विराटनगरको आईसीपीसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल आउने

१७ जेष्ठ २०८०, बुधबार मा प्रकाशित

विराटनगर , प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै भारतबाट सामान लिएर कार्गो रेल विराटनगर आउने भएको छ । भारतबाट एकीकृत भन्सार जाँच विन्दु आईसीपी सम्म कार्गो रेल आउने भएको हो ।

उक्त स्थानसम्म रेल्वे लिक र अरु संरचना निर्माण गरिएको छ । भारतबाट सामान लिएर रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालनमा आउने भएको हो । यसअघि भारतले २०७६ कात्तिकमा लिग परीक्षण गर्ने क्रममा रेल पठाएको थियो ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेसँगै कार्गो रेल आउने तयारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका लागि कच्चा पदार्थ आउने छ । यसैगरी यहाँ उत्पादित वस्तु निर्यात गर्न सहज हुने जनाइएको छ ।

भन्सार यार्डसम्म कार्गो रेल आएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा ४० प्रतिशतसम्म लागत कम पर्ने उद्योगीहरुले बताउँदै आएका छन् ।

रेल नियमित रुपमा सञ्चालन सुरु भएपछि सामान आयात गर्न सहज हुनेछ । यसअघि जोबगनीस्थित भन्सार नाकाबाट सामान आयात निर्यात गर्दा साँघुरो स्थान भएकाले असहज थियो ।

ट्रक र लहरीमार्फत् ढुवानी गर्नुपर्ने अवस्था थियो । अब भने ढुवानी सजिलो हुने आयात निर्यातसँग सम्बन्धित संस्थाका प्रतिनिधिको भनाइ छ ।

भारतको बथनाहदेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर लम्बाई रहेको ‘ब्रोडगेज रेल्वे मार्ग’ बनाइएको हो ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार बथनाहा–कटहरी रेलमार्ग निर्माण गरिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here