भ्याटका कारण आलु र प्याजको आयात घट्यो, १२ दिनमा चार सय मेट्रिक टन आयात

0
74

लक्ष्मी उप्रेती,
मेचीनगर।

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटले उपभोक्ताको भान्सा महँगिने सम्भावना बढेर गएको छ भने पूर्वीनाकाबाट आलु र प्याजको आयात कम हुँदै गएको छ ।

सरकारले बजेट मार्फत बोडी, सिमी, प्याज, सागपात, आलु, कोसे तरकारी, केराउ, पालुंगो लगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेको छ । त्यस्तै फलफूलतर्फ स्याउ, एभोकाडो, किबी फ्रुट, श्रीफल, अमिलो चेरी, स्ट्रबेरी, हलुवावेद लगायत फलफूलमा पनि भ्याट लगाउने घोषणा गरिएको छ । फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।

सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट मार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतीय बजारबाट तरकारी र फलफूलको आयात कम भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाको जनाएको छ ।

बजेट भाषणपछिका १२ दिनमा तरकारी तथा फलफूलका १० वटा गाडी मात्र नेपाल प्रवेश गरेका छन् । यसअघि दैनिक सातदेखि नौ वटा यस्ता मालवहाक सवारीसाधन नेपाल आउने गरेको कार्यालयका प्राविधिक सहायक चन्द्रेश्वर ठाकुरले जानकारी दिए । खासगरी, यो नाकाबाट अत्याधिकरुपमा आयात हुने आलु र प्याज बजेट भाषणपछि निक्कै कम छ । १२ दिनको अवधिमा यो नाका भएर दुई–दुई सय मेट्रिक टन आलु र प्याज नेपाल आयात भएको प्राविधिक सहायक ठाकुरले बताए ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा काँकरभिट्टा नाका भएर सात करोड ३५ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको नौ सय ९४ मेट्रिक टन र अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा तीन करोड ४३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको एक हजार सात सय ३० मेट्रिक टन प्याज नेपालले खरिद गरेको थियो ।

चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भए पनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको छ । भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको छ । आलु भारत, बंगलादेश, भुटान लगायतका मुलुकबाट आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यहाँबाट भित्रिएका आलु राजधानीसहित भैरहवा, विराटनगर, बीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको कार्यालयकोे भनाइ छ ।

सरकारले विगतमा तरकारी तथा फलफूलसहित अन्य करिब पौने दुई सय वस्तुको आयातमा भ्याट छुट दिएको थियो । अहिले बजेट मार्फत ती वस्तुमा दिँदै आएको छुट हटाइएको छ । अर्थमन्त्री महतले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दर खारेज गरेका छन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि सार्वजनिक गरेको बजेटमा कतिपय कृषिजन्य सामग्रीको भन्सार दर बढाउने र कतिपय वस्तुको आयातलाई निषेध गर्ने योजना अघि सारे लगत्तै भारतबाट त्यस्ता सामग्रीको आयात घटेका कारण बजारमा अभाव देखिने र मूल्य बढ्ने सक्ने भएकाले सार्वसाधारणको भान्सा महँगिने हो कि भन्ने आशंका बढेको छ ।
तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन व्यवसायीहरुले माग गरेको काँकरभिट्टाका एकजना तरकारी व्यवसायीले बताए । नाम नलेख्ने शर्तमा उनले भने– ‘थोक विक्रेताले अहिले आलु र प्याज आयात गर्न नै छाडेका छन् । हामीले आफै थोरै–थोरै भारतीय बजार पुगेर ल्याउन गरेका छौं । त्यसकारण पनि तत्काल मूल्य वृद्घि भएको छैन् । व्यवसायीहरुको माग सरकारले सुनेन् भने उपभोक्ताको भान्सा महँगिने छ ।’

तर, अर्का एकजना तरकारीको आयात निर्यात गर्दै आएका व्यापारीको यसमा भिन्नै धारणा छ । अहिले तरकारीको सिजन कम हँुदै गएकाले आयात घटेको उनको तर्क छ । ‘थोरै असर त सरकारले प्रस्तुत गरेको बजेटले पनि पार्यो’ उनले भने– ‘सरकारले भ्याट घोषणा गर्ने साथ बजारमा तरकारी र फलफूलको मूल्य बढ्न सक्छ । त्यसतर्फ पनि सरकारले नियन्त्रणमा पनि ध्यान दिनुपर्छ ।’

तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि महँगी बढन् सक्ने उपभोक्ताको भनाइ छ । मुलुकमा व्यापार घाटा ठूलो भएको र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात निरुत्साहन गर्न कृषिजन्य वस्तुमा कर लगाउनु परेको डाक्टर महतले बजेट भाषणमा बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here