झापा ।
नेपाल स्वास्थ्य ऐन, २०५३ को परिच्छेद ८ रहेको आचरण सम्बन्धि व्यवस्थामा कुनै पनि कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति लिई कानून बमोजिम दर्ता भएको पेशागत संस्था बाहेक कुनै पनि प्रकारको संस्थाको सदस्य बन्न नहुने उल्लेख छ ।
तर, गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रीय सचिवको भूमिकामा छन् । राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल नेकपा एमाले सम्बद्ध बिभिन्न जनसंगठनहरु मध्येकोे एक महत्वपूर्ण जनसंगठन हो ।
स्वास्थ्यकर्मीहरुको पेशागत हक, हित र मर्यादाको संरक्षण र सम्बद्र्धन गरी स्वास्थ्य सेवालाई विशेष सेवाको रुपमा स्थापित गर्दै सम्मानयुक्त बनाउन साथै स्वास्थ्यसँग सम्बन्धित सबै स्तर र समूहका स्वास्थ्यकर्मीहरुको हकहित र अधिकारका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुको एकीकृत संस्थाको रुपमा २०६२ जेठ २७ गते स्थापना भएको महासंघ नेकपा एमालेको जन संगठन हो । यो संगठनमा रहेर मिश्र स्वास्थ्य सेवासँगै राजनीति गरिरहेका छन् । महासंघको २०७८ साल चैत २५देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न चौथो महाधिवेशनबाट उनी सचिवको भूमिकामा निर्वाचित भएका हुन् ।
कुनै पनि कर्मचारीले कुनै पनि पार्टीको सदस्यता लिन नहुने नेपाल स्वास्थ्य ऐनमा व्यवस्था रहेपनि त्यसलाई समेत लत्याउँदै मिश्र सविच जस्तो महत्वपूर्ण पदमा बसेर राजनीति गरिरहेका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जस्तो पदमा बसेर उनले राजनीति गरेसंगै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मिश्रबिरुद्ध उजुरी परेसँगै उनले गर्दै आएका गतिविधि सतहमा आएको हो ।
नेकपा एमालेको महाधिवेशनमा समेत राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपालबाट महाधिवेशन प्रतिनिधि बस्न पाउनेसम्मको व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम गाउँदेखि केन्द्रसम्म हुने नेकपा एमालेको अधिवेशनमा राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपालबाट ५ जना प्रतिनिधि जाने गरेका छन् ।
राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपालको केन्द्रीय कमिटीमा मिश्र मात्र होइन झापाबाट सविता सापकोटा र नगेन्द्र भट्टराई समेत आवद्ध छन् । केन्द्रीय सदस्यका रुपमा रहेकी सापकोटा मेचीनगर स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत रहेकी छिन् । त्यस्तै केन्द्रीय सदस्यका रुपमा रहेका भट्टराई दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख हुन् ।
यता मिश्रले आफू सचिवको भूमिकामा रहेपनि हालै सो पद त्याग गरेको बताएका छन् । उनले केही समय अघि मात्रै आफूले सो पद त्याग गरेको जनाए ।