पूर्ण आयुको सौभाग्य पाएका पूर्णबहादुर

0
86

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

गाउँटोलको सझिसजाउ गरिएको घर र आगन्तुक अतिथि, शुभेच्छुकको बाक्लो उपस्थिति । बेहुला–बेहुली बस्ने विवाह मण्डप झैं लाग्ने स्थान । पञ्चैबाजाको मंगलधुनसँगै आशिर्वाद ग्रहण, शुभकामनाको आदनप्रदानमा सबै व्यस्त । देख्दा जो कोहीलाई लाग्छ कुनै ठूलो विवाहोत्सवको आयोजना भइरहेको छ ।

तर उक्त दृश्य विवाह, व्रतबन्ध लगायत उत्सवको नभइ फरक रहेकाके त्यतिखेर बोध हुन्छ जब प्रवेशद्वारमा १००औं (हिरक) जन्मोत्सव लेखिएको ब्यानर देखिन्छ । बिर्तामोड –९ का सामाजिक तथा धार्मिक व्यक्तित्व पूर्णबहादुर श्रेष्ठले आफ्नो हिरक शुभजन्मोत्सव मनाएका हुन् ।

९९ वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गरेको शुभ अवसरमा बुबाको हिरक जन्मोत्सव कार्यक्रमको आयोजना गरिएको छोरा यज्ञराज श्रेष्ठले बताए । भगवानको कृपाले दीर्घायू र आरोग्य प्राप्त भएको र अझै केही वर्ष बाँच्ने इच्छा रहेको बुबा पूर्णबहादुरले बताए ।

ज्यूँदा देवताका रुपमा रहेका बुबाको इच्छाअनुसार यस्तो उत्सव मनाउने अवसर पाउनु सौभाग्य भएको माइली छोरी हरिमाया श्रेष्ठले बताइन् । बिर्तामोड नपा, वडा कार्यालय, नेवा देय् दबूलगायत विभिन्न संघसंस्थाबाट सम्मानित श्रेष्ठका २ छोरा र ७ छोरी रहेका छन् । पाँचथर जिल्लाको सुभाङमा जन्मिएका तथा २०४२ देखि बिर्तामोड – कञ्चनटोलमा बस्दै आएका श्रेष्ठ ’सुभाङ्गे’ नामले पनि चिनिन्छन् ।

नेवार समुदायका संस्कार संस्कृति संरक्षणका अग्रज,समाजसेवी श्रेष्ठबाट शताब्दी पुरुषको रुपमा आशिर्वाद लिन तथा शुभकामना दिन पाउँदा खुशी लागेको नेवा देय दबू बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए ।

कार्यक्रम सुनगाभा नौमती बाद्यबाजा समूह, बिर्तामोड –७ खालबाडीका महिलाहरुको टोलीको साथले हर्षोल्लासमय बनाएको थियो भने अष्ट चिरञ्जीवी, इष्टदेव देवीको पूजा सम्पन्न भएको थियो ।
आधुनिकताको प्रभावका कारण केक काटिए पनि सनातन वैदिक परम्परा अनुसार नै जन्मोत्सवको विधि अनुसार गरिएको पुरोहित दमन रिमालले बताए ।

७० वर्षीय रिमालले केही व्यक्तिको १०० औं जन्मोत्सवमा पूजापाठ गराएको भए पनि महोत्सवको रुपमा पूजापाठ गरेको आफ्नो यो पहिलो अनुभव भएको बताए । धर्मनिष्ठा, उदारता, सात्विक आहारविहार जस्ता गुणका कारण नै उहाँलाई दीर्घायु र आरोग्य प्राप्त भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here