आगमनभित्र भेटिएका दिलीप योञ्जन

0
249

स्वतन्त्रतापूर्वक आफ्ना भावहरु पोख्ने महत्वपूर्ण माध्यम हो– मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोस्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ भने तेस्रो पंक्तिमा अनुप्रास स्वतन्त्र हुन्छ र अन्तिम चौथो हरफ फेरि अनुप्रास मिल्ने हुनुपर्छ ।

भोजपुरका दिलीप योञ्जन तामाङ अमेरिका बस्छन् । तर, नेपाली भाषा साहित्यको श्रीवृद्धिको लागि एकदमै दत्तचित्त भएर लागीपर्छन् । साहित्यमा गीत, गजल, कविता र मुक्तकमा विशेषतः उनको कलम चल्छ । झण्डै एक दर्जन मुक्तक, कविता र गीति संग्रह प्रकाशित गरिसकेका योञ्जनका पछिल्लो मुक्तक संग्रह हो– ‘आगमन’ । व्यक्तिगत रुपले चिनारु नभएका मुक्तककार दिलीपको आगमन हात प¥यो । पढेँ र केही लेख्न मन लाग्यो ।

आगमनभित्र उनका दुई सय ६९ वटा मुक्तकहरु परेका छन् । यी मुक्तकहरु विषयवस्तुको हिसाबले हेर्दा विविधतायुक्त देखिन्छन् । त्यहाँभित्र भएका मुक्तकरुपी फूलहरुमा विविधताको छनक पाउन सकिन्छ । कतै मायाप्रेम, प्रणयभाव, मिलन र प्रेममा उब्जिने समर्पण भावको मिसावट देखिन्छ त कतै विछोडको पीडामा तड्पिएको प्रेमीको व्यथा उजागर भएको पाइन्छ । प्रेमभावको सुन्दर अभिव्यक्ति झल्किने मुक्तकहरु पनि यस कृतिमा परेका छन् । कतै जीवनलाई फूलसँग तुलना गरिएको छ । सुख र दुःख, हाँसो र आँशुको संगमको रुपमा जिन्दगीलाई बुझ्न आग्रह गरिएको छ ।
प्रेमका मीठा र न्याना वा छिटाहरुले लछप्पै भिजेका मुक्तकहरु पनि यहाँ समावेश गरिएका छन् । प्रेमको आयतन नापेका मुक्तककार धोका खानुपर्दाको प्रेमीको भाव, खुशी हराउँदाको अनुभूति पनि आफ्नो मुक्तक मार्फत दर्शाउँछन् ः

मनमा एउटा खुशी थियो, त्यो पनि सीसा झैं टुट्यो
खुशी खोजियो जीवनभरि, त्यो पनि बाटोमै छुट्यो ।
नहुँदा जुन खुशी थियो, भएर पनि आज दुःखी छ मन
जिउँदो हुन्जेल त दुःख पीडा, खुशी मनमै फुट्यो ।

सरल भाषामा समाजका नकारात्मकताहरुले बनाएका नराम्रा खाडलहरुलाई मुक्तकहरु मार्फत औंल्याउने प्रयास पनि भएको छ । वर्तमान समग्र परिवेशलाई मिहिन ढंगले केलाएर व्यंग्य गरेका छन् । उनका मुक्तकहरु यथार्थ धरातलमा दर्बिलो ढंगले टेकेका छन् । समाजको विषम् परिस्थिति, बिशाक्तता लगायतका विषयहरुको उठान पाइन्छ आगमनमा । दिलीपका मुक्तकहरु यथार्थताका द्योतक हुन् । मुक्तकहरुले वर्तमान समाजको सही प्रतिनिधित्व गरेका छन् । दैनिकीका विम्व बोलेका छन् ।

जीवनको मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थाप्रति उनको चिन्ता छ । वर्तमान समयको विकृत राजनीतिक बेथिती देख्दा उनी उकुसमुुकुस भएर बोल्छन् । उनलाई दिक्क बनाउँछ गरिबीले विदीर्ण बन्दै गएका जनता र स्वार्थी र सम्पत्ति कमाउमा लागेका हाम्रा नेता देखेर ।

