बिर्तामोडको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट

१६ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

बिर्तामोड , झापाको बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत धौला पुलनजिक रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएको छ ।

पेट्रोल हालेका सवारीसाधनहरू नकुदेपछि चालकहरूले आज साँझ पम्पमा आएर विवाद गरेका थिए । ग्राहकहरूले पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई हटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । त्यसपछि प्रहरी र जनप्रतिनिधिले सो पेट्रोल पम्प बन्द गराएका छन् । त्यस पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरू आक्रोशित भएका थिए । पेट्रोलमा मिसावट भए नभएको परीक्षण गर्न आयल निगमको टोली बोलाएको डीएसपी कार्कीले जानकारी दिए । 

यता बिर्तामोड९३ का डम्बर बस्नेतले ३ दिनअघि सो पम्पमा तेल हालेका थिए । १ हजारको तेल हालेर पम्प बाहिर निस्किएका बस्नेतको मोटरसाइकल अकस्मात् बन्द भएपछि डोहोर्याउदै केही समस्या आयो होला भन्दै सैनिक मोड पुगेको बताउँछन् । तेल हालेपछि मोटरसाइकलको ब्याट्रीमा समस्या आएको उनले सुनाए । उनले ४९५ लाखमा खरिद गरेको मोटरसाइकल बिग्रिएपछि पम्पमा पुगेर समस्या राखेका छन् । उनले परिमाणमा समेत पम्पले ठगी गर्ने गरेको गुनासो राखे ।

यस्तै, हल्दिवारीका देवनारायण चुडालले पैसा तिरे बराबरको तेल नपाइने गरेको बताएका छन् । उनले पम्पहरूमा यस प्रकारको ठगी बढिरहेकोले अनुगमन गर्न आग्रह गरे ।

बिर्तामोड–३ की शर्मिला लिम्बुको स्कुटर पम्प बाहिर पुग्ने बित्तिकै बन्द भएको सुनाइन् । आज साँझ अफिसबाट घर फर्किने क्रममा उनले स्कुटरमा तेल हालेकी थिइन् । लिम्बुले भनिन्, बाहिर पुग्ने बित्तिकै बन्द भएपछि मिस्त्रीलाई बोलाउन खोज्दा पम्पका स्टाफले हतारपतार भित्र लगेर बनाइदिने भने ।

अर्का उपभोक्ता आकाश राजवंशीले फुल टेंकी तेल हालेर निस्किने बित्तिकै मोटरसाइकल बन्द भएको सुनाए । १७ सय ५० रुपैयाँको तेल हालेर निस्किएका राजवंशीले मिस्त्री बोलाएर ट्याङ्की खाली गराए । पेट्रोलभन्दा पानी धेरै भेटिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बिर्तामोड(३ का सन्तोष पाठकको पनि उस्तै समस्या छ । आठ दिनअघि ३ हजारको तेल हालेदेखि गाडीमा समस्या आएको छ । गाडीको स्टार्ट बन्द हुने समस्या भएको पाठकले जानकारी दिए । उनले पम्प लगेर गाडी छोडिदिने र समस्याको पहिचान नभएसम्म गाडी फिर्ता नलिने चेतावनी दिए । उनले पानीसहितको तेल भएको शङ्का गरेका छन् । गाडीमा तेलको समस्या भए सञ्चालकले सबै व्यहोर्नुपर्ने उनको अडान छ । इन्धन प्रयोग गर्ने बित्तिकै समस्या आएपछि १६ जनाले नाम टिपाएका छन् । उनीहरूले गाडीमा आएको समस्या पम्प सञ्चालकले क्षतिपूर्ति व्यहोर्नुपर्ने माग राखेका छन् ।

यता, पम्पका सञ्चालक प्रकाश सरियाले पम्पमा नियतवश पानी मिसावट नभएको दाबी गरेका छन् । उनले टंयाकीमा लिकेज भएको आशङ्का गरे । सरियाले भने – पेट्रोलमा पानी मिसावट नै हुँदैन । कतैबाट लिकेज भए त्यसको समाधान खोज्नेछौँ । अधिकांश पीडितहरूलाई उनले तेलकै खराबीका कारण सवारीहरूमा समस्या भए समाधान खोज्ने विश्वास दिलाएका छन् । पीडितहरू आक्रोशित हुँदै भेला हुन थालेपछि पम्प बन्द गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here