बिर्तामोड खानेपानीको पद हस्तान्तरण

0
64

बिर्तामोड ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्वाचित नेतृत्वको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडस्थित संस्थाको कार्यालय परिसरमा शनिबार शपथ ग्रहणपछि मेघराज बाँस्तोला नेतृत्वको कार्य समितिले कार्यभार सम्हालेको छ । शपथ ग्रहण कार्यक्रमपछि निवर्तमान अध्यक्ष जलकुमार गुरुङले नवनिर्वाचित अध्यक्ष बाँस्तोलालाई संस्थाको माइन्यूट हस्तान्तरण गरेका थिए । विधानतः निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र पद हस्तान्तरण गर्नुपर्ने प्रावधान अनुरुप कार्यक्रम भएको हो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक खगेन्द्र खरेलले नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराएका थिए । उपभोक्ताको साथ, समर्थन र विश्वासका कारण बिर्तामोड खानेपानी यो अवस्थामा आइपुगेको बताउँदै निर्वतमान अध्यक्ष गुरुङले यसका लागि संस्थापक अध्यक्ष टोरुप प्रसाईको योगदान अतुलनीय रहेको बताए । उनले बिर्ताामोडको खानेपानीको अवस्था र आफूले नेतृत्व लिएपछि हालसम्मका उपलब्धिका बारेमा जानकारी गराउँदै नवनिर्वाचित टिमलाई सफलताको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष बाँस्तोलाले संस्थापक अध्यक्ष प्रसाई र निवर्तमान अध्यक्ष गुरुङको राय, सुझाव, सल्लाह र मार्ग निर्देशनमा रहेर खानेपानी संस्था र उपभोक्ताको हितमा कार्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफूले निर्वाचनको समयमा गरेका बाचालाई पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाँई, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य बुद्धिराम भट्टराई, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल बराल, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष शम्भु भण्डारी, जसपाका शिवम् सुराली मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

बिर्तामोड खानेपानीको गत जेठ १५ गते सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली, कोषाध्यक्ष शारदा रिजाल, खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्र थापा, महिला सदस्यमा बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here