समाज, देश र जनताको हित राजनीतिको मुख्य मक्सद हुनुपर्ने उनको ठम्याईबिरुद्ध नेताहरु लागेको देख्दा उनको मन पोल्छ । राजनीतिलाई कमाउ जागिर बनाउने नेताहरुसँग झोक चल्छ उनलाई । झुट माथि झुट थोपर्दै गरेका नेताहरु सधैँ जनतालाई ढाँट्ने हाम्रो देश । अनि देश र जनताभन्दा आफ्नै स्वार्थको पोखरीमा डुबुल्की मार्ने नेताहरु सम्झन्छन् उनी र व्यंग कस्छन् :

राजनीति भनेको समाज परिवर्तन हो जागिर खानु होइन,
तलबभत्ता चाहिए जागिर खाने हो, जनता ढाँट्नु होइन,
भोकभोकै जनताहरु मारेर पेट भर्नुभन्दा भोकै मरे भो
देश र जनता लुटेर, ऋन मागेर मोजमस्तीले बाँच्नु होइन ।

हाम्रा जीवनका यथार्थता र जटिलताहरु मुक्तकहरु मार्फत आंैल्याएका छन् । दिलीप पछिल्लो समयसम्म आइपुग्दा मुक्तक लेखनमा एकदम सक्रिय देखिन्छन् । समाजका विद्रुप विसंगति हर क्षेत्रमा रहेको उनको ठहर छ । जागिरमा चाकरी, राजनीतिमा झोले कार्यकर्ताको उल्लेख्य उपस्थिति, हर पेशामा चाकरी र चाप्लुसीका चरित्र हावी भएकाप्रति उनको रोश छ । उनका मुक्तकहरु वर्तमान समयमा हर क्षेत्रमा पुगेका छन् ।

राजनीतिक दलहरुमा हावी भएका गुटगत स्वार्थका झुण्डहरु, कुर्सीका लागि तानातान र हानाहान भइरहने परिवेश, भोकै भएर अभावमा जीवन जिउन विवश जनता हुँदाहुँदै तलबभत्ता वृद्धिका लागि आवाज उठाउने माननीय जनप्रतिनिधिहरुका चरित्र मुक्तकहरुमा उदाँगो पारिएको छ । उनी मुक्तकमा लेखापढा मान्छेहरु पनि राजनीतिक पार्टीका झोले भएकोमा आक्रोशित हुन्छन् । पुरस्कार र विद्यता पनि चाकरीमा परेको मुलुक सम्झेर दुःखी बनेका मुक्तककार आरोप र प्रत्यारोपमा उत्रनेहरुको खिल्ली उडाउँछन् ।

धर्म परिवर्तन गर्ने, धर्मको नाउँमा लुट्ने, परम्परागत संस्कार र संस्कृति विपरीत लाग्ने कुराहरु क्षम्य हुन नसक्नेमा उनको मुक्तकको जोड छ । विदेशीको पाउँमा शिरनत गरेर प्रणाम गर्नेले आफूलाई सबैभन्दा राष्ट्रवादी भनेकोमा उनको आपत्ति छ । विदेशीको स्वार्थको लागि उनीहरुकै जुठोपुरो खाएर देशलाई राष्ट्रघातको विष वमन गर्ने कुरा अक्षम्य हुने उनको तर्क छ । देश नातावाद र कृपावादको दलदल र चंगुलमा फसेको कुरा औंल्याएका छन् । सेतोलाई सेतो भन्न नसक्नेहरु प्रति पनि उनका मुक्तक लक्षित छन् । मुलुक सञ्चालन गर्नेहरु धेरैजसो विचौलिया र अवसरवादी ठानेका छन् उनले जस्तै यहाँ हेरौं :–

नातावाद र कृपावाद कै मोजमस्ती छ यहाँ
जनताको जताततै उजाडिएको बस्ती छ यहाँ
दलाल र विचौलियाले चलाएको देश हो हजुर
यिनै अन्धा–बहिराहरु कै सधैँ जबरजस्ती छ यहाँ ।

साँँच्चै कविको मन वर्तमान समयको बेथितिले उकुसमुकुस भएर मुक्तकहरु मार्फत पोखिएको छ । उनले यहाँको विषमता खोतल्ने यत्न गरेका छन् । अनि आएको र पाएको विषमतालाई पाठकसामु राखेका छन् । उनले कुनै पनि विषयको उठान गरेपछि प्रष्टता पार्न सकेका छन् ।

वर्तमान राजनीतिको खतरनाक अवस्था छ मुक्तकमा । आजको युगको राजनीतिको विकृत मनोदशा यहाँ चित्रण गरिएको छ । राजनीतिक विद्रुपताले जनतामा छाएको निराशा उजागर गरिएको छ । देश र जनतालाई ढाँट्नेहरुले आफ्नै आत्मालाई पनि ढाँटेका हुन्छन् । त्यस्ताहरु त राष्ट्रघाती हुन्छन् । गद्दार हुन्छन् । उनीहरुलाई मारे पनि सजाय कम हुन्छ भन्दै वर्तमान राजनीतिक नेतृत्वहरु प्रति उहाँको व्यंग प्रहार पनि गरिएको छ जस्तै यहाँ हेरौं ः

दिनदिनै देश र जनता ढाँट्दा, लाज शरम त लाग्नुपर्ने,
दलाली गरी–गरी आफ्नै आत्मालाई आफैं ढाँट्नुपर्ने
किन पापीहरुको आत्मा रुँदैन, आफ्नै आमा बेच्दा
देश दुख्दा मुटु पोल्छ, दलालहरुलाई जिउँदै गाड्नुपर्ने ।

उनका मुक्तकहरुमा आशावादीता पनि अटेको छ । त्यसैको त्यान्द्रोले उनी घच्घच्याउँछन् मुक्तक मार्फत सर्वसाधारणलाई । स्वार्थको आहालमा डुबेका हाम्रा नेताहरुलाई खबरदारी गर्छन् । विद्रोहका सशस्त्र भाषा बोल्छन् उनी । जुन जोगी आए पनि कानै चिरेका भन्ने बुझेका उनले अब त्यस्तो अवस्थाको अन्त्य हुन जरुरी भएको भाव व्यक्त गरेका मुक्तक पनि यहाँ परेका छन् । यसरी हेर्दा आगमनका विषयवस्तु समग्र वर्तमान समय वरिपरि रहेको छ । राजनीतिक विकृती र विसंगति वरपर घुमेको छ । प्रेममा पाएको धोकाले भावुक मन बोलेको छ । जीवनका भोगाइहरुका उद्वेगहरुलाई मुक्तकहरु मार्फत अभिव्यक्त भएको पढ्न र बुझ्न सकिन्छ ।

थोरै शब्दमा धेरै विषय बुन्न सक्ने खुबी हुन्छ मुक्तकमा । यस्तो खुबी उनका मुक्तकमा पनि पाइन्छ । उनको मुक्तकको एउटा मुख्य विशेषताः भनेकै मुक्तकहरुमा प्रयुक्त विषयगत विविधता हो । विविध भावभूमिका मुक्तकको संग्रहित रुपमा पढ्न सकिन्छ आगमन । निराशा मात्र नभएर आशावादीताको कुरा पनि छ मुक्तकमा । पढिरहन मन लाग्ने मन छुने यथार्थपरक मुक्तकहरु यस संग्रहका परेका छन् । धेरै जस्तो सन्दर्भहरु राजनीति वरिपरि घुमेका लाग्छन् । त्यसमा माया–प्रेम पनि मिसिएको छ । राष्ट्रिय भावले ओतप्रोत पनि भएको पाइन्छ ।

सबै मुक्तक शक्तिशाली छन् भन्न नमिल्ला । अनि सबै उत्कृष्ट पनि छैनन् । केही मझ्यौला लाग्छन् । अनि केहीमा अझै परिष्कारको आवश्यकता पनि देखिन्छ । यद्यपि सृजना जहिल्यै अपुरो हुन्छ । यसमा निरन्तरताको खाँचो रहन्छ । जसले गर्दा स्रष्टा आफ्नो सृजनामा निखारता ल्याउन सक्दछ । यो कुरा स्रष्टा दिलीपमा पनि लागू हुन्छ । तर, प्रवासको व्यस्त समयमा पनि नेपाली साहित्य साधनामा निरन्तर तल्लिन हुने मुक्तककारको भावनालाई मुक्तकण्ठमा प्रशंसा नगरी रहन सकिन्न । नयाँ मुक्तक संग्रहको निम्ति दिलीपलाई हार्दिक बधाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here