प्रशान्तदास बुद्धिचालमा विजयी

0
82

युद्धबहादुर बोहोरा,
पाँचथर ।

पाँचथरको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा प्रशान्तदास चेम्जोङ विजयी बनेका छन् ।

उनले चार दशमलव पाँच अंकका साथ १४ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पाएका छन् । फाल्गुनन्द–४ निवासी खेलाडी चेम्जोङ यसअघि भएको प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरे थिए । उनी राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा परिचित छन् ।

उपविजेता फिदिम नगरपालिका वडा नम्बर ९ निवासी गगन लावती भए । चार दशमलव पाँच अंकसँगै १३ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाएका छन् । उनी पाँचथरका पूर्व चेम्पियन हुन् । फिदिम नगरपालिका–१ का युवा खेलाडी बिसन थापाले पनि चार दशमलव पाँच अंक र १२ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै तेस्रो स्थान हाँसिल गरेर नगद सात हजार पाँच सय, ट्रफी र प्रमाणपत्र पाउन सफल बने ।

त्यसैगरी, चौथोदेखि आठौं स्थानसम्म क्रमशः महेन्द्रकुमार सम्बाहाम्फे, नन्दकुमार कुरुम्बाङ, सूर्य प्रसाद लावती, जयबहादुर तामाङ, बिजय बोधलावतीले चार हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र ग्रहण गरेका छन् भने जयप्रकाश नेम्बाङ फाल्गुनन्द च्याम्पियन बन्दै नगद पाँच हजार र प्रमाणपत्र पाए ।
चार हजार नगद र प्रमाणपत्रसहित फाल्गुनन्दकी सेसेना चेम्जोङ महिला च्याम्पियन बनेकी छिन् । भेट्रान र अण्डर १६ तर्फ मिक्लाजुङका तेजबहादुर लावती र गौरवहाङ लावतीले चार–चार हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

जिल्लाको दक्षिणी भेगका स्थानीय तहबाट ५२ जना पुरुष तथा महिला खेलाडीहरुको प्रतियोगितामा सहभागीता रहेको संघका सचिव नन्द कुरुम्बाङले जानकारी दिए ।

पाँचथर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो । दुई दिनसम्म भएको उक्त प्रतियोगिता स्वीस लिगको आधारमा पाँच राउण्ड खेल सञ्चालन भएको बुद्धिचाल संघ, नेपाल कोसी प्रदेश अध्यक्ष तथा आरविटर सुरेन्द्रकुमार राईले बताए । राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरका खेलाडीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको प्रतियोगिता सञ्चालन गर्न फाल्गुनन्द गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष विजयबोध लावतीको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको आतिथ्यमा भएको थियो । समापनमा संघका जिल्ला र प्रदेश अध्यक्षद्वयले बुद्धिचाल खेलका लागि पालिकाले बजेट विनियोजन गरी खेलाडीलाई उर्जा प्रदान गरेकोमा धन्यवाद दिए । खेल सञ्चालनमा सहयोग पु¥याउने सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here