लिम्बू भाषालाई कामकाजी भाषा बनाउन परामर्श

0
80

युद्धबहादुर बोहोरा,
पाँचथर ।

लिम्बू भाषालाई कामकाजी भाषा बनाउन फाल्गुनन्द गाउँपालिकाका सरोकारवालासंँग परामर्श प्रारम्भ गरिएको छ ।

आगामी ०८०÷०८१ देखि लागू गर्नका लागि ऐन तथा कार्यविधि जारी गरी सञ्चालनमा ल्याउने तयारी भएको छ । लिम्बू भाषाविद् तथा सरोकारवालाहरुको उपस्थितिमा परामर्श कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले कामकाजी रुपमा प्रयोग गर्दा भाषिक कठिनाईलाई मध्यनजर गर्दै कतिपय शब्दहरुमा आगन्तुक शब्द प्रयोग गरी सरल र सर्वसाधारणले बुझ्ने गरी प्रयोगमा ल्याउन गाउँपालिकालाई सुझाव दिएका छन् ।

पालिकामा लिम्बू भाषा कामकाज प्रयोजनका लागि भएको परामर्श तथा सुझाव संकलनका लागि आइतवार पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको अध्यक्षतामा, उपाध्यक्ष ठाकुर सिंह नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक, वडाध्यक्ष बिष्णुकुमार चेम्जोङ, नारायणप्रसाद आङ्देम्बे,प्रशासन तथा योजना शाखा प्रमुख निर्मल अधिकारी, रोजगार संयोजक बिचार सिंह लावतीको उपस्थितिमा एक दिनको परामर्श सम्पन्न भएको हो ।

उक्त छलफलमा लिम्बू भाषाविद् मलिसा नेम्बाङ, लिम्बू भाषा विशेषज्ञ तथा सहजकर्ता दिलेन्द्र कुरुम्बाङ, जिल्ला समन्वय समिति पाँचथरका सदस्य लेन्जो याक्पाङ्देन, आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिका अध्यक्ष भगीरथ चेम्जोङ, लिम्बू भाषा शिक्षकहरु, जनप्रतिनिधिको सहभागिता थियो ।

२५ हजार जनसंख्या रहेको यस पालिकामा ५५ प्रतिशत लिम्बू, १५ प्रतिशत खसआर्य, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, ५ प्रतिशत दलित र १÷१ प्रतिशत सुनुवार, मगर, नेवार तथा २ प्रतिशत (माझी, कुमाल) लगायतका अल्पसङ्ख्यक र अन्य जातिको बसोबास रहेको पालिकाको तथ्यांङ्कमा उल्लेख छ । लिम्बू जातिको बाहुल्य रहेको यस पालिकामा मातृभाषा पठनपाठन हुँदै आएको छ ।

लिम्बू भाषा कामकाजी भाषाको नीति ऐन जारी गर्ने , उक्त ऐन नेपाली भाषा र लिम्बू भाषामा हुने, निवेदन पेश गर्दा लिम्बू भाषा र लिपि दुवै प्रयोग गर्न सक्ने अर्थात् लिम्बू भाषा भएपनि देवनागरी लिपि प्रयोग गर्ने सुझाव आएको छ ।

त्यस्तै सिफारिस, दर्ता प्रमाणपत्र तथा अफिसियल कागजातमा अन्तर्राष्ट्रिय मापदण्ड र प्रयोगको आधारमा लिम्बू भाषा र लिपिसँगै नेपाली वा अंग्रेजी अनुवाद रहने, कार्यालयको भाषाको रूपमा प्रयोग गर्ने, गाउँपालिकाका सबै वडाहरूमा प्रयोग गर्नेलगायतका सुझाव राखिएको लिम्बू भाषाविद् नेम्बाङले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here