सामाजिक सञ्जालको पहुँचसंगै अपराध बढ्यो

२३ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

नरेन्द्र ढकाल /बिर्तामोड ।

घटना नं. १

सामाजिक सञ्जाल टिकटकमार्फत महिलासँग साथी बनेर फेसबुक, म्यासेन्जर, वाट्सएप तथा इमोमा अनलाइनका माध्यमबाट यौन दुव्र्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्क्रीन रेकर्ड गरेर, महिलालाई पटक–पटक भेट्न बोलाएर, भेट्न जाँदा फेक आइडीमार्फत अश्लील क्याप्सन राखी भिडियो तथा तस्वीर पोष्ट गरेर चरित्र हत्या गरेको आरोपमा साइबर व्यूरोले जुम्लाको तिला गाउँपालिका–९ घर भई हाल भक्तपुर–२मा बस्दै गरेका २३ बर्षीय दिनेशकुमार राउतलाई पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिएका छन् ।

घटना नं. २

सामाजिक सञ्जालमा राखेका तस्वीरहरु डाउनलोड गरी नक्कली प्रोफायल बनाइ सोही प्रोफायलमा आफ्नो तस्वीर सम्पादन गरी अश्लील म्यासेज तथा फेक एकाउन्ट खोलेर ‘तिमीलाई अब भाइरल बनाउँछु’ भन्दै पोष्ट गरेर मानसिक तनाव दिएको आरोपमा साइबर व्यूरोले दिपायल शिलगढी नागरपालिका–१३का ३२ बर्षीय पदमबहादुर खड्कालाई पक्राउ ग¥यो । खड्काले नाबालिकाको नक्कली फेसबुक एकाउन्ट बनाएर उनैलाई दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । खड्कालाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक रायले बताए ।

घटना नं. ३

सामाजिक सञ्जाल फेसबुकमार्फत सामान्य चिनजान भई कुराकानी हुने क्रममा एक महिलालाई बैंकमार्फत ऋण मिलाइ दिन्छु भन्दै भेटघाट गरी नजिकिएर मन पराउने तथा माया गर्ने वहानामा विश्वासमा पारेर सँगै बसेका तस्वीरहरु गोप्य रुपमा खिचेर भिडियो समेत रेकर्ड बनाइ उक्त तस्वीर र भिडियो वाट्सएपमार्फत पठाएर अश्लील हर्कत गरेको आरोपमा स्याङ्जा घर भई काठमाडौंको ठमेल बस्ने ४८ बर्षीय नन्दलाल शर्मालाई प्रहरीले पक्राउ ग¥यो । उनले महिलाको अश्लील तस्वीर तथा भिडियो बनाएर रकम बार्गेनिङ तथा यौनजन्य गतिविधिमा सामेल हुन बाध्य गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको साइबर व्यूरोले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको पहुँचसँगै यसको दुरुपयोगबाट हुने अपराधको संख्यामा बृद्धि भएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको प्रयोगसँगै अपराधको संख्यामा बृद्धि भएको साइबर व्यूरोका प्रवक्ता समेत रहेका रायले बताए । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैंगिक हिंसा, घरेलु हिंसा, हत्या, आत्महत्या लगायतका घटनामा बृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदायमा प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

पीडक चिनजानकै

सामाजिक सञ्जालबाट हुने अपराधका घटनामा पीडक चिनजानकै व्यक्ति हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामाजिक रहनसहन तथा पीडितको सम्पूर्ण जानकारी लिइसकेको नजिकैको व्यक्तिले नै सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर अश्लील दुव्र्यवहार तथा यौनजन्य गतिविधिसँगै आर्थिक रुपमा धम्क्याउने गरेका घटनाहरु बाहिर आएको साइबर व्यूरोले जनाएको छ ।

शिक्षित नै ठगिन्छन्

शिक्षित र बौद्धिकको रुपमा परिचित व्यक्ति नै सामाजिक सञ्जालको फन्दामा पर्ने गरेको प्रहरीले जनाएको छ । माथिका घटनाहरुमा पीडित रहेका अधिकांश शिक्षित रहेको र उनीहरुले विश्वासका आधारमा नजिकका र चिनजानका व्यक्तिलाई सामाजिक सञ्जालको पासवर्ड दिँदा विश्वास गरेकाबाटै पीडित बन्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले जनचेतनाको कमी तथा सामाजिक सञ्जालको जानेर वा नजानेर गरिएका दुरुपयोगबाट बर्षेनि हजारौं युवा प्रताडित बन्दै गएको जनाएको छ । नेपाल प्रहरीको साइबर व्यूरोका अनुसार फेसबुक, भाइबर, इमो, वाट्सएप, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको दुरुपयोगबाट गत बर्ष मात्रै तीन हजार नौ सयभन्दा बढी पीडित बनेका थिए ।

जनचेतना कमजोर

नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गए पनि जनचेतनाको कमीका कारण यसको दुरुपयोग पनि बढेर गएको प्रहरीले जनाएको छ । अधिकांशको हातमा स्मार्ट फोन छ, प्रायः मानिस सामाजिक सञ्जालबाट अछुतो छैनन् । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा पछिल्लो समय साइबर अपराधका घटना गुणात्मक रुपमा बृद्धि हुँदै गएको प्रहरीले जनाएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढेको र यसले साइबर अपराधका घटनामा समेत बृद्धि भएकाले बालबालिकास्तरबाटै जनचेतना आवश्यक रहेको प्रहरीले जनाएको छ ।

यता झापामा समेत साइबर अपराधका निवेदनहरु आउने क्रम बढ्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनले साइबर अपराधका घटनालाई काठमाडौंस्थित साइबर व्यूरोले हेर्ने भएकाले पीडितलाई काठमाडौं नै जान सुझाव दिने गरेको बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराधको श्रृंखला बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सबै पक्ष सजग रहनुपर्ने प्रहरीको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here