असली शरणार्थीको छैन परिचयपत्र

१५ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

छविराज ढकाल,
पथरी ।

‘वर्षौंदेखिको लग कार्डमा नाम छ, रासन कार्ड छ, सेन्सस कार्ड जस्ता कार्डहरु पनि छन् तर अहिलेको परिचयपत्र (आइडी) दिइएको छैन । किन होला ? यो प्रश्न हो मोरङको पथरीशनिश्चरे–१० स्थित शनिश्चरे शरणार्थी शिविरमा बस्दै आएकी गोमादेवी न्यौपानेको ।

डी २ हट नं. ४७ मा बसोबास गर्दै आएकी न्यौपाने सन् १९९०देखि १५ वर्ष खुदुनाबारी क्याम्पमा शरणार्थी जीवन बिताएपछि परिवारसहित हाल पथरीशनिश्चरेको शनिश्चरे भुटानी शरणार्थी शिविरमा बस्दै आएकी छन् ।

नेपाल सरकार मातहतको आरसीयू अफिसबाट नेपाली बस्तीहरूका युवाहरुसँग विवाह गरेका भुटानी युवतीहरूलाई पछिल्लो पटक परिचय–पत्र नदिएको उनीहरूको गुनासो छ । परिचय–पत्र वितरण नगरिनुमा पनि कतै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुबाट अरू कसैलाई तेस्रो मुलुकमा पुनर्वास गराइएको त छैन भन्ने प्रश्न गर्छिन् उनी ।

डी २ हट नं. ७० का युवा सुजित क्षेत्री आफूहरूले पाउँदै आएको खाद्यान्न, शिक्षा, स्वास्थ्य जस्ता सहुलियत कटौती गरेकाले र स्थानीय श्रम बजारमा राम्रो काम पाउन पनि मुस्किल परेको बताउँछन् । नेपाल सरकारको पहलमा छिटोभन्दा छिटो भुटान फिर्ती गराइदिए वा नेपालमै बसाइदिए वा तेस्रो मुलुकका कुनै पनि देशमा पुनर्वास गरिदिए हुन्थ्यो भन्ने उनको माग छ । आफन्त र बुबा–आमा अमेरिका पुनर्वास भइसकेको तर आफू र श्रीमती शरणार्थी भएर बस्नु परिरहेकोले परिवारको पुनर्मिलन नभएको बताउँछन्– उनी । अन्य खाडी मुलुकहरुमा पनि गएर रोजगारी गर्न पनि नपाएको भन्दै नेपाल सरकार समक्ष पहल गरिदिन उनले अनुरोध गरेका छन् ।

भुटानको दागापेलामा जन्मिएका ६२ वर्षीय कृष्णबहादुर तामाङ सन् १९९१ देखि शनिश्चरे शिविरमा बस्दै आएका छन् । ई १ हट नं. ४०मा बसोबास गर्ने उनका २ सन्तान शिविरमै जन्मिए । दुःखजिलो गरेर पढाए पनि रोजगारी पाएका छैनन् ।

मानसिक तथा प्यारालाइसिसले थला परेकी ५९ बर्षीया श्रीमती वीरमायाको उपचार गर्न खर्चकै अभाव छ । उनले धामीझाँक्रीको झारफुक र पथरीशनिश्चरे–०२मा रहेको नगर अस्पतालमा औषधि सेवन गरिरहेकी सुनाइन् । उनीहरूले नेपाल सरकारले नागरिकतासम्म दिए त गरिखान सजिलो हुन्थ्यो भन्दै आफ्ना पिता–पुर्खा नेपालमै जन्मिएर भुटान गएका र अहिले आफूहरु आफ्नै मातृभूमि आउनु परेकाले यतै मर्ने इच्छा भएको बताए ।

८÷९ वर्षदेखि श्रीमान् खुट्टा नचल्ने, जेठी छोरी सुस्त मनस्थितिकी र आफू विगत ५ वर्ष अघिदेखि बि २ हट नं. १५की करिब ४८ वर्षीया डोल्मा तामाङ अहिले मस्तिष्कमा असरसहित शरीर प्यारालाइसिस भएर थला परेकी छिन् ।

हालै पथरी शनिश्चरे –०२ को रेडस्टार आवासीय माध्यमिक विद्यालयमा कक्षा १२को वार्षिक परीक्षा दिएर अशक्त आमाको स्याहारसुसार गर्दै आएकी कान्छी छोरी रितिकाले फुर्सदको समयमा भाषाको तालिम लिन वा कुनै राम्रो संस्थाबाट सिपमूलक तालिम लिन पनि नागरिकता प्रमाण–पत्र नहुँदा समस्या परेको बताइन् । घरमा आमा बुबा, दिदी अशक्त भएकाले एक दाजुको भरमा बाख्रापालन गरी जीविकोपार्जन गर्न असजिलो भइरहेको बताउँदै उनले भनिन्– पुनर्बासको प्रकृया शुरु भए पुनर्बासमा जान चाहन्छु ।

उता ४–५ वर्षमै शरणार्थी बनेर १९९२देखि नेपालको झापा र मोरङका शिविरहरूमा सारिँदै आएका ३५ बर्षका युवा जगबहादुर राई परिवारका प्रायःजसो सबै पुनर्बासमा गएकाले चाँडै आफ्नो परिवारसँग पुनर्मिलन गराइदिए हुन्थ्यो भन्छन् ।

