विविध समस्याका कारण हुन नसकेको हलुवागढको सभा सम्पन्न

0
104
अर्जुनधारा । 
विविध समस्याका कारण आर्थिक वर्ष ०७६÷०७७ देखि नियमित साधारण सभा हुन नसकेको झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको आइतबार २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष देउनारायण राईको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले अघिल्लो तीन आर्थिक वर्ष ०७६/०७७ देखि ०७८/०७९ सम्मको महालेखा परीक्षण प्रतिवेदनसहित समूहको वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०७९/०८०को अनुमानित बजेट नीति तथा कार्यक्रम पारित गरेको समूहका सचिव ओम तोलाङ्गीले जानकारी दिए ।
समूहको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष राईले र महालेखा परीक्षण प्रतिवेदन सदस्य युवराज आचार्यले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा समूहको चालु आर्थिक वर्षको अनुमानित बजेट दुई करोड ५४ हजार ९४ रुपैयाँ उल्लेख गरिएको छ ।
प्रस्तुत बजेटमध्ये गरिबी न्यूनिकरणतर्फ ७० लाख १८ हजार नौ सय ३३ रुपैयाँ, वन विकासतर्फ ५० लाख १३ हजार पाँच सय २३ रुपैयाँ पाँच पैसा, प्रशासनिकतर्फ ४० लाख १० हजार आठ सय १८ रुपैयाँ ८ पैसा र सामाजिक विकासतर्फ ४० लाख १० हजार आठ सय १८ रुपैयाँ आठ पैसा विनियोजन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राई, वडाध्यक्ष उपेन्द्र बस्नेत, समूहका निवर्तमान अध्यक्ष चक्रप्रसाद तामाङ, भीमले आधारभूत विद्यालयका शिक्षक शिशिर थापा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
समूहकी उपाध्यक्ष बुद्धकला ढकालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव तोलाङ्गीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here