँदा सहभागी लुजाकी अभिभावकहरुले त्यसो गर्नु दुखद कार्य भएको आयोजक केन्द्रका अध्यक्ष आलेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here