प्रगतिको उद्यमशिलता विकास तालिम सम्पन्न

0
130

अर्जुनधारा ।

सीप सिकेका महिलाहरुलाई नयाँ उद्यमी बनाउने उद्देश्यले झापाको अर्जुनधारा–१० स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन केन्द्रको सभाहलमा आयोजित चार दिने उद्यमशिलता विकास तालिम बुधबार सम्पन्न भएको छ ।

स्थानीय प्रगति महिला कृषक समूहको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा आयोजित उक्त तालिम गत जेठ २१ गतेदेखि सञ्चालन भएको थियो ।

प्रशिक्षक एवम् युवा उद्यमी सन्तोषकुमार श्रेष्ठले प्रशिक्षण दिएको तालिममा सहभागीहरुलाई उद्योग स्थापना तथा बजारीकरण बारे सैद्धान्तिक ज्ञानसँगै तयारी झोल साबुन र फिनाएल बनाउन सिकाइएको समूहकी अध्यक्ष गान्धारी मिश्रले जानकारी दिइन् ।

समूहकी अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीद्वय इन्दिरा दाहाल र पवित्रा खड्काले तालिमको अनुभव तथा अर्का प्रशिक्षार्थी बालकुमारी बस्नेतले तयारी झोल साबुन र फिनाएल बनाउने प्रयोगात्मक ज्ञान बारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई व्यावहारिक रुपमा प्रयोग गर्दै सबै सहभागीहरुलाई उद्यमी बन्न सुझाएका थिए । उक्त कार्यक्रमको सञ्चालन समूहकी सदस्य सावित्रादेवी बाँस्कोटाले गरेकी थिइन् ।

महिला सशक्तिकरणको लागि विभिन्न कार्यक्रम गर्दै आएको उक्त समूहले चालु आर्थिक वर्षमा यस अघि कपडाको झोला बनाउने, कानुनी साक्षरता, रणनीतिक योजना तर्जुमा, तनाव व्यवस्थापन तथा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरुका लागि क्षमता विकास तालिम सञ्चालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here