सी २ हट नं १४की सञ्चमाया सुब्बा (३६)ले भने भुटानी शरणार्थीलाई थुप्रै समस्याहरु भएको सुनाइन् । उनले आफ्ना बुहारी र छोरी कक्षा १२ पढिसकेकाले रोजगारीका लागि नागरिकता नहुँदा समस्या भइरहेको बताइन् । स्थानीय श्रम बजारमा पनि शरणार्थीहरुले हेपिनु र ठगिनु परेकोले खाडी मुलुकमा जान पनि नसकिएको उनको गुनासो छ ।

सन् १९९२देखि नै शनिश्चरे शिविरमै बस्दै आएका ४२ वर्षीय युवा बमराज गुरूङले भुटानी शरणार्थी परिचयपत्र अझैसम्म पाउनसकेका छैनन् । सन् २००३देखि ०१४सम्म परिवारको सल्लाह अनुसार भारतको विभिन्न शहरहरूमा रोजगारी गर्न गएका उनका सबै परिवारअहिले अमेरिकामा पुनर्बास भएका छन् । आफ्ना परिवारका सदस्यहरू अमेरिका उडेको २ महिनापछि मात्रै शिविर आइपुगेका बमराज शनिश्चरे शिविरको सेक्टर १मा बस्दै आएका छन् ।

२०१४मा शिविर फर्किएका उनले आरसीयू अफिसमा आफ्नो नाम दर्ता गर्न आवेदन त दिए तर लग बुकमा सूचीकृत भएको नामसहितको परिचय–पत्र अझै पाएका छैनन् । आफ्नो परिचय दिलाउने कागजात नहुँदा रोजगारी गर्न स्थानीय श्रम बजार, विभिन्न खाडी मुलुकमा जान वा बैंकमार्फत आर्थिक कारोबार गर्न समेत असहज भएको उनले सुनाए । कहिले काहिँ विदेशमा रहेका आफन्तले पैसा पनि लिन स्थानीयबस्तीका बासिन्दाको बैक खातामा पठाउन लगाएर रकम लिनु पर्ने अफ्ठ्यारो भएको उनले सुनाए ।

सन् २०१७मा पुनर्बास गर्ने उद्देश्यले अमेरिकाको लागि सासूससुरा पठाइसकेर आफ्नो परिवारको डीएचएस, ओरियन्टेसन लगायतका दोस्रो प्रक्रिया सफल भएर १०–१५ दिनपछि अमेरिका उड्ने सपना बोकी आवश्यक सरसामान किनमेल गरेका बि२ हट नं. ६२को मनुजा अधिकारी र श्रीमान् एक नाबालकको साथमा ५ वर्ष अघिदेखि शनिश्चरे शिविरमै बस्न वाध्य छन् । हामी जस्तै ५–७ परिवारहरू फटाफट अमेरिका पुगे तर हामी किन, के कारण र कसरी रोकिनु प¥यो ? भन्ने अझै थाह छैन् । आफ्नो परिवार पुनः वास जान नपाउनुमा कतै नक्कली भुटानी शरणार्थी प्रकरणको कारण त होइन ?– उनले भनिन् ।

शनिश्चरे शरणार्थी शिविरका व्यवस्थापन समिति (सीएमसी)का सल्लाहकार समेत रहेका सी१ हट नं. १५ का भुटानी शरणार्थी अगुवा पुरूषोत्तम ढुंगेलले शिविरमा वेरोजगारी समस्याका कारण घरपरिवार धान्नै मुस्किल भएको, रोजगारी, सरकारी जागिर वा खाडी मुलुकहरूमा जान समेत नपाइने, भुटानी परिचय हुनेले मात्र खाद्यान्न, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी आदि सेवा सुविधाहरू स्थानीय नेपाली बस्तीहरूका नागरिक सरह लिँदै आएको बताए ।

उनले अर्को प्रसंगमा अधिकांश भुटानी शरणार्थीहरू तेस्रो मुलुकका विभिन्न देश जान चाहने, केही संख्याले बल्ल आफ्नो पुर्खाको मातृभूमि नेपाल आएका छौँ; नेपालमै बस्न पाए हुन्थ्यो भन्नेहरू र केही थोरै संख्याले भुटान स्वदेश फिर्तीलाई रोजेको बताए । नेपाल सरकारको पछिल्लो रेकर्ड अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१०स्थित शनिश्चरे शिविरमा मात्रै कूल १४ सय ४१ जना भुटानी शरणार्थी बसोबास गर्दै आएका छन् । पूर्वी नेपालको झापा दमक नगरपालिकाको बेलडाँगी शिविर र मोरङको पथरी शनिश्चरे नगरपालिकाको शनिश्चरे शरणार्थी शिविरमा गरी करिब ६ हजारभन्दा बढी भुटानी नागरिकहरूले शरणार्थी जीवन बिताउँदै आएका छन् । शनिश्चरे शिविरमा मात्रै अपडेट गरिएका १३ सय ४५ जना शरणार्थीहरुको संख्या छ । जसमा ४ सय १० वटा छाप्रा रहेका छन् । यसमा सूचीकृत हुन छुटेका बाँकी ९५ पुरूष, १०९ महिला गरी जम्मा २०४ जना जनसंख्या र ६४ छाप्राहरू रहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here