नेपाली भान्सा सुरक्षित गर

0
55

आर्थिक मन्दीले अस्तव्यस्त नेपालीको दैनिकीलाई अत्यावश्यक खाद्य सामग्रीमा समेत मूल्य अभिवृद्धि कर लगाएर सरकारले अझ कष्टकर बनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै नेपाली भान्सामा सर्वाधिक प्रयोग हुने आलु र प्याजमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेका थिए । यो सँगै भारत लगायतका देशबाट आयात हुने सिमी, बोडी, साग, केराउ, पालुङ्गो आदिमा समेत आर्थिक वर्ष २०८०–०८१ देखि भ्याट लाग्ने उनले बताएका थिए । तरकारी बाहेक विभिन्न देशहरुबाट आयात भइरहेको स्याउ, एभाकाडो, श्रीफल, स्ट्रबेरी, हलुवावेदमा समेत भ्याट लाग्ने बजेट मार्फत घोषणा गरिएको छ । सरकारको यस्तो नीतिले विपन्न वर्गमात्र होइन मध्यम वर्गीय परिवारको उपभोग क्षमता समेत प्रभावित हुने निश्चित छ ।

खाद्यवस्तुमा पर्ने सागसब्जी, फलफूलसँगै मासुजन्य वस्तुको आयातसम्म प्रभावित हुने गरी सरकारले ल्याएको बजेटले नेपालीको भान्सा महँगिने त्रास बढेको छ । भ्याट शुल्क तिर्नु परेपछि त्यसको मार उपभोक्ताको ‘खल्ती’मा पर्नु स्वभाविक नै हो । त्यहीकारण आयातकर्ताहरुले यस्ता खाद्यवस्तुको आयातमा कटौती गर्न थालेको सरकारी तथ्यांकले नै देखाएको छ । देशको पूर्वीनाका काँकरभिट्टा भएर आयात हुने तरकारी तथा फलफूल राजधानी काठमाडौं लगायत देशका प्रमुख शहरहरु विराटनगर, विरगञ्ज, नारायणघाट, इटहरी, धरान, भैरहवासम्म पुग्ने गरेको छ । तरकारी र फलफूलहरुको खाद्य परीक्षण गर्ने अख्तियारी पाएको क्वारेन्टाइन चेकपोस्ट काँकरभिट्टाले बजेट घोषणापछिको बाह्र दिनमा दश वटा गाडी मात्र नेपाल प्रवेश गरेको जनाएको छ ।

सातामा नौ वटासम्म तरकारी र फलफूल बोकेको गाडी भित्रिने गरेको पूर्वीनाका भएर भित्रिने मालबाहक सवारी कम हुनुमा भ्याट नै जिम्मेवार रहेको व्यवसायीले बताएका छन् । यसअघि पौने दुई सय यस्ता वस्तुमा सरकारले कर छुट गरेको थियो, जसका कारण आर्थिक मन्दीको विषम परिस्थितिमा पनि नेपाली भान्सा सुरक्षित नै थियो । उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पर्ने कर व्यवस्था खारेज गरी उपभोक्तालाई राहत प्रदान गर्न उपभोक्ता लगायत व्यवसायीले सरकारसँग माग गरेका छन् । तर, अर्थमन्त्रीले भने कर खारेज नहुने भन्दै व्यापार घाटा ठूलो भएको र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर लगाइएको दावी गरेका छन् । आयात निरुत्साहन गर्न आम उपभोक्तालाई आर्थिक भार व्यहोर्न बाध्य बनाइने हो भने सरकारको अनुमान प्रत्युत्पादक बनिने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here