तराईमा पाँच दिन ‘लू’को जोखिम

0
110

झापा ।

झापासहित तराईका जिल्लामा केही दिनयता बढेको गर्मीका कारण आगामी पाँच दिनसम्म तातो हावा ‘लू’ को जोखिम रहेको बताइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम् तथा न्यूनतम् तापक्रम बढ्दै गएको छ । तराईका जिल्लामा तापक्रम क्रमिकरुपले वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम् र न्यूनतम् तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ– विशेष बुलेटिनमा भनिएको छ –पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध छ ।

तातो हावा ‘लू’बाट थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्ने उपायहरू अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‘लू’ लाग्नबाट जोगिन के गर्ने ?

तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here