समाज चिन्ने क्षमता अझै बलियो होस्

0
49

झापा बिर्तामोडका तीन जना संरक्षणविहीन बालबालिकाले सुरक्षाको छाता ओढ्न पाएका छन् । केही दिनअघि सञ्चारकर्मी भाग्य न्यौपानेले ती तीन जना बालबालिका संरक्षणविहीन रहेको भन्दै सामाजिक सञ्जाल मार्फत उनीहरुलाई सहयोगी मन र हातको खाँचो रहेको भीडियो सार्वजनिक गरेका थिए । उनको उक्त रिपोर्टपछि निर्दिक र निर्बिका दुई दिदी–बहिनीहरुसहित उनीहरुका भाइ दुर्गेशलाई सहयोग गर्न आउने र चाहनेहरु सामाजिक सञ्जालमै उपस्थित भएका थिए । न्यौपानेलाई ती बालबालिकाको जीवन भोगाइ र परिस्थितिका बारेमा जानकारी दिएसँगै बिर्तामोड आएका उनले बालबालिकालाई भेटेर भीडियोमार्फत नै सहयोगका लागि आह्वान गरेका थिए ।

बिर्तामोड–४ स्थित सूर्योदय टोलमा बस्दै आएका ती बालबालिकाका बारेमा जानकारी पाए लगत्तै उनीहरुको बासस्थल पुगेका सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, निर्देशक लक्ष्मण खतिवडासहितको टोलीले संरक्षणको जिम्मा लिएको छ । त्यसो त सहारा नेपालले सामाजिक रुपान्तरणका क्षेत्रमा देशमै विशिष्ट पहिचान बनाएकै छ । सँगसँगै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दीनहीन, असहाय तथा विपन्न वर्गको सुरक्षा तथा आत्मनिर्भरताका लागि सिप एवम् क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । आवश्यकताको पहिचान गरी महामारी, प्राकृतिक विपद् तथा सहयोगापेक्षीहरुको सहारा पनि बन्दै आएको छ ।

पहिचान भएका ती बालबालिकाको सुरक्षा तथा भविष्यको सुनिश्चितताका लागि सहारा नेपालले शिक्षा–दीक्षा, स्वास्थ्योपचार, रोजगारीदेखि तत्काल बासको उचित व्यवस्थापन गर्ने भएको छ । त्यसो त यो समाचार सार्वजनिक हुनासाथ बालबालिकालाई आवश्यक खाद्यान्नदेखि उपभोग्य सम्पूर्ण वस्तु सहयोगी तथा मनकारी दाताहरुबाट संकलन भइरहेको छ । उनीहरुका नाममा खोलिएको बैंक खातामा छ लाखभन्दा बढी नगद पनि जम्मा भइसकेको छ । मातृ वात्सल्य गुमाएका ती बालबालिकाले संरक्षण पनि पाएका छन् । तर, उनीहरु बस्दै आएको जमिन भने सरकारको स्वामित्वको भएकाले विकल्प खोजेर सुरक्षित आवास निर्माण गर्नेतर्फ सहाराले ध्यान दिनु पर्दछ । उनीहरु जस्ता कैयौं बालबालिका संरक्षणको पर्खाइमा रहेका हुन सक्छन्, राज्यले त्यसतर्फ न अग्रसरता देखाउँछ न त चिन्ता नै प्रकट गर्दछ । स्थानीय सरकार पनि दलीय स्वार्थभन्दा बाहिर जान चाहँदैन । यस्तो बेला सहारा जस्ता सामाजिक उत्तरदायित्व निर्वाह गर्छौं भनेर स्थापित संस्थाहरुले हातेमालो गर्ने हो भने कहीँ–कतै बेसाहारा हुने छैनन् । यस सन्दर्भमा सहाराको यो निर्णय, उदात्त भावना र सेवाभावको सम्मान गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here