कृषिमा भविष्य खोज्दै पराजुली

0
47

लक्ष्मी उप्रेती,
मेचीनगर ।

युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिएका खवर आइरहँदा झापा मेचीनगर–६ काँकरभिट्टाका ५३ वर्षीय रुद्रप्रसाद पराजुली भने व्यवसायिक कृषि कर्ममा लागेका छन् ।

हरेक दिन नेपाली युवा रोजगारको अवसर खौज्दै विदेशिरहँदा मेचीनगरका पराजुली भने व्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेर नै आफ्नो भविष्य खोजी रहेका छन् । उनी जस्ता थुप्रै युवा कृषकको संख्या जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्लामा पछिल्लो समयमा कृषिलाई व्यवसायिक बनाएर लगानी गर्ने र अनुदान माग गर्ने युवा किसानको संख्या पनि वृद्धि हुँदै गएको छ । तर, पराजुलीले भने कहिँकतैबाट अनुदान नलिई व्यवसाय शुरु गरेका छन् ।

आफ्नो आम्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाहरुका लागि पराजुलीले पछिल्लो समय कृषि, पशुपालन र व्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिएर गर्न सके आफ्नै देशमा पनि गर्न सकिने उदाहरण पेश गरेका छन् । यतिमात्र होइन पछिल्लो समय व्यवसायिक रुपमा पशुपंक्षी पालनमा युवाको आकर्षण बढिरहेको छ भन्ने कुरा समेत पराजुलीले पुष्टि गरेका छन् ।

हुन् त पराजुली पनि वैदेशिक रोजगारीका लागि गुजरात पुगेका थिए । दुई वर्षसम्म त्यहाँको हिरा कारखानामा डिजाइनरको काम गरे । तर, त्यो कामबाट घरको गर्जाे नटरेपछि मोटरसाइल र साइकल ग्यारेजमा मजदुरी गर्न थाले । त्यसले पनि जीवन चल्ने अवस्था नदेखेर इलेक्ट्रिसियनतिर लागे । नौ वर्ष गुजरातमा काम गरी नेपाल फर्केपछि त्यही इलेक्ट्रिसियन कामलाई निरन्तरता दिए । जसोतसो परिवार त त्यही पेशाबाट पाल्दै आएका उनी अहिले आएर त्यसबाट पनि आफ्नो भविष्य नदेखेपछि कृषि व्यवसायका रुपमा बाख्रा, कुुखुरापालन शुरु गरेका हुन् ।

उनले विदेशकोभन्दा आफ्नै गाउँघरमा राम्रो कमाइ हुने संकेत देखेका छन् । मेचीनगर–७ मा आठ कठ्ठा जग्गा खरिद गरेर करिब ५० देखि ६५ लाख रुपैयाँ खर्च गरेर उनले पशुपंक्षी व्यवसाय शुरु गरेका छन् । चार कठ्ठा जमीनमा करिब १८ लाख रुपैयाँ बराबरको लगानीमा फार्म सञ्चालन ल्याएका हुन् । वरिपरी तारको जाली र व्यवस्थित पर्खालले फार्मको सुरक्षा गरेको छ । फर्ममा सात वटा कोठा छन् । चार कठ्ठामा घासखेती लगाएका छन् । घासका लागि मकै र सुपर निपिया लगाएका छन् । पंक्षीका लागि कुखुरालाई दिने चारोको व्यवस्थापन गरेका छन् ।

फार्ममा साना र ठूला गरेर विभिन्न जातका २९ वटा खसी बाख्रा, चारवटा गाई, २४ वटा हास, १५ वटा टर्की, २६ वटा कुखुरा र छ वटा तित्रा पालेका छन् । खसी पाँच केजीदेखि १८ केजीसम्मका छन् । ‘घरपरिवार त्यागेर अरुको देशमा गएर मजदुरी गर्नुभन्दा आफ्नो गाउँघरमा केही व्यवसाय गर्दा आम्दानी बढ्नाका साथै आत्मसन्तुष्टी पनि हुँदोेरहेछ’ –पराजुलीले भने– ‘अहिले यस व्यवसायबाट आम्दानी शुरु नभए पनि एक वर्षपछिबाट राम्रै आम्दानी शुरु हुन्छ ।’ आफ्नै व्यवसाय शुरुवात गरेपछि आन्दानीका स्रोत बढ्नुका साथै आर्थिकरुपमा सबल हुने उनको भनाइ छ ।

व्यावसायिकरुपमा पशुपालन गर्दा दुबै दम्पती स्वरोजगार हुनाका साथै घरायशी गर्जाे टार्न सहयोग पुग्ने उनले बताए । ‘मैले आफ्नो जीवनकालमा धेरै वर्ष भारतमा मजदुरी गरेँ तर केही प्रगति गर्न सकिनँ बल्ल अहिले आयआर्जको बाटो खुले जस्तो अनुभव भइरहेको छ ।’ –उनले भने । अहिले पराजुलीले मासिक सात हजार रुपैयाँ दिएर एक जनालाई रोजगार दिएका छन् ।

बिहानको झिसमिससँग झण्डै नौ बजेसम्म उनी आफ्नै फार्ममा भेटिन्छन् । पशुपंक्षीका लागि आवश्यक घासका लागि थप १० कठ्ठा जमीन भाडामा लिएर घासको खेती समेत शुरु गरेका कारण पशुपंक्षीलाई खाद्यान्नको अभाव नहुने उनको तर्क छ । खसीबाख्रामा लाग्ने पीपीआर महामारी तथा पक्षीमा लाग्ने रोगबिरुद्ध पशु प्राविधिकसँग समय समयमा परामर्श लिने योजना उनको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका वरिष्ठ अध्यापक शिक्षा संकाय प्रमुख हेमकुमार खड्का नेपालमा कृषिलाई सम्मानको पेशा नबनाएसम्म विकास हुन नसक्ने बताउँछन् । कृषि क्षेत्रमा युवाको आर्कषण नबढेसम्म यसले गुणात्मक फड्को मार्न नसक्ने हुँदा कृषिमा क्रान्ति गर्दै साच्चैका कृषिकहरुलाई अनुदान दिनुपर्ने, विभिन्न कार्यक्रम ल्याएर कृषिप्रति आर्कषण गर्न सरोकारवालाहरु गम्भीर बन्ने समय आएको स्पष्ट पारे ।

निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउन राज्यको नीतिले पनि तात्विक असर पार्ने भन्दै खड्काले प्रविधिमैत्री सिपलाई सरकारले प्रोत्साहान गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न सके यस्ता कर्ममा अन्य मानिसको समेत आर्कषण हुने देखिन्छ ।

सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर व्यवसायी समेत लाग्न जरुरी छ । विदेशको लामो बसाइबाट आजित भएर गाउँमै बाख्रा पाल्न शुरु गरेका स्थानीय एक युवा बाखापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here