योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन सम्बन्धी तालिम

0
47

युद्धबहादुर बोहोरा,
इलाम ।

नेपाल पत्रकार महासंघ इलाम शाखाको आयोजनामा जिल्लाका पत्रकारहरुलाई योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन सम्बन्धी तालिम दिएको छ ।

फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोगमा जेठ ३० गतेदेखि सञ्चालन भएको तीन दिनको तालिम समापन भएको हो । तालिम कान्तिपुर दैनिकका अर्थविट तथा प्रशिक्षक यज्ञ बन्जडेले सहजीकरण गरेका थिए । उक्त तालिममा योजना तर्जुमा बारे प्रशिक्षण दिँदै स्थानीय तहको समाचार लेखन सम्बन्धी सहजीकरण गरिएको महासंघ शाखाका सहसचिव प्रेम अधिकारीले जानकारी दिए ।

अर्थ रिपोर्टिङ, डाटा पत्रकारिता, यसमा ध्यान दिनुपर्ने कुराहरु, तथ्याङ्क कसरी संकलन गर्ने, यसबाट सिक्नुपर्ने कुरा, समाचार कसरी बनाउने लगायतका विषयमा तालिम दिइएको जनाइएको छ । महासंघ जिल्ला अध्यक्ष विप्लप भट्टराईको अध्यक्षतामा पालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष कल्पना राई र प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, महासंघ प्रदेश उपाध्यक्ष लबदेव ढुंगानाको विशेष आतिथ्यमा समापन भएको हो ।

छिमेकी जिल्ला पाँचथरबाट समेत सहभागिता रहेको थियो । राष्ट्रिय स्तरका सञ्चारकर्मीले दिएको प्रशिक्षणको समापन कार्यक्रममा अध्यक्ष खनालले जिल्लाकै दुर्गम र इलामको भौगोलिक विकटतासँगै पालिकाको हरेक समस्या र कमी–कमजोरीलाई उजागर गर्दै सुधारोन्मुखको बाटोमा लैजान सञ्चारमाध्यमले भूमिका खेली दिन पनि आग्रह गरेका छन् । उपाध्यक्ष राईले पालिकाभित्रका कुनै पनि समाचार सम्बन्धी स्रोत र स्थलगत अवलोकनपछि मात्रै बनाइ दिन आग्रह गरेकी छिन् । सेकेण्डरी स्रोतका आधारमा बनाइएको समाचार सन्तोषजन र तथ्यपरक नहुने भन्दै वास्तविक पालिकाका विषयवस्तु, गतिविधिहरू उठान नहुने र भ्रम सृजना गर्ने सक्ने उनले बताइन् ।

यसैबीच प्रमुख प्रशासकीय अधिकृत लिम्बूले पालिकामा कर्मचारी पर्याप्त नहुँदा हरेक काममा जटिल भएको बताए । प्रदेश सरकारबाट आएका योजनाबारे पालिकामा कुनै जानकारी र अधिकार नदिएकोले समस्या उत्पन्न हुने गरेको समेत उनले जानकारी गराए । समापना कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष ढुंगान र प्रशिक्षक बन्जडेले पनि सञ्चारकर्मीको भूमिका र अनुभव सुनाएका थिए ।

महासंघ जिल्ला अध्यक्ष भट्टराईले सिंगो इलामको बारेमा परिचय खुल्ने विषयले निर्माण गर्न प्रयत्न गरिरहेको जानकारी दिए । पञ्चायतकाल, बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा इलाम कस्तो बन्दैछ, हरेक कालखण्डमा इलाम कस्तो थियो र आगामी इलाम कस्तो बन्नुपर्छ भन्ने संगालो निकाल्न सबै बौद्धिक वर्गमा आग्रह गरेका छन् ।

प्रत्येक पालिकाको परिचयसहित पालिकामा हुने सम्भावना, चुनौति र अवसरलाई पुस्तकमा समेटिने उनले बताए । उक्त पुस्तक भावी सन्ततीलाई इलामको बारेमा अध्ययन गर्न सहयोग मिलोस् र जिल्लाको परिचयले आगन्तुलाई सहजरुपले जानकारी होस् भन्ने उद्देश्यले तयार गर्न लागिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here