दोषीले सजाय पाउनैपर्छ

0
45

झण्डै तीन महिनाको हिरासतपछि नक्कली शरणार्थी मुद्दाका आरोपीहरु जेल चलान भएका छन् । प्रहरीको लामो र जटिल अनुसन्धानपछि बुझाइएको प्रतिवेदनका आधारमा दुई पूर्वमन्त्री, एक गृहसचिवसहित सोह्र जना जेल चलान भएका हुन् । काठमाडौं प्रहरी परिसरले करिब दुई महिना अनुसन्धान गरेर नक्कली शरणार्थी प्रकरणका आरोपी तेत्तीस जनाबिरुद्ध राज्यबिरुद्धको अपराध, ठगी र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । उक्त प्रतिवेदनमा अभियुक्तहरुबाट अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार पाँच सय रुपैयाँ बिगो, कैद र जरिवाना माग दाबी गरिएको थियो । बैशाख ८ गते सरकारी वकिल कार्यालयले किर्तेको थप दफा लगाएर तीन जना अभियुक्तबिरुद्ध मुद्दा दायर गरेको थियो । यी सबै अभियोजन तथा प्रतिवेदनको आधार तथा अदालती बहसपछि शुक्रबार जिल्ला अदालतले पक्राउ परेका अठाह्रमध्ये दुई जनालाई धरौटीमा रिहा गरेको छ ।

ठगी, लिखित किर्ते, राज्यबिरुद्धको कसूर र संगठित अपराध मुद्दामा उनीहरुलाई एकचालीस वर्ष नौ महिनासम्मको कैद सजायको माग दाबी गरिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मुद्दाको पक्ष–विपक्षका तर्क र प्रमाणहरुको निरुपण गर्दैे ‘तत्काल प्राप्त प्रमाणहरुबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था देखिएन, पछि थप प्रमाण बुझ्दै र परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रस्तुत मुद्दाका प्रतिवादीहरु कसूरदार रहेको देखिँदा निजहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन गरेको कसूरको गाम्भीर्य र निजहरुलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गरी फौजदारी कार्यविधि संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारगार कार्यालयमा कानून बमोजिम थुनामा राख्न पठाइदिनु’ भन्ने आदेश दिएका छन् ।

राज्यको जिम्मेवार पदमा बहाल रहेका तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री, सचिवसम्मका व्यक्ति यस्तो संगीन अपराधमा संलग्न भएको नक्कली शरणार्थी प्रकरण एकाएक आएको र राष्ट्रको अस्मितामाथि नै सवाल खडा गर्ने मुद्दा हो । आर्थिक लाभ, अपचलन र अख्तियार दुरुपयोगका यसअघिका मुद्दाहरु अहिले गौण बनिएका छन् । धन कमाउने लोभमा यसअघि सरकारी जग्गा बेच्ने, सुन भित्र्याउने, टेंकीमा पैसा लुकाउने, विमान, स्वास्थ्य सामग्री, सेक्युरिटी प्रेस खरिद लगायतका काण्डहरुले देशलाई बदनाम गरेको सन्दर्भमा यो मुद्दा झनै ठूलो अपराध र दलहरु माथि ठूलो कलंकका रुपमा दर्ता भएको छ । यस्तो नहोस् कि शक्तिको अडेसामा भरे–भोलि पुनरावेदन हुँदै यो र यस्ता मुद्दा ओझेलमा पारियोस् । अथवा इज्जत साथ सफाइ गरियो भन्ने सुन्नु नपरोस् । अन्तर्राष्ट्रिय चासोको विषय बनिएको यो मुद्दाका फरार तथा आरोपी पात्रहरु पनि छिट्टै कानूनको दायरामा आउन् र प्रणाली हुँदै देशको निधारमा लागेको कालो दाग हिमालको स्वच्छ र पवित्र पानीले पखालियